पुनर्विचार – बलराम तिमल्सिना

२०७४ चैत्र २९ गते, बिहीबार

महान बनाउँन खोज्दा
केही थान जिन्दगीहरूलाई
कसरी तुच्छ हुन पुगे
अनेक थान जिन्दगीहरू ?
कसरी आफैले सिर्जेको महानता
आफैमाथि घोडा चढ्यो
र जोतिरह्यो तुच्छ बनाएर हामीलाई ?
मेरो प्रस्ताव छ प्रिय साथी –
यो कुरुप तरिकामा पुनर्विचार गरौं !

केही थान मानिसहरूलाई
समृध्दिको सिंहासनमा राख्न
करोडौं थान जिन्दगीहरू
किन दिनहुँ भोकै सुत्नु पर्ने ?
भोकै सुताउँने समृध्दिको गीत
किन भोकाहरूले गाउँनु पर्ने ?
यो कुन खाले समृध्दि हो मित्र ?
मेरो विनम्र सुझाव छ साथी-
यो मान्छेमारा समृथ्दिमाथि पनि
दिल खोलेर पुनर्विचार गरौं !

प्रेमी बनाउँन खोज्दा
एक थान मानिसलाई
घृणा वर्षाउँनु पर्ने
अनेक थान जिन्दगीमाथि
दुश्मनीको फौज खडा गरेर
एउटा निजी प्रेमी बनाउँनु पर्ने
यस्तो प्रेम पनि के प्रेम ?
मेरो अर्को पनि प्रस्ताव छ साथी-
प्रेमको यो अमानवीय चरित्रमाथि पनि
दृढतापूर्वक पुनर्विचार गरौ !

तिमी जे कुरामा खुसी छौ
म खुसी भैरहेको छैन पटक्कै
तिमी जे कुरालाई महान भनिरहेछौ
म तुच्छ देखिरहेछु त्यही चिज
तिम्रो उन्नतीले मलाई
गोरु बनाएर जोत्न खोज्छ
तिम्रो प्रेमीले मलाई
सिधै दुश्मनको व्यवहार गर्छ
सायद तिमी उही रहेनौ
म पनि उही रहिंन अव
जिन्दगीको गन्तव्य फेरिएपछि हाम्रो
कसरी रहिरहन सकौंला साथी ?
मेरो सोचिविचारी प्रस्ताव छ साथी-
आउनोस अव ठण्डा दिमागले
हाम्रो मित्रतामाथि पनि पुनर्विचार गरौं

प्रतिक्रियाहरु