पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो

२०७४ मंसिर १६ गते, शनिबार

काठमाडौं, १६ मंसिर । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ ।
यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका प्राप्त समाचारमा जनाइएको छ ।
गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको समाचारमा उल्लेख छ ।
अमेरिकी राज्य टेक्सासको डालासमा रहेको ‘द बेइलर स्कट एण्ड ह्वाइट मेडिकल सेन्टर’ नामक अस्पतालमा शुक्रबार ती अमेरिकी महिलाले बच्चा जन्माएकी हुन् ।
उक्त अस्पताल हाउसटनबाट करिब ४०० किलोमीटर उत्तरमा पर्दछ । उक्त अस्पतालले एक्काइसौँ शताब्दिमा प्राप्त चिकित्सा क्षेत्रका केही उपलब्धिमध्येको एक उपलब्धिका रुपमा महिलाको प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको भनी आफ्नो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेको छ ।
ती महिलाले बच्चालाई जन्म दिएको भिडियो नै सो ट्वीटर अकाउन्टमा राखिएको छ । र भनिएको छ— चिकित्सा क्षेत्रमा प्राप्त यो उपलब्धि धेरै ठूलो हो, जुन अमेरिकामा पहिलो पटक प्राप्त भएको छ ।
उक्त अस्पतालले सन् २०१६ को सेप्टेम्बर महिनामा चार जना महिलामा गर्भाशय प्रत्यारोपण गराएको थियो । यस क्रममा उनीहरुले स्वीडिस् मेडिकल समूहको सहयोग लिएको जनाएका थिए ।
ती मध्ये एकजना महिलाको मात्र प्रत्यारोपण सफल भएको थियो । तिनै महिलाले शुक्रबार बच्चा जन्माएकी हुन् ।
यसरी एक महिलाको गर्भाशय अर्काेमा प्रत्यारोपण गर्ने कामको सुरुवात स्वीडेनमा भएको हो । त्यहाँ यसअघि नै यसरी गर्भाशय प्रत्यारोपण गरिएका महिलाबाट पाँच जना शिशु जन्मिइसकेका छन् ।
सन् २०१४ को सेप्टेम्बर महिनामा पहिलो पटक स्वीडेनमा यसरी प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको थियो । -रासस/सिन्ह्वा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु