पुष्पकमल समुह किन भयो एमालेमा बिलय ?- समीर यात्री

२०७५ जेष्ठ ८ गते, मंगलवार

माओबादी केन्द्रलाई एमालेमा बिलय गराउने जोरजुलुम भर्खरै सम्पन्न भएको छ । ‘बाम एकता’ नाम दिइएको यो बिलयनको जोरजुलुमले पुष्पकमल समुहको दयनिय अवसानलाई इतिहासको प्रहशनमय परिघटनाको रुपमा प्रकट गरिदिएको छ । कुनै समय एमालेलाई प्रतिक्रियाबादमा पतन भएको निष्कर्ष पेश गर्दै केही समय नेपाली क्रान्तिको नेतृत्व गरेका पुष्पकमल आज प्रतिक्रान्तिकारी तत्वहरुको टाङमुनी टाउको घुसाउदै अन्ततः एमालेमा बिसर्जित हुन पुगेका छन ।
आखिर किन भयो त यो समुह एमालेमा विलय ?
यसका दुइवटा कारण छन । पहिलो, आन्तरिक कारण र दोश्रो, बाह्य कारण ।
आन्तरिक कारणः
आन्तरिक कारण तीनवटा छन । पहिलो, बैचारिक राजनीतिक रुपले बिचलित भएर दलाल संसदबादमा पतन भइसकेपछि पुष्पकमल समुह अस्तित्व रक्षाको संकटमा फस्यो । कम्युनिस्ट आदर्श, निष्ठा र ध्ययमा समर्पित माओबादी आन्दोलनभित्रको इमान्दार क्रान्तिकारीहरुको बिशाल हिस्साले पुष्पकमलको पाखण्ड, बिचलन र गद्धारीलाई नाङ्गेझार पार्दै क्रान्तिको रक्तरंजीत ध्वजा फहराएपछि दलाल संसदबादी राजनीतिक बजारमा समेत पुष्पकमलको भाउ नराम्रोसंग गिर्न पुग्यो । यसबाट अत्तालिएको पुष्पकमल समुह कहिले ‘कांग्रेस—माके भाइ—भाइ…’को नारा उराल्दै निर्लज्जतापूर्बक शेर बहादुरको टाङमुनी छिर्न पुग्यो त कहिले कथित बाम गठबन्धनको नाममा केपीको दैलो ढुकेर चाकडीको पुच्छर डोलाइरह्यो । अन्ततः पूर्णतया स्वत्व हरण भइसकेको यो समुहको अन्त्यहिन बिलापपछि बिलयनको लागि एमालेको दैलो खुुल्यो । र, दलाल संसदबादको चितामा जलाइएको गौरवमय बिरासतको एकचिम्टी अस्तु बोकेर पुष्पकमल समुह एमालेरुपी टुकुचामा डुबुुल्की मार्न पुगेको छ ।
दोस्रो, कम्युनिस्ट ध्यय–उदेश्य र आचरणबाट च्यूत भएर साम्राज्यबादको चुत्थो नोकरको रुपमा पतन भइसकेपछि पुष्पकमल समुहको राजनीतिक दिशाले कांग्रेस एमालेकै स्वरुप ग्रहण गर्नु अनिबार्य थियो । तर यो दलाल संसदबादी राजनीतिक बजारमा एकाधिकार जमाएका पुराना राजनीतिक बनिया कांग्रेस एमालेसामु यो समुह प्रतिस्पर्धात्मक रुपले टिक्न सम्भव भएन । सत्ता, शक्ति र सुबिधाभन्दा बाहिर एकछिन पनि टिक्न नसक्ने चरित्र बोकेको यो समुहको छटपटाहट अन्ततः बिलयनको दर्दनाक परिणतिमा टुंगिनु अनिकार्य थियो, जुन कथित बाम एकताको नौटंकी मंचनको बिभत्स परिदृश्यको रुपमा प्रकट हुन पुग्यो ।
तेश्रो, यो सबै तमासा पुष्पकमल समुहको राजनीतिलाई दिशानिर्देश गर्ने दुईवटा कारणबाट निर्दिष्ट हुने गरेको तथ्य भुल्नु हुँदैन । पहिलो कारण, अख्तियारमा थाति रहेको क्यान्टोनमेन्ट सम्बन्धि भष्टाचारको फाइल र दोश्रो, युद्धअपराध सम्बन्धि अन्तर्राष्ट्रिय मुद्दाको आतंक ।

माओबादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा अर्बौ रकम हिनामिना भएको कुरा स्वयं जनमुक्ति सेनाका योद्धाहरुले उतिखेरैदेखि पार्टीभित्र निरन्तर उठाउदै आएका हुन । हजारौंको संख्यामा गैरहाजिर पीएलए सदस्यहरुको नाममा कृत्य हस्ताक्षर गरी लिइएको रकम कहाँ गयो ? पीएलएबाट वाइसिएलको रुपमा बाहिर राखिएका योद्धाहरुको नाममा क्यान्टोनमेन्टबाट कटौति गरिएको रकम वाइसिएललाई दिइएन, त्यो रकम कहाँ गयो ? पार्टी लेवी र जनबिद्रोह कोषको रुपमा पीएलएको ब्यबस्थापन खर्चबाट कटौति गरिएको रकम कहाँ गयो ?
यी प्रश्नहरुको जवाफ पुष्पकमल झुण्डले अहिलेसम्म पनि दिन सकेको छैन । यसको लागि पुष्पकमल झुण्डलाई दोषी करार गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । सबैलाई थाहा भएकै कुरा हो कि उक्त मुद्दाबाट जोगिनको लागि पुष्पकमलले महाभ्रष्टाचारी लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाएका थिए र उसैले नै फसाउने खतरा आइलागेपछि हठात महाअभियोग लगाएर हटाएका थिए । पुष्पकमललाई यसबाट जोगिन सत्ता र शक्तिमा रहिरहन अनिबार्य छ । अन्यथा अख्तियारको फाइल कुनै पनि बेला पल्टिन सक्छ भन्ने मनोबैज्ञानिक आतंकले पुष्पकमलको राजनीतिलाई निर्दिष्ट गर्न पुगेको छ ।
सत्ता र शक्तिमा रहिरहन उनले सुरुमा माओबादी एकता र केन्द्रिकरणको बिलाप गर्दै माओबादी आन्दोलनका केही कुँडाकर्कट र लोभीपापीहरुलाई बटुल्दै हिडे । मरिहत्ते गर्दा पनि उनी आप्mनो औकातबाट माथि उठ्न नसकेपछि कहिले कांग्रेस त कहिले एमालेको दैलो चाहार्न बाध्य भए । यो समुहको एमालेमा बिलय यही श्रृंखलाको अन्तिम र बाध्यात्मक परिणति हो ।
त्यसैगरी युद्धअपराधको अभियोगमा अन्तर्राष्ट्रिय अदालत हेगमा पुर्याइने खतरा पनि पुष्पकमलको सामु बिद्यमान छ । सत्ता र शक्तिबाट च्यूत हुन बित्तिकै कुनै पनि बेला उनको लागि हेगको ढोका खुल्ने खतराबाट उनी आतंकित छन । र, यो आतंकले पनि पुष्पकमल समुहको राजनीतिलाई निर्दिष्ट गरिरहेको छ । जनताका हजारौं छोराछोरीको रगत बगाएर त्यही रगतमाथि गद्धारी गर्दै अर्बौको सम्पत्ति कुम्ल्याएर नवसम्भ्रान्त बन्न पुगेका पुष्पकमलले आफू अनुकूलको राजनीतिक यात्रा तय गरे पनि आफूलाई सुरक्षित महशुस गर्न सकेनन । यही बेचैनीको कारण निर्लज्जतापूर्ण आत्मसमर्पण र भयानक अस्थिरता पुष्पकमल समुहको चरित्रगत बिशेषता बन्न पगेको हो ।
एमालेमा बिलय हुँदा आजको दलाल संसदबादी राजनीतिक शक्ति सन्तुलनमा सत्ताको केन्द्रमा बसेर आफूलाई सुरक्षित गर्न सकिने बाध्यात्मक निष्कर्षले यो समुहलाई यस्तो दयनीय बिसर्जनको हालतमा पुर्याएको हो । पुष्पकमललाई यस्तो राजनीतिक आत्महत्या गर्न सघाउने माकेभित्रको पतित, भ्रष्ट र लोभीपापीहरुको अपराधी जमात त छँदैछ, त्यसबाहेक अधुरो क्रान्तिको ब्यथा बोकेर बिलौना गर्दै बसेका इमान्दार भनिएका माकेजनहरुको निरीहताले निर्वाह गरेको भूमिका पनि बिचित्रकै छ ।
इमान्दार कम्युनिस्टहरुले यो भुल्नु हुँदैन कि जनतालाई धोखा दिएर, क्रान्तिप्रति गद्धारी गरेर साम्राज्यबादको गुलामी गर्दैमा कोही पनि सुरक्षित हुन संभव छैन । पुष्पकमल समुह यसको अपबाद हुन सक्तैन । जनता, राष्ट्र र क्रानितकारीहरुको रक्षा क्रान्तिबाट मात्र संभव छ, आत्मसमर्पणबाट होइन ।
बाह्य कारणः
एकातिर महान कम्युनिस्ट ध्ययलाई तिलाञ्जली दिएर साम्राज्यबादको बिश्वास जित्ने होडबाजीमा प्रबेश गरेको पुष्पकमल समुहले बालका खाल निकालेर लम्पसार पर्दा पनि एमालेलाई उछिन्न नसकेपछि अन्ततः एमालेमै बिसर्जिन हुन उपयुक्त ठान्यो, अर्कोतिर आजको साम्राज्यबादले अभ्यास गरेको दुई दलीय अधिनायकबाद वा सिण्डिकेट नेपालको दलाल संसदीय प्रणालीमा समेत भित्रिएपछि यहाँका दलाल संसदबादीहरुलाई कुनै न कुनै गठबन्धनमा बिलयन वा समाहित हुन करै लाग्यो । पुष्पकमल समुहको एमाले बिलयनको बाह्य कारण यही नै हो ।
यो समुह बिलयनको चरित्रले नै यसको पुष्टि गर्दछ । माओबादको बिधिवत परित्याग, दलाल संसदबादमा पतन, सामाजिक दलाल पूँजीबादी चरित्र ग्रहण जस्ता सैद्धान्तिक बैचारिक बिचलनका परिघटनाले यो समुहको साम्राज्यबादप्रतिको निर्लज्ज गुलामीलाई उजागर गरेको छ । अझ रोचक कुरा त के छ भने एमाले माकेको कथित एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्न अबैध जोरजुलुम नै चल्यो । यो नाम दर्ता गराउन निर्बाचन आयोगमाथि सबै प्रकारका हत्कण्डा प्रयोग गरियो, जवकि निर्बाचन आयोगमा ऋषि कट्टेलको नेतृत्वमा रहेको नेकपा यस अघि नै दर्ता भइसकेको छ । संसदबादीहरुकै कानून अनुसार पनि एउटै नाममा दुईवटा पार्टी निर्बाचन आयोगमा दर्ता हुन सक्तैनन ।
आप्mनै कानूनलाई धोती लगाएर यी सामाजिक दलाल पूँजीबादीहरु यस्तो हर्कत किन गरिरहेछन त ? प्रष्ट छ, उनीहरु नेपालमा क्रान्तिको झिल्को निभाएको देखाएर साम्राज्यबादको आशिर्बाद थाप्न चाहन्छन । सबैलाई थाहा छ, यतिबेला नेपाली क्रान्तिको दाबानल बिप्लबले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीद्वारा संचालित भइरहेको छ, यो एक्काइसौं शदीको क्रान्ति एकीकृत जनक्रान्तिको रुपमा अघि बढ्दैछ । यो शक्ति यतिबेला सबै श्रमजीवी र देशभक्तहरुको आशा र भरोसाको केन्द्र बन्दै गएको छ । यसबाट अत्तालिएका साम्राज्यबादी शक्तिकेन्द्र र उनीहरुद्वारा पालित पोषित यहाँका दलाल पूँजीबादी तत्वहरु एकीकृत जनक्रान्तिको गला रेट्न मरिमेटेर लागि परेका छन । नेपाली क्रान्तिको नेतृत्व गरिरहेको यही जनप्रिय पार्टीको ओज र गरिमालाई निस्तेज पार्न र जनतामा भ्रम सिर्जना गर्न उनीहरुले बाझिने गरी जानाजान यही नाम राख्ने हर्कत गरेका हुन । यो साम्राज्यबादलाई रिझाउने उदेश्यमा आधारित हर्कत हो । यसबाट प्रष्ट हुन्छ, पुष्पकमल समुहको एमाले बिलयन साम्राज्यबादी योजनाकै प्रकट रुप हो ।
एकातिर साम्राज्यबादी गुरुयोजनाको भयावह परिदृश्य र अर्कोतिर यहाँका सामाजिक दलाल पूँजीबादीहरुको प्रतिक्रान्तिकारी हर्कत हेर्दा एकीकृत जनक्रान्तिका आसन्न आँधीमय दिनहरुमा नेपाली क्रान्तिका भगौडा र गद्धार केपी–पुष्पकमल गिरोह अझ बढी राष्ट्रघाती, जनबिरोधी र क्रान्तिबिरोधी रुपमा निर्लज्जतापूर्बक प्रकट हुने कुरा निश्चित छ । यस अर्थमा सबै देशभक्त र इमान्दार कम्युनिस्टहरु एकताबद्ध भइ यो गिरोहलाई चोक चोकमा नाङ्गै उभ्याउनु आजको ऐतिहासिक आबश्यकता बन्न पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु