पाँच हजारमा तीन दिन सौराहा घुम्न पाइने

२०७२ आश्विन ११ गते, सोमबार

काठमाडौं । भूकम्प र बन्द, हड्तालले सुस्त रहेको पर्यटन व्यवसायलाई गति दिन सौराहामा रहेको जंगल सफारी लजले ‘यसपालीको दशैतिहार चितवनमा’ योजना ल्याएको छ । आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटेलले यो योजना ल्याएको हो । योजनाअनुसार पाँच हजार ५५ रुपैयाँमा दुई रात–तीन दिन सौराहामा बस्न र घुम्न सकिन्छ । होटलका कार्यकारी निर्देशक सुमन घिमिरेका अनुसार प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्टसहित जंगल सफारी गर्न पाउनेछन् । पर्यटकले सौराहामा हात्ती सफारी, डुंगा सयर, हाती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने उनले बताए ।
‘हामीले भुकम्पपछि थलिएको पर्यटनलाई गतिशीलता प्रदान गर्न यो समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका छौं,’ घिमिरेले भने, ‘यसले सौराहाको पर्यटकलाई बढाउने अपेक्षा गरेका छौ ।’ पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेन्ट र वाइफाई सुविधा र सबै गतिविधिमा सहभागी हुनसक्ने उनले बताए । उनले सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि विभिन्न प्याकेज योजना ल्याएको बताए ।
‘हामीले गत पाँच वर्षदेखि यो योजनालाई निरन्तरता दिंदै आएकाछौं,’ घिमिरेले भने, ‘आन्तरिक पर्यटन फस्टाए हामी स्वदेशी पर्यटककै भरमा पनि यो व्यवसायलाई निरन्तरता दिन सक्दछौं ।’ झन्डै ६ वर्ष अघि नयाँ संरचना सहित सञ्चालनमा आएको यस होटेलले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर छुट दिने जनाएको छ । योजना असोज १ देखि कार्तिक मसान्त सम्म लागु हुने होटलले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार