पाङ्ग्राभित्र बसेर ५ घन्टा उडान

२०७१ बैशाख ९ गते, मंगलवार

काठमाडौ, ९ बैशाख । विमानको पाङ्ग्रा राखिने भाग (हि्वलवेल) मा लुकेर पाँच घन्टा उड्दासमेत एक अमेरिकी किशोर जीवितै रहे । क्यालिफोर्नियाबाट उडेको विमान आइतबार हवाईमा उत्रनेबित्तिकै कर्मचारीहरूले हि्वलवेलमा १६ वर्षीय किशोरलाई देखेका थिए । उनी ३९ हजार फिट उचाइको न्यून अक्सिजन र कठ्यांगि्रँदो चिसोमा समेत आश्चर्यजनक रूपले जीवित रहेका हुन् ।अमेरिकी अनुसन्धान संस्था एफबीआईका प्रवक्ता टम सिमोनले युवक बँचेकामा अचम्म माने । मिनेटा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा भिडियोमा ती किशोर पर्खाल नाघेर हि्वलवेलमा चढेको देखिएको छ । उनी घरबाट भागेर विमानस्थलतिर हिँडेका थिए ।हवायन एयरलाइन्सको विमान बिहानपख काहुलुई विमानस्थलमा अवतरण गरेको थियो । प्रवक्ता सिमोनका अनुसार अवतरणको केहीबेरमै किशोर हि्वलवेलबाट फुत्त झरी विमानस्थल वरपर रल्लिन थालेका थिए । त्यतिखेर उनको साथमा एउटा काइँयो मात्र फेला पर्‍यो । उनी उडानभर अधिकांश समय अचेत रहेको सिमोनले उल्लेख गरे ।किशोरको स्वास्थ्य अवस्था स्थिर रहेको अधिकारीहरूले बताएका छन् । उनलाई एफबीआईले सोधपुछसमेत गर्‍यो । उनीमाथि कुनै फौजदारी अभियोग लगाइसकिएको छैन । ‘हाम्रो मुख्य सरोकार भनेको केटाको स्वास्थ्य अवस्था हो । ऊ आश्चर्यजनक रूपले जीवित भेटियो,’ हवायन एयरलाइन्सका एक प्रवक्ताले भने ।
सन् १९४७ यताको अभिलेखअनुसार करिब सय जनाले यसरी हि्वलवेलमा लुकेर यात्रा गर्ने कोसिस गरेकामा ७५ प्रतिशतले ज्यान गुमाएको देखिन्छ । यसअघि सन् २०१२ मा बि्रटिस एयरवेज विमानको हि्वलवेलबाट एक २६ वर्षीय युवक हिथ्रो विमानस्थलमा खसेका थिए । उनी अंगोलाबाट उक्त विमानमा प्रवेश गरेका थिए । विमान उत्रने तयारी गर्दा उनी खसेका थिए ।

प्रतिक्रियाहरु