पिडिए बिरुद्ध दश वाम

२०७१ भाद्र १५ गते, आईतवार


काठमाडौँ । नेकपा–माओवादीलगायतका १० वाम पार्टीका नेताले भारतीय कम्पनी जिएमआरसँग गर्न लागिएको परियोजना विकास सम्झौता(पिडिए) मुलुकको हितमा नरहेको भन्दै विरोध गरेका छन् ।राजधानीमा आयोजित अन्तक्र्रियामा आन्तरिकरुपमा नै निर्माण गर्न सकिने र असाध्यै सस्तो आयोजना भारतीय कम्पनीलाई दिन खोज्नु गलत भएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले जिएमआरसँग गर्ने भनिएको पिडिए कुनै पनि हालतमा नगर्न सरकार र प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरे ।उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना नेपाली साधन र स्रोतमा नै निर्माण गर्न सकिने भएकाले विदेशी कम्पनीलाई दिन नहुने धारणा राखे ।
नेकपा(माले) का महासचिव सिपी मैनालीले सरोकार भएका सबै पक्षसँग गहन छलफल नै नगरी भारतसँग पिडिए नगर्न सरकारलाई आग्रह गरे । उनले माथिल्लो कर्णालीजस्तो सस्तो आयोजनामा नेपालले नै लगानी गरी बढीभन्दा बढी फाइदा लिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको फाइदाका लागि नेपालले पिडिए गर्न नहुने बताउँदै हतारमा गर्न लागिएको सम्झौता विगतका सम्झौताभन्दा फरक नहुने र उक्त सम्झौताले नेपालको जलस्रोत विदेशीको पोल्टामा पुग्ने बताए ।
कार्यक्रममा नेकपा (एकीकृत), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी) लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल नेतृत्वको समितिले पिडिएको मस्यौदा हस्तान्तरण गरेको थियो ।
लगानी बोर्डले भारतीय प्रवद्र्धक जिएमआरसँग केही दिनभित्रै पिडिएको सम्बन्धमा गहन छलफल गर्ने र अन्तिम रुप दिने बताइरहेको बेला १० वाम दलको तर्फबाट कुनै पनि हालतमा सो सम्झौता नगर्न चेतावनी दिइएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु