पहिचानको राजनीतिका ३ आयाम – भरत दाहाल

२०७१ मंसिर ५ गते, शुक्रबार


नेपालमा ‘परिचय’का रुपमा बुझिने पदावलिलाई विश्व राजनीतिमा कतै ‘पहिचानवाद’ कतै ‘पहिचान’ र कतै ‘आदिवासीवाद’ का नामले पनि संबोधन गरिएको छ । यो विश्वब्यापी उभारका रुपमा रहेको सामाजिक प्रवृति हो । गएको सताब्दीको ८० को दशकदेखि चर्चा हुन थालेको यो पदावली अब राजनीतिको एउटा रुप बनिसकेको छ । कतिपय नकारात्मक घटना र प्रवृतिहरुका सकारात्मक परिणामहरु पनि निस्कन्छन । सकारात्मक घटना र प्रवृतिका नकारात्मक परिणाम पनि निस्कन्छन । ‘पहिचान’ को राजनीति, यद्यपि साम्राज्यवादले कमजोर मुलुकहरुको विभाजन र लुटका लागि उपयोगमा ल्याएको अवधारणा हो तर कतिपय स्थानिय परिवेशमा यो साम्राज्यवाद विरोधि प्रवृतिका रुपमा सकारात्मक प्रवृतिहरु पनि देखाएको छ ।
नेपालको पहिचानको राजनीतिका ३ वटा आयामहरु देखिन्छन् । पहिलो आयाम ‘स्व’ भाव हो । दोश्रो आयाम राज्यसंगको अन्तर्विरोध र तेश्रो आयाम साम्राज्यवादको बजार रणनीति हुन् । पहिलोले अस्तित्वको, दोश्रोले न्यायको र तेश्रोले दासत्वको प्रतिनिधित्व गर्दछन् । पहिचानको राजनीतिभित्र ‘स्व’ भाव को महत्व यस कुरामा छ कि यो प्रवृति आफैमा मौलिक छ, यसमा स्थानियपनको स्वाभिमान छ । मूलतः बौद्ध र वोन साँस्कृतिक सम्प्रदायसंग जोडिएको यो प्रवृतिको प्रतिनिधित्व जनजातिय तप्काले गर्दछ । यसले आफुलाई भारतीय, चिनियाँ वा इसाई संस्कृतिभन्दा पृथक ठान्दछ । पहिचानको आवाजभित्रको त्यसको एउटा अन्तर्भाव यहि ‘स्व’ भाव हो । किराँतहरु नेपालमा प्रवेश गरेका पहिलो बासीन्दा हनु् र त्यससंग सम्बन्धित संस्कृति नेपालको सबैभन्दा प्राचिन संस्कृति हो भन्ने कुरा पनि इतिहाँस सिद्ध तथ्य हो ।
दोश्रो आयाम पहिलो आयामको उत्पत्तिका रुपमा रहेको छ । नेपालको पहिलो साँस्कृतिक सभ्यता हुनुका कारणले त्यसले राज्यबाट जुन ब्यवहार पाउनु पर्दथ्यो, त्यो नपाएको रोष त्यसभित्र छ । खस साम्राज्यको पतनका बेला पश्चिम नेपालका खस रजौटाहरुले आफ्नो अस्तित्वलाई सुरक्षित गर्नका लागि भारतीय हिन्दु रजौटाहरुसंग गएर उनीहरुको वंशावलीमा आफ्नो पुर्खाको नाम जोड्न लगाएपछि हिन्दु संस्कृतिलाई अंगिकार गरेर तिनीहरुले आफ्ना राज्यहरुको आधिकारीक धर्मका रुपमा रहदै आएको बौद्ध धर्मका ठाँउमा हिन्दुधर्म स्थापित गरेका थिए । त्यसबेला पूर्वमा किराँत धर्म नै राज्य धर्मका रुपमा रहेको थियो । राज्यसंगको यो तुष अहिले ‘पहिचान’को राजनीतिका रुपमा देखापरेको छ । आधारभूत रपमा यस भावनाभित्र अन्यथा केहि छैन तर समकालिन विश्व राजनीतिमा साम्राज्यवादको घुसपैठका कारणले यसका अभिव्यक्तिहरु गलत ढंगले आएका छन् । ‘पहिचान’लाई पृथक साम्प्रदायीकताका रुपमा परिभाषित गरेर यसको सर्वाङ्गीण समाधान ‘संघियता’मा खोज्ने विकृति यसैको उदाहरण हो । यस्तो सोंचाईले त्यसले आफैलाई ‘आप्रवासी’ सँस्कृतिका रुपमा ब्याख्या गरिरहेको छ ।
‘पहिचान’को राजनीतिको तेश्रो आयाम साम्राज्यवादको बजार रणनीति हो । नेपालको भू–राजनीतिलार्य आफ्नो नियन्त्रणमा लिएर चीन र विशेष गरी पूर्वीय सभ्यतामाथि हमला गर्नका लागि पश्चिमी साम्राज्यवादी शक्तिहरुले ‘पहिचान’लाई सामाजिक विभाजनको राजनीतिक हतियारका रपमा प्रयोग गरेका छन् । एउटा गर्विलो सभ्यतामाथि नव औपनिवेशिक राज्यद्वारा गरिएको भेदभावपूर्ण व्यवहारको समाधानको प्रश्नलाई ‘संघियता’को नाममा विद्रपीकरण गर्दै त्यससंग ‘आत्मनिर्णयको अधिकार’को मुद्दा जोडेर साम्राज्यवादले नेपालको विखण्डन गरी धुसपैठ गर्न खोजेको छ । यसका लागि एनजिओ, आइएनजिओ र डलरवादी तत्वहरुले नकारात्मक भूमिका खेल्दै आएका छन् । यिनीहरुको मूख्य काम जनजातिय मौलिकताको जगका रुपमा रहेको ‘स्व’ भावलाई ‘संघियता’मा झार्नु र ‘संघियता’बाट ‘स्व’ भावको ठोस राजनीतिक अभिव्यक्तिका रुपमा रहेको ‘स्वशासन’लाई अलग गर्नु रहेको छ । ‘स्वशासन’लाई हटाएर साम्राज्यवादले जातिहरुमाथिको राज्यको उत्पीडन जारी राख्न र जातिय उत्पीडनको अन्त्यको प्रश्नसंग प्रत्यक्ष संम्बन्ध नभएको ‘संघियता’ मात्र लादेर त्यसले विखण्डन मात्र चाहन्छ भन्ने कुरा प्रश्ट हुन्छ ।
‘स्व’ भावको आयामबाट हेर्दा नेपालको जनजातिय तप्का मनौवैज्ञानिक साँस्कृतिक रुपले सबैभन्दा विश्वसनिय देशभक्तिपूर्ण तप्का हो । यसको सभ्यताको विकास भारतीय वा चिनीयाँ सभ्यताको पृष्ठभूमीसंग जोडिएको छैन र टक्ने अर्को जमिन पनि छैन । राज्यसंगको अन्तर्विरोधको आयामबाट हेर्दा यो लडाकुजातिका रुपमा प्राथमिक महत्व दिइएको तर निति निर्माणको तहमा उठ्न नदिइएको तप्का हो भन्ने कुरामा पनि शंका छैन । समस्याका यी दुई प्रकारका आयामहरुलाई वस्तुपरक रुपमा सम्बोधन गर्दा देशलाई फाइदा हुन्छ । जहाँसम्म साम्राज्यवादको बजार रणनीतिको आयामको कुरा छ, यसबाट ‘पहिचान’को राजनीति अलग हुनुपर्दछ र साम्राज्यवाद परस्त तत्वहरुलाई यो तप्काले आफ्नो कित्ताबाट अलग गर्नुपर्दछ । साम्राज्यवाद विरोधि आन्दोलनका रुपमा अघि बढेको खण्डमा ‘पहिचान’को आवाजले राष्ट्रिय पहिचानको सकारात्मक रुप लिन्छ । २ सय बर्षदेखि विदेशी गुलामिमा बाँच्नु परेको कारणले हामी सबैको पहिचानको पहिलो आधार राष्ट्रिय पहिचान हो । यस अर्थमा जातिय आन्दोलनको मूख्य प्रवृति साम्राज्यवादको विरोध हुनु पर्दछ । यदि यो साम्राज्यवाद र त्यसका दलालहरुको अधिनमा रहन्छ भने त्यसले राष्ट्र विरोधि पृथकतावादको रुप लिन्छ । मानवीय तप्काहरुको मागको औचित्यलाई जाँच्ने आधार त्यसको प्रवृति हो । वास्तविक भए पनि त्यसबेलासम्म यस्ता मागहरुलाई उचित मान्न सकिंदैन, जबसम्म तिनीहरुले न्यायको प्रतिनिधित्व गर्दैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु