पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

२०७३ फाल्गुन ११ गते, बुधबार

काठमाडौं, ११ फागुन । नेपाल पत्रकार महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले आज विहान देखि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशनमा बसेका छन । महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै उनीहरुले आमरण अनशन सुरु गरेका हुन् । पछिल्ला दिनहरुमा पत्रकार महासंघमा चरम राजनीतिकरण बढेको र सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दी गरी कार्यालयकै परिसरमा अनसन सुरु गरेको बताए ।
उनीहरुले राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् । विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाहीको माग गरिएको छ । लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि अनसनकारीले माग गरेका छन् ।
यसअघि पनि नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरी तीनदिन पछि सहमतिमा खुलाइएको थियो । यता महासंघका इलाम, ताप्लेजुङ, दोलखा लगायतका जिल्लामा अझै तालाबन्दी कायमै छ । इलाममा भने समानान्तर समिति नै बनिसकेको छ ।

प्रतिक्रियाहरु