पिसाब हेरौं स्वास्थ्य अवस्था थाहा पाऔं

२०७१ चैत्र ७ गते, शनिबार

काठमाडौँ । हामीमध्ये धेरैले पिसाब फेर्दा पिसाबको रङका बारेमा कुनै कुरा नसोँचिकन वा नहेरीकन मुत्रत्याग गर्दछौँ । तर अब भने पिसाब फेर्दा पिसाबको रङ कस्तो छ ? भनेर हेर्नुपर्ने भएको छ । विज्ञका अनुसार पिसाबले हाम्रो स्वास्थ्यका विषयमा धेरै कुरा बताइदिन्छ । बेलायतको टेलिभिजन नेटवर्क आइटिभीको एक कार्यक्रममा बोल्दै एकजना विज्ञले पिसावको रङको अर्थ बताएका छन् । दिस मर्निङ शीर्षकको कार्यक्रममा डाक्टर क्रिस स्टीलले पिसाबको रङ वा ढाँचाले जिउको स्वास्थ्यका विषयमा कस्तो संकेत गर्छ भन्ने कुराको बेलीविस्तार लगाए । कार्यक्रममा उनले विभिन्न रङका पिसाबका नमुनाहरु राखिएका टेष्टट्युब देखाएका थिए जहाँ सफा पानीजस्तो पिसाबसँगै पहेँलो, रातो तथा निलो रङको पिसाबको नमूना थियो । उनका अनुसार ट्वाइलेटमा जम्मा भैसकेपछि नभै आफ्नो मुत्रांगबाट झर्दै गर्दाको पिसाबको धाराको रङ हेर्नुपर्ने सुझाव दिए । ट्वाइलेट बाओलमा जम्मा भैसकेको अवस्थामा त्यसको रङमा फिक्कापन आउनसक्ने उनको भनाइ छ । पिसाबको रङलार्ई खाएको खानेकुरा, पिएको चिज वा औषधि लगायतले समेत फरक पार्नसक्ने तर्फ औल्याउँदै उनले हामीले खाने हरेक चिजले पिसाबको रङमा प्रभाव पार्ने बताएका छन् । उनका अनुसार धेरै कुरिलो खाँदा वा रङ हालिएका खानेकुरा खाँदा पिसाबको रङ निलो वा हरियो देखिन्छ । धेरै प्रोटिनयुक्त खाद्यपदार्थ खाँदा वा सरीरमा ब्याक्टेरियाको इन्फेक्सन हुँदा पिसाब केही बाक्लो वा फिँज आउने खालको हुने उनले बताएका छन् ।
उनका अनुसार पिसाबको रङको अर्थ यस्तो छ–
० रंगहीन पारदर्शी पिसाब हुनुको अर्थ व्यक्तिले धेरै पानी पिएको छ र पानीको मात्रा घटाउने तर्फ सोँच्दैछ ।
० परालजस्तै हल्का पहेँलो पिसाब हुनुको अर्थ व्यक्तिले जिउलार्ई चाहिनेजति पानी पिएको छ र स्वास्थ्य सामान्य छ । पिसाबको यो रङले मानिस स्वस्थ भएको बुझाउँछ ।
० पारदर्शी पहेँलो रङको पिसाब हुनु पनि स्वास्थ्य सामान्य अवस्थामा रहेको सूचक हो ।
० गाढा पहेँलो पिसाब हुनु भनेको तत्कालका लागि स्वास्थ्य ठीक नै भए पनि छिटै पानी पिउनु भन्ने सन्देश हो ।
० मह वा बेसार जस्तै पहेँलो हुनु भनेको व्यक्तिले पर्याप्त पानी नपिउने गरेको संकेत हो । यस्तो पिसाब आएमा तत्कालै पानी पिउनुपर्छ ।
० खैरो खालको अलिक बाक्लो पिसाब हुनु भनेको कलेजोको रोगको संकेत हुनसक्छ । साथै जिउमा निकै उच्च मात्रामा जलवियोजन हुँदा पनि पिसाबको अवस्था यस्तो हुनसक्छ । यदि यस्तो रङको पिसाब आएमा पर्याप्त पानी पिउनुका साथै चिकित्सककोमा जँचाउन गइहाल्नुपर्छ ।
० रातो अर्थात गुलाबी रङको पिसाब हुनुको अर्थ तपाइँले ब्लुबेरी वा रातो मुला खाने गर्नुभएको छ । यदि होइन भने पिसाबमा रगत मिसिएर पनि यस्तो हुनसक्छ । साथै यस्तो रङको पिसाब आउनु मृगौला रोगको लक्षण हुनसक्छ । मृत्रप्रणालीमा क्यान्सर हुनु, मुत्रनलीमा संक्रमण हुनु तथा प्रोस्टेट ग्रन्थीको समस्याले समेत यस्तो हुनसक्छ । सिसा तथा पारोको विषाक्तताले पनि पिसाबको रङ रातो वा गुलाबी बन्न सक्छ । त्यसैले यस्तो पिसाब आएमा तुरुन्तै चिकित्सककोमा सल्लाह लिनुपर्छ ।
० सुन्तला रङको पिसाब आउनुको अर्थ कम पानी पिउनु मात्र होइन पित्तथैली वा कलेजोको रोगको लक्षण पनि हुनसक्छ ।
० पिसाबको रङ निलो वा हरियो देखिनु भनेको निकै दुर्लभ घटना हो । खासगरी वंशाणुगत रोगका कारण पिसाबको रङ निलो वा हरियो हुनसक्छ । त्यस्तै कतिपय ब्याक्टेरियाले मुत्रनलीमा संक्रमण गर्दा समेत यस्तो हुनसक्छ । कतिपय औषधिको सेवनले समेत पिसाबको रङ यस्तो अस्वभाविक हुनसक्छ । पिसाबको रङ निलो भैहाल्यो भनेर धेरै आत्तिनु पर्दैन तथापि तत्कालै चिकित्सककोमा भने देखाइहाल्नुपर्छ ।
० पिसाबमा फिँज देखिनुको अर्थ के होला ? कहिलेकाहीँ यस्तो हुनु सामान्य प्रक्रिया हो । तर प्रायः पिसाबमा फिँज देखिन्छ वा बाक्लो हुन्छ भने त्यो मृगौला रोगको लक्षण हुनसक्छ । साथै भोजनमा प्रोटिनको मात्रा आवश्यकताभन्दा बढी हुँदा पनि यस्तो हुनसक्छ । त्यसैले चिकित्सककोमा परामर्श लिइहाल्नुपर्छ ।

प्रतिक्रियाहरु