पाल्सी बोली – बलराम तिमल्सिना

२०७७ असार १७ गते, बुधबार

शासकहरू
प्राय पाल्सी बोली बोल्छन्
जब कुर्सी शङ्कटमा पर्छ
शासकहरू देशका कुरा गर्न थाल्छन्
जब अल्पमतमा पर्छन् ती
विदेशीको चलखेल देख्न थाल्छन् !

शासकहरू
देशलाई आफ्नो खेत संझन्छन
र जनतालाई हली-गोठाला
ती जव सत्ताका गफ गर्छन्
आफ्नै आँगनमा गाडेको
लिङ्गे पिङ् सम्झन्छन्
सानो बच्चालेजस्तै ती
न ओर्लने ढिपी कस्छन्
शासकहरू पाल्सी बोली बोल्छन् !

शासकहरू
जव चाट्न आउँछन् हामीलाई
हामी सतर्क रहनु पर्छ
उनीहरूको जिब्रो गैंडाको हुन्छ
शासकहरू
ज सुम्सुम्याउँछन् हामीलाई
हामीले होस गर्नु पर्छ
उनीहरूको पञ्जा हिंस्रक हुन्छ
तिनीहरू जब कन्याउन थाल्छन्
तपाई खतरामा हुनुहुन्छ
उनीहरूको मन ब्वाँसाको हुन्छ
तिनीहरू जब आशु झार्छन्
तपाई पटक्कै मख्ख नपर्नुस
तिनीहरू गोहीको अवतारमा हुन्छन्
शासकहरू खतरनाक हुन्छन् !

शासकहरू
तिर्खा लाग्दा रगत पिउँछन्
भोक लाग्दा मान्छे खान्छन्
र मान्छेले भोक मरेन भने
ती कुटुकुटु देशै खान्छन्
तपाई नजिकै हुनुहुन्छ भने शासकको
तपाई जोखिममा हुनुहुन्छ !

शासकहरूले
चिप्लो बोले पनि होस गर्नु
कुनै षडयन्त्र भैरहेको हुन्छ
शासकहरू मुस्कुराए भने
तपाई दङ्ग नपर्नुस
किन कि
मुस्कुराइरहेको बाघ
रिसाएको बाघभन्दा खतरनाक हुन्छ
दया, माया, करुणा
क्षमा, उपकार र भतृत्व
शासकहरूसँग हुदैहुदैन
शासकहरूभित्र
मान्छेको आत्मा हैन
हत्याराको आत्मा हुन्छ
हत्याराको आत्मा
रक्तपानकै लागि भड्किरहेको हुन्छ !

प्रतिक्रियाहरु