पसिनाको रङ्ग – बलराम तिमल्सिना

२०७६ बैशाख १८ गते, बुधबार

संसारको जुन सुकै कुना होस
जुन सुकै अनुहारका मानिस हुन
जुन सुकै भाषा बोलुन उनीहरू
यदि उनीहरू मजदूर हुन भने
सवैको एउटै हुन्छ पसिनाको रङ्ग !

पसिनाको रङ्ग मात्र होइन
एउटै एउटै हुन्छ पूँजीको लुट
जुन सुकै भाषा बोलुन मालिकहरू
एउटै एउटै हुन्छ लुट्ने तरिका !

सातै महादेशमा
जहाँ बगे पनि पसिना
त्यो पसिना मात्र हुदैन
त्यो त रङ्ग फेरिएको रगत पो हो
जसरी पसिनाको रङ्ग एउटै हुन्छ
पसिना लुट्नेहरूको जिब्रोले अनुभव गर्ने
पसिनाको स्वाद पनि एउटै हुन्छ ।

मान्छेका समस्त सभ्यताहरू
र यी समस्त भव्यताहरू
हैन कुनै राजा महाराजाका दिमागका उपज
हैन कुनै युध्द सरदारका बहादुरी
या,
हैन यो कुनै गफाडीको गफको परिणाम !

यी समस्त सभ्यताका इन्जिनियर
केवल श्रमिकहरू हुन
ती समस्त गुमनामहरू
जसलाई गुपचुड गाडेर करेसामा
कसैले आफ्नो नाम कुँदायो
शिला-पत्र या ताम्र पत्रमा !

ती असंख्य शिला- पत्रहरू झुटा हुन
ती सवै ताम्र-पत्रहरू वाहियात हुन
जहाँ ,
कहिं पनि लेखिएका छैनन्
असली निर्माताहरूका नाम !

जुन रङ्गको अनुहारबाट खसे पनि
धरतीको जुन कुनामा बगे पनि
पसिनाको रङ्ग एउटै हुन्छ
पसिनाको गन्ध एउटै हुन्छ
परजीवीहरूले अनुभव गर्ने
पसिनाको स्वाद एउटै हुन्छ
भाषा या भूगोल
जात या वर्ण
यी कुनै पनि कुराले
केही फरक पार्दैनन
पसिनाको सनातन रङ्गमा !

२०७६|०१|१८
मे दिवश विशेष

प्रतिक्रियाहरु