पाकिस्तानद्वारा भारतको अनुरोध अस्वीकृत

२०७६ आश्विन २ गते, बिहीबार

काठमाडौं, २ असोज । कश्मीर विवादका कारण सम्बन्ध चिसिएकै बेलामा भारतले गरेको एउटा अनुरोधलाई पाकिस्तानले अस्वीकार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीका अनुसार भारतले पाकिस्तानसँग प्रधानमन्त्री नरेन्द्र मोदी सवार हुने विमानका लागि ‘एयरस्पेस’ माग गरेको थियो । पाकिस्तानले भारतको उक्त अनुरोधलाई अस्वीकार गरेको विदेशमन्त्री कुरेसीले बताए ।
भारतीय प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा जर्मनी जाँदैछन् । मोदी सवार विमानका लागि भारतले पाकिस्तानसँग हवाई मार्ग उपलब्ध गराउन अनुरोध गरेको हो । पछिल्लो समय पाकिस्तानले भारतबाट उडान भर्ने विमानका लागि आफ्नो हवाई मार्ग बन्द गरेको छ ।कश्मीरको अवस्थालाई मध्यनजर गर्दै आफूहरुले मोदीको उडानका लागि हवाई मार्ग उपलब्ध गराउन नसकिने जवाफ भारतीय उच्चायोगलाई दिएको पाकिस्तानी विदेशमन्त्रीको भनाइ छ । पाकिस्तानले हवाई मार्ग उपलब्ध नगराउँदा भारतबाट हुने अन्तर्राष्ट्रिय उडान पाकिस्तानी वायुक्षेत्र भन्दा बाहिरबाट उड्नुपर्ने बाध्यता हुन्छ । पाकिस्तानी हवाई क्षेत्र भन्दा बाहिरबाट उड्दा विमानको उडान समय र लागत खर्च बढी हुने गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु