पश्चिमी वायु सक्रिय, वर्षा र हिमपातकाे सम्भावना

२०७६ फाल्गुन ८ गते, बिहीबार

काठमाडाैँ, ८ फागनु । नेपाली वायुमण्डलमा पश्चिमी वायु फेरि सक्रिय भएकाे छ । पश्चिमी वायु नेपाल प्रवेश गरेसँगै माैसममा बदलाव देखिएकाे हाे । यससँगै मुलुकभरकाे माैसम बदली भइ वर्षा तथा हिमपात समेत सुरू भएकाे छ ।
बुधबार रातिदेखि नै मुलुककाे पश्चिमी क्षेत्रका पहाडी भेगमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरू भइसकेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार बिहीबार (आज) देशैभरकाे माैसम बदली रहने र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात समेत हुने सम्भावना रहेको महाशाखाकाे अनुमान छ । बिहीबार राति देशभर सामान्य बदली रही पश्चिमका केही भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु