पाँच लाख चालकले भोगे ट्राफिक कारबाही

२०७१ श्रावण १२ गते, सोमबार

काठमाडौ, १२ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत आर्थिक वर्षमा उपत्यकामा मात्र ५ लाख २२ हजार ७ सय ३७ चालक कारबाहीमा परेका छन्। सवारी नियम उल्लंघन गर्नेलाई कारबाहीमा तीव्रता दिँदै आएको महाशाखाका अनुसार नियमविपरीत सवारी चलाउने चालक संख्या एक वर्ष अवधिमा ७४ हजार ४ सय ९१ जनाले वृद्धि भएको छ। आर्थिक वर्ष ०६९/७० मा सवारी नियम मिच्ने ४ लाख ४८ हजार २ सय ४६ जना कारबाहीमा परेका थिए। तर गत आर्थिक वर्षमा यो संख्या ५ लाख २२ हजार ७ सय ३७ पुगेको छ।
महाशाखाका अनुसार उपत्यकाका सडकमा ८ लाख हाराहारी सवारी गुड्छन्। कारबाहीमा पर्नेमध्ये केही चालक दोहोरिएका छन् भने केही सवारीधनीले एक पटक चालक कारबाहीमा परेलगत्तै तुरुन्तै अरु चालक फेर्ने गर्दा सवारीको तुलनामा धेरै चालक कारबाहीमा पर्ने गरेको महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार धेरै चालक कारबाहीमा पर्ने क्रम बढ्न थालेपछि ट्राफिकले चालक तथा सहचालकलाई चेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिएको छ। ‘चालकलाई नियमबारे पर्याप्त जानकारी नहुँदा पनि कारबाहीको दर बढेको पाइएको छ,’ उनले भने, ‘त्यसकारण हामीले चालक तथा सहचालकलाई सवारी नियम तथा अन्य व्यवस्थाबारे जानकारी दिन थालिसकेका छौं।’
कारबाही संख्या बढेसँगै महाशाखाको राजस्वसमेत वृद्धि आएको छ। चालक कारबाहीबाट महाशाखाले एक वर्ष अवधिमा १६ करोड ३१ लाख १० हजार ३० रुपैयाँ राजस्व उठाएको छ। यो राजस्व अघिल्लो वर्षको तुलनामा झन्डै चार करोड बढी हो। अघिल्लो आर्थिक वर्षमा महाशाखाले १२ करोड ५७ लाख ३ हजार १ सय ६ रुपैयाँ राजस्व संकलन गरेको थियो।
महाशाखाका अनुसार कारबाहीमा पर्नेमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मोटसाइकल चालक छन्। तर प्रतिशतका हिसाबमा हेर्दा सबैभन्दा बढी माइक्रो नै कारबाहीमा पर्ने गरेका छन्। प्रतिशतका हिसाबमा हेर्दा ८३ प्रतिशतभन्दा बढी माइक्रो चालक कारबाहीमा पर्ने गरेका छन्। मोटरसाइकल चालक मुस्किलले ३० प्रतिशत पर्ने गरेका छन्। त्यसपछि मिनिबस तथा बस र निजी चारपांग्रे सवारी कारबाहीमा पर्ने गरेको महाशाखाले जनाएको छ।
कारबाहीमा पर्नेमा ट्याक्सी चालक पनि अगाडि नै छन्। महाशाखाले एक वर्ष अवधिमा ३४ सय २२ ट्याक्सी चालकलाई कारबाही गरेको छ। त्यस्तै, जाँडरक्सी खाई गाडी चलाउने ५४ हजार ५ सय ३५ चालक कारबाहीमा परेका छन्।
महाशाखाले एक वर्ष अवधिमा ५ सय ६५ जनालाई सार्वजनिक ऐनअनुसार मुद्दासमेत चलाएको छ। डिआइजी अधिकारीका अनुसार ती चालकले सवारी नियम मिच्नुका साथै अन्य गल्तीसमेत गरेका थिए। कारबाहीमा पर्नेले लेन अनुशासन मिचेको, जिकज्याक गरी सवारी कुदाएको, यात्रु लिन तीव्र गतिमा विपरीत दिशाबाट ओभरटेक गर्ने, निषेध गरिएका स्थानमा सवारी रोक्ने, जथाभावी यात्रु चढाउन र ओराल्ने, क्षमताभन्दा बढी यात्रु कोच्ने, चालकले गाडी कुदाउँदै मोबाइल फोन प्रयोग गर्ने, सहचालकले जिउ बाहिर निकाल्ने, ट्राफिक संकेत नटेर्ने, जथाभावी हर्न बजाउने, ट्राफिकसँगै अनावश्यक विवाद गर्ने जस्ता गल्ती गरेका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार