परेवाको खोजीमा प्रहरी !

२०७४ चैत्र २३ गते, शुक्रबार

काठमाडौं, २३ चैत । भारतको छत्तीसगढ राज्यको प्रहरीले १२० परेवाको खोजी गरिरहेको छ । प्रहरीले निकै चासोका साथ परेवा खोजी कार्यलाई तीव्र तुल्याएको छ । समाचार एजेन्सीहरुका अनुसार ती परेवा सामान्य परेवाजस्ता होइनन् । ती परेवा दुर्ग जिल्लाको कसारिडीह क्षेत्रमा बस्दै आएका रथिन्द्रनाथ मायतीले पाल्दै आएका विशेष दक्षताका परेवा हुन् ।
मायतीले परेवा पाल्दै आएका छन् । उनले विभिन्न प्रतियोगितामा आफ्ना परेवालाई सामेल गराउँदै आएका थिए । विभिन्न नश्लका परेवा पाल्दै आएका उनले आफ्ना परेवालाई अनेक प्रतियोगितामा ‘च्याम्पियन’ बनाएका थिए ।
तिनैमध्ये हालै १२० परेवा चोरी भएको हो । मायतीका अनुसार चोरिएका परेवामध्ये कयौंले राष्ट्रियस्तरमा कयौं पदक जितिसकेका छन् । उनले भने, ‘मंगलबार मेरो तीनतले घरको माथिल्लो तलाबाट परेवा चोरी भएको छ, म त बर्बाद नै भएँ ।’
उनले परेवा चोरीको उजुरी प्रहरीमा गरेका छन् । प्रहरीले निकै चासोका साथ अनुसन्धान तथा खोजी कार्य सुरु गरेको छ ।
यसै वर्षको मे र जुन महिनामा परेवा उडान प्रतियोगिता हुँदैछ । मायतीका अनुसार कसैले नियोजित रुपमा ती परेवा चोरी गरेको हुन सक्छ । ‘प्रतियोगितामा मेरा परेवा सहभागी हुन नपाउन् भनेर कसैले चोरेको हुनसक्छ,’ उनले भने, ‘किनकी मेरा परेवा धेरैपटक च्याम्पियन भएका छन् र फेरि पनि च्याम्पियन हुने दक्षता राख्छन् ।’ खुला आकाश पाउनासाथ ती परेवा फर्केर आउने उनको विश्वास छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु