पशुपतिनाथको विशेष पूजा बन्द

२०७१ बैशाख ११ गते, बिहीबार


काठमाडौं, ११ बैशाख। पशुपतिनाथ मन्दिरमा दुई सातादेखि विशेष पूजा बन्द भएको छ ।पशुपतिनाथ मन्दिरका भट्टले कमिसन बढाउनुपर्ने माग गर्दै दुई सातादेखि विशेष पूजा बन्द गरेका हुन् । मन्दिरमा हुने विशेष पूजामा २० प्रतिशत कमिसन वृद्धि गर्नुपर्ने भट्टहरूको माग छ। उनीहरूले सरकारले उपलब्ध गराउँदै आएको तलबभत्तामा कर काट्न नहुने माग समेत राखेका छन्। पशुपति क्षेत्र विकास कोषले २०६८ साउनदेखि पुरानो बक्यौता र नयाँ तलबको कर काट्दै आएको छ।
पशुपतिनाथ मन्दिरमा विभिन्न अवसरमा ११ सयदेखि ९ लाख रुपैयाँसम्मको रसिद काटेर विशेष पूजा गराउनसक्ने व्यवस्था छ। विशेष पूजामा चढाइने भेटी र दक्षिणाको साढे ७ प्रतिशत रकम भट्टहरूले २०६२ देखि पाउँदै आएका छन्।
भक्तजनले भने भट्टहरूले आन्दोलन गरेर भगवानप्रतिको आस्थामा खेलबाड गरेको बताएका छन्। मन्दिरमा जन्मदिन, विवाहको वार्षिकोत्सव, जंकु, विशेष तिथिलगायतमा विशेष पूजा गराउन नपाएको उनीहरूले गुनासो गरेका छन्।
विवाह उत्सवको अवसरमा १ हजार १ सयको विशेष पूजा गराउन आएका कृष्ण श्रेष्ठले पूजा गराउन नपाउँदा दुःख लागेको बताए। ‘विवाह गरेको १९ वर्ष पुगेको अवसरमा भगवान पशुपतिनाथमा क्षमताअनुसार ११ सयको विशेष पूजा गराउन आएको थिएँ, तर भट्टहरूले पूजा गराउनै मानेनन्,’ उनले नागरिकसँग दुखेसो पोखे।श्रेष्ठले भट्टहरूले नियमविपरीत पूजा बन्द गर्दा पशुपति क्षेत्र विकास कोष मूकदर्शक बन्न नहुने बताए। ‘सरकारले उनीहरूलाई तलबभत्ता दिएकै छ,’ उनले भने, ‘पशुपति क्षेत्र विकास कोष किन मूकदर्शक बनेको होला!’
कोषका सदस्यसचिव गोविन्द टन्डनले भट्टहरूले एक्कासि २० प्रतिशत कमिसन बढाउन माग गर्दा कोष नै अप्ठेरोमा परेको बताए। उनका अनुसार कोषले मन्दिरमा चढ्ने विशेष पूजाको दक्षिणा तथा भेटीलाई पारदर्शी बनाउन ०६८ चैत २६ गते नियमावली बनाएर भट्टहरूलाई तलबलगायत सुविधाको व्यवस्था गरेको थियो।
तत्कालीन सदस्यसचिव सुशील नाहाटाले व्यक्तिगत रूपमा निर्णय गरेर विशेष पूजाको कमिसन साढे ७ प्रतिशतबाट वृद्धि गरेर १५ प्रतिशत पुर्‍याएका थिए। तर, उनको निर्णय पशुपति विकाष कोष सञ्चालक परिषदले पास गरेन, जसका कारण भट्टहरूले साढे ७ प्रतिशत नै कमिसन पाउँदै आएका छन्।
‘भट्टहरूले पुरानो बाँकी कमिसन पनि माग गरेका छन्,’ सदस्यसचिव टन्डनले नागरिकसँग भने, ‘सरकारले कानुनबमोजिम पाँच महिनादेखि तलबभत्तामा ३५ प्रतिशत कर काट्न थालेपछि भट्टहरू आक्रोशित बन्नुभयो र विशेष पूजा नै रोकिदिनुभयो।
सदस्यसचिव टंडनका अनुसार ०६८ अघिसम्म भट्टहरूले फर्माइसी पूजा भनेर आफूखुसी पूजा गर्थे। त्यतिबेला कति पूजा भयो, कति दक्षिणा–भेटी चढ्यो भन्ने लेखाजोखा हुँदैनथ्यो।पशुपति क्षेत्र विकास कोषले भेटी र दक्षिणा पारदर्शी बनाउन २०५० सालमै ऐन बनाएर ल्याएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार