पर्यटकीय सम्भावना बोकेको दोभान क्षेत्र ओझेलमा

२०७३ भाद्र ८ गते, बुधबार

काठमाडौँ ,८ भदाै । प्रशस्त पर्यटकीय सम्भावना बोकेको पाल्पा जिल्लाको दोभानबारे प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । सिद्धबाबा मन्दिर, ताल, तालभित्र मन्दिर, आदिम मानवको दाँत भेटिएको स्थान, नेवाकोट भैरवमन्दिर, सेनकालीन दरबारको भग्नावशेष, होमस्टे, तेजपातको सामुदायिक वन, मगर समुदायको संस्कृति र लघु जलविद्युत् आयोजनालगायतले पर्यटकलाई आकर्षण गर्ने स्थल भएपनि स्थानीयको अग्रसरता र प्रचारको अभावमा यो क्षेत्र नै ओझेलमा पर्दै आएको छ ।
रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिकासँग सिमाना जोडिएको दोभान गाविसभित्र प्राचीनकालीन सामाजिक–सांस्कृतिक महत्व बोकेका ऐतिहासिक स्थल प्रशस्त रहेका छन् ।
सिद्धबाबा मन्दिर लुम्बिनी अञ्चलकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरमा दैनिकरुपमा सयौँ धार्मिक पर्यटक आगमन हुने भएपनि अन्य जिल्लाका मानिस बुटवल–पाल्पा सडक असुरक्षित हँुदा यसले पर्यटक आगमनमा कमी हुँदै आएको स्थानीयको भनाइ छ ।
सिद्धबावा क्षेत्रमा बर्सेनि सुक्खा पहिरोले मानवीय क्षति हुने गरेपछि मानिस पाल्पा प्रवेशमा असुरक्षित महसुस गर्दै आएका छन् । दोभानका स्थानीय बासिन्दा चक्रब्युह थापाका अनुसार दोभान प्राकृतिक रुपमा नै सुन्दर, त्यसमा पनि सेनकालीन दरबार रहेको क्षेत्र र सामाजिक–सांस्कृतिक रुपमा धनी एउटा रमणीय क्षेत्र हो ।
दोभान पहाडी जिल्ला भएपनि लेकमा ताल रहेको र सोही तालभित्र मन्दिर समेत रहेकाले यस दोभान क्षेत्र ऐतिहासिक मात्र होइन धार्मिक पर्यटकीय गन्तव्य समेत हुने प्रशस्त सम्भावना रहेको थापाको भनाइ छ ।
दोभान गाविसको नुवाकोटामा अहिले सेनवंशीय राजाको दरबारको भग्नावशेष देखिन्छ । यही स्थानको सहयोगमा तत्कालीन जर्नेल उजिरसिंहले ब्रिटिस साम्राज्यलाई हराइदिएको नेपालको इतिहासमा उल्लेख छ । यस क्षेत्रमा अहिले भैरवबाबाको मन्दिर रहेको र विशाल त्रिशूल सबैको मन आकर्षित गर्न सफल देखिन्छ ।
दोभान एकीकृत पर्यटन विकास समिति, सामुदायिक वन, दोभान गाविस र जनजाति विकास समितिको आयोजनामा दोभान गाविसको सुकेताल भन्ने स्थानमा २०६७ सालदेखि होमस्टे कार्यक्रम सञ्चालनबाट यहाँको आर्थिक क्षेत्रको विकासमा ठूलो सहयोग पुगेको छ ।
तीन रोपनी जग्गामा फैलिएको तालबाट स्थानीयले तीन किलोवाटको बिजुली निकालेर गाउँलेले सस्तोरुपमा विद्युत् प्रयोग गर्दै आएको यो अर्को नमुना कार्य हो ।
दोभान गाविस–२ अन्तर्गत पर्ने हात्तीकोट र ज्यामिरे क्षेत्रका मानिसले निजी र सामुदायिक वनबाट दालचिनीको पात र बोक्रा बेचेर नै गाउँ ऋणबाट मुक्त रहेको पनि अर्को उदाहरणीय कार्य हो ।
गाउँबाट ठूलो मात्रामा बुटवललगायतका क्षेत्रमा यहाँबाट दालचिनीको पात निकासी हुँदै आएको स्थानीय निसान पटेल बताउनुहुन्छ । दालचिनीको पात र बोक्रा मसला, चिया तथा अन्य आयुर्वेदिक औषधिका रुपमा प्रयोग हँुदै आएको स्थानीयको भनाइ छ ।
यस क्षेत्रमा कृषि पर्यटकका लागि अध्ययन अनुसन्धानका लागि उचित क्षेत्र भएपनि प्रचारप्रसारको कमीले अझै पर्यटक आकर्षित हुन सकेका छैनन् ।
पर्यटकीय गन्तव्यस्थल दोभान क्षेत्रलाई पूर्वाधारको निर्माण गरी पर्यटक भित्र्याउने अभियानका साथ अघि बढ्न सकेमा दोभान गाविस नेपालकै नमुना बन्न सक्नेछ ।
दोभानलाई नेपालकै नमुना क्षेत्र बनाउने अभियानमा स्थानीय युवा पुस्ताको अग्रसरताको खाँचो भने रहेको देखिन्छ । – कृष्ण दर्नाल/रासस

प्रतिक्रियाहरु