पुलित्जर पुरस्कार घोषणा

२०७६ बैशाख ४ गते, बुधबार

काठमाडौं, ४ वैशाख । विश्वकै प्रतिष्ठित मानिने पुलित्जर पत्रकारिता पुरस्कार घोषणा गरिएको छ । विश्वकै महत्वपूर्ण पुलित्जर पुरस्कारअन्तर्गत यस वर्षका लागि विभिन्न विधामा पुरस्कार घोषणा गरिएको हो । जसअन्तर्गत पब्लिक सर्भिस अवार्ड साउथ फ्लोरिडा सन सेजटिनेललाई प्रदान गरिने भएको छ । ब्रेकिङ न्यूज रिपोर्टिङअन्तर्गतको पुरस्कार सेन्ट पिटर्सवर्गमा भएको हत्याकाण्डको रिपोर्टिङ गर्ने पिटर्सवर्ग पोस्ट ग्याजेटले पाउने भएको छ । इन्भेस्टिगेटिभ रिपोर्टिङ अवार्ड भने लस एन्जल्स टाइम्सका हर्यारेट राउन, म्याट हयामिल्टन र पउल प्रिंगलकालाई प्रदान गरिनेछ । उनीहरुले युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियाका गाइनाकोलोजिस्टले ३० वर्षसम्म महिलालाई शोषण गरेको रिपोर्टिङ गरेका थिए । लोकल रिपोर्टिङ अवार्ड भने अदालती कारवाहीमा भएको भेदभावसम्बन्धी रिपोर्टिङ गरेका द एडभोकेटका पत्रकारलाई प्रदान गरिने छ ।
अमेरिकी राष्ट्रिपति ट्रम्पले आफूसँग रहेको सम्बन्ध लुकाउन महिलालाई रकम दिएको खुलासा गरेका द वाल स्ट्रिट जर्नलका पत्रकारले नेशनल अवार्ड पाउने भएका छन् । इन्टरनेशनल अवार्ड भने दुई संस्थाले पाउँदै छन् । यमन युद्धमा बाल सैनिक, कैदीबन्दीहरुलाई दिइने यातना र खाद्यान्नको चोरीबारे रिपोर्टिङ गरेका एपीका म्यागी माइकल, माद एल जिक्री र नरिमान इल मुफतीलाई सो पुरस्कार प्रदान गरिनेछ । यस्तै, म्यानमारमा रोहिंग्या मुस्लिमहरुको नरसंहार भएको रिपोर्टिङ गरेका कारण हाल जेलमा रहेका रोयटर्सका वा लोन, क्याउ सो उ र उनीहरुको टोलीलाई पनि इन्टरनेशनल अवार्ड प्रदान गरिनेछ । न्यूज रुमभित्र प्रवेश गरेर एक बन्दुकधारीले गोली चलाएर पाँच जनाको हत्या गरेपछि पनि समाचार प्रकाशन गरिरहेको द क्यापिटल ग्याजेटलाई यस वर्ष विशेष अवार्ड प्रदान गरिने जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु