पुन: वर्षा र हिमपातको सम्भावना

२०७६ माघ ७ गते, मंगलवार

काठमाडौं , ७ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ । सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार यस वर्ष मौसमी प्रणालीको प्रभावले केही दिन मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ । तराईका भूभागमा बाक्लो हुस्सु लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ । राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बुधबार देशभर मौसम सामान्यतया सफा रहने र तराई भूभागमा हुस्सु कायमै रहने बताइएको छ । बिहीबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव पाँच डिग्री र अधिकतम १७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार