पत्रकारिता : व्यापारीकरणको समस्या – सिर्जना तिम्सिना

२०७६ भाद्र १ गते, आईतवार

फ्रान्सका बादशाह नेपोलियन बोनापार्टले भनेका थिए “चार हजार बन्दुकभन्दा एउटा कलम शक्तिशाली हुन्छ ।” त्यसैगरी जर्मन तानाशाह हिटलरका सञ्चार मन्त्री ग्वेबल्सले एउटा झुट्टो कुरा सय पटक प्रचार गर्दा सत्य सावित हुन्छ भन्ने मान्यता राख्दथे । उल्लेखित भनाइहरुले सञ्चार र प्रचारको कति महत्व छ भन्ने कुरा स्पष्ट हुन्छ । संसारमा मानव सभ्यताको विकाससँगै सञ्चारका विभिन्न माध्यमहरु प्रयोगमा आए । सयौं वर्ष अघिदेखि छापा हुँदै रेडियो टेलिभिजन र पछिल्लो समय सन १९८० को दशकदेखि इन्टरनेटको विकासले सञ्चारको आवश्यकता र महत्व यति बढेको छ कि यसको प्रयोगविना संसार चल्न नसक्ने अवस्थामा पुगेको छ । शुरुशुरुतिर शासक बर्गहरुले आपूmले गरेका काम कारबाही प्रचार–प्रसार गर्न यसको शुरुवात गरेको देखिए पनि आज ससारमा क्रान्ति, युद्ध, आन्दोलन र मानवीय सचेतनाका लागि सञ्चार माध्यमहरु सबैभन्दा प्रभावकारी साधनको रुपमा विकास भएको छ । र, यस क्षेत्रमा ठूलो मात्रामा विश्वव्यापी लगानी पनि छ । जो जसरी यसको भूमिका बिस्तार हुँदै गयो समाजलाई बदल्ने महत्वपूर्ण भूमिकामा आयो, त्यसैगरी यस भित्र विभिन्न विकृतिहरु बढ्न थाले । खासगरी अहिलेका ठूला मिडियाहरुले जनताको अधिकार र सूचनाभन्दा बढी मुनाफातर्फ जोड दिएको देखिन्छ । जुन कुरा भविष्यका लागि निकै ठूलो चूनौती बन्ने निश्चित छ । आज जुनै पनि शक्तिले आफ्नो हित अनुकुल प्रचार–प्रसार गर्न ठूला मिडियामा प्रशस्त लगानी गरिरहेका छन् ।
पत्रकारिता आमनागरिकको आवाजको माध्यम हो र यसले आवाजविहीनहरुको आवाज बोक्छ भनिन्छ । सँगै अर्कोतर्फ राज्यको नीति निर्माण तहमाथि निगरानी गर्छ र खबरदारी गर्छ । अझ प्रष्टसँग भन्दा नागरिकका दबिएका आवाजलाई बाहिर ल्याउने, नागरिकलाई बलियो बनाउने, खराबीहरु औल्याउँदै शक्तिको मनपरि रोक्ने र सही मार्गदर्शन गर्ने कार्य पनि गर्छ । त्यसैका कारण पनि पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा व्याख्या गरिन्छ । राज्यका तीन प्रभावशाली अंग (व्यावस्थापिका, कार्यपालिका र न्यायपालिका) माथि निगरानी राखी, त्यहाँ जनताको आवाज पु¥याउने, शक्तिको दुरुपयोग गरेर देश र जनतामाथि अन्याय गरिरहेको छ कि छैन भन्नेबारे निगरानी गर्ने र जनतालाई उनीहरुको अधिकारको बारेमा जागरुप गराउने भूमिका पत्रकारिताले निर्वाह गरेको हुन्छ । जुन देशमा प्रेस बलियो हुन्छ, जनता बलिया हुन्छन् त्यहाँ राज्यको मनपरि चल्दैन । सरकार वा राज्य जिम्मेवार जवाफदेही बन्छ । त्यसैको विपरीत प्रेस स्वतन्त्रता नभए वाक् स्वतन्त्रतासमेत नरहने स्थिति रहन्छ । प्रेस स्वतन्त्रताको अर्को अर्थ भनेको अभिव्यक्तिको स्वतन्त्रता हो । नागरिकले आपूmलाई लागेको कुरा निर्धक्क साथ व्यक्त गर्न पाएका छन् कि छैनन् ? बोल्न पाउने वातावारण छ कि छैन भन्ने कुराले ठूलो अर्थ राख्छ र मिडियाले यसबारेमा नागरिकको तर्फबाट आवाज उठाउन पर्छ । किनकि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नहुनु भनेको त्यो राष्ट्र निरंकुश र अधिनायकवादी हुन जान्छ । तानाशाहका लागि मात्रै यो व्यवस्था उचित हुन्छ । किनकि, अधिनायकवादी राष्ट्रमा खुला प्रेसको व्यवस्था रहँदैन ।
बदलिदै गएको पत्रकारिता
जसरी समाजका अनेकौँ संरचना र मानवीयशैलीहरु बद्लिदै गइरहेका छन् । त्यसैगरी अहिले बद्लिँदो समयजस्तै गरी पत्रकारिता पनि बद्लिदै गएको छ । योसँगै पत्रकारीबारे फरक–फरक कोणबाट बहस, र विश्लेषण सुरु भएका छन् । कतिपयले पत्रकारितालाई व्यवसायिकतातर्फ जोडेर हेर्छन् भने कतिले पत्रकारिता मूल उद्देश्यबाट विमुख छ, आजकालको पत्रकारिताको कुनै मिसन छैन भन्ने गर्छन् । तर, अहिलेको अहम् प्रश्न भनेको पत्रकारिताले के पढाइरहेको छ ? कसको आवाज बोलिरहेको छ ? भन्ने हो । हामी कसका लागि पत्रकारिता गरिरहेका छौँ ? भन्ने एक पटक नियाल्नु जरुरी भइसकेको छ । पत्रकारिताको दायरा फराकिलो हुँदै गएको छ । दुनियाँ ग्लोबल भिलेजमा रूपान्तरण भएको छ । समाचारमा मानिसको पहुँच बृहत्तर बन्दै गएको छ । समाचार सम्प्रेषणकोे गतिमा अभूतपूर्व रफ्तार बढेको छ, जसको परिणाम दुनियाँभरको समाचार हाम्रोे मुठ्ठीमा छ । जति रफ्तारमा मिडियाको पहुँच र बिस्तार बढी रहेको छ त्यति नै बढी मिडियामा व्यापार हावी भएको छ । व्यापारिक स्वार्थहरु हावी भएका छन् । हरेक राष्ट्रियदेखि स्थानीयस्तरका पत्रपत्रिका, रेडियो, टेलिभिजनमा प्रसारण भइरहेका विषयवस्तुहरुमा व्यापारिक गन्ध आउँछ । यतिसम्म कि समाचार मिडियाको मुटु मानिन्छ, त्यसमा समेत व्यापारिक स्वार्थ र निश्चित शक्ति नै हावी भएको पाइन्छ ।
एकातर्फ सानो लगानीका मिडियालाई गन्तीमा नै नराख्ने र ठूला मिडियाको हालिमुहाली र हस्तक्षेपसमेत नागरिकको हितमा नभई व्यापारिक स्वार्थमा केन्द्रित भइदिँदा कालो धनलाई सेतो बनाउन मिडिया प्रयोग गरिएको छ भन्ने पछिल्ला बहसहरुलाई नकार्न सकिने स्थिति छैन । मिडिया मालिकका राजनीतिक, व्यापारिक तथा अन्य अदृश्य स्वार्थ पूरा गर्न र स्वार्थहरुको रक्षा गर्न मिडियाको प्रयोग र स्थापना भइरहेका छन् । सोही कारण मालिकको स्वार्थ अनुकुल मिडियामा सम्पादक चुनिन्छन् र प्रयोग गरिन्छ । सम्पादकले आफ्नो अधिकार क्षेत्रभित्र रहेर जिम्मेवारी पूरा गर्न सक्ने अवस्था छैन । मालिकको स्वार्थमा नै आफ्ना कन्टेन तयार गर्न सम्पादक बाध्य छ । अझ कर्पोरेट मिडिया हाउसहरुमा मालिकका स्वार्थ पूरा गर्न राजनीतिकदेखि व्यापारिक सम्बन्धहरु जोडेर फाइदा बढाउन सक्नेहरु मात्रै टिक्ने गरेका छन् । यसको कारण नै मिडियामा भएको लगानी हो । पत्रकारिता व्यवसायको रूपमा लाखौं करोडांैको व्यापार गरिरहेको छ, ठूलाठूला कर्पोरेट हाउस समाचारमा नाफा र घाटाको व्यापार गरिरहेका छन् । न्युजरुमभित्रका एजेण्डा लगानीकर्ताहरुले सेट गर्ने गरेका छन् । यही कारण पत्रकारिताको परिभाषासमेत बद्लिदिएका छन् । नागरिकका आवाज बोल्नुभन्दा बलियाको गुनगान गाएर आपूmलाई टिकाउने र व्यापार फस्टाउने, नाफा कमाउने होडबाजीमा आजका मिडिया मालिकहरु लागेका छन् । बिदेशी लगानी सूक्ष्म रुपमा भित्रिरहेको छ । कर्पोरेट व्यापारिक घराना र खुफिया संस्थाहरुको लगानी मिडियामा बढाइरहेका छन् ।
नेपालको इतिहासलाई पनि हेर्ने हो भने राज्य अनुदार भएको उदाहरण थुप्रै पाउँछौ । प्रेसमाथिको हस्तक्षेप राज्यपक्षले नै गरेको छ । आफ्नो स्वार्थ पूरा गर्ने आमनागरिकको नै अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको छ । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि २०५९ देखि २०६२÷६३ सालको अवधि जसरी राज्य निरंकुश बन्यो, त्यतिबेला प्रेसमाथि राज्य उत्रेको थियो । किनकि, प्रेस निरंकुश सत्ताका लागि बाधक पनि हो । त्यसकारण, अहिले प्रेस नागरिक स्वतन्त्रता कायम गर्ने माध्यम मात्रै नबनेर हजारौंलाई रोजगारी दिन सक्ने उद्योग बनेको छ । यसले राष्ट्रनिर्माणमा अर्थतन्त्र बलियो बनाउनसमेत मद्दत पु¥याएको मान्न सकिन्छ । त्यसैले खुला आमसञ्चारबिनाको समाज÷राष्ट्रको परिकल्पनासम्म गर्न सकिँदैन भन्दा कुनै अत्युक्ति नहोला । तर, नागरिकको अधिकार रक्षा नगर्ने र शक्ति र व्यापारिक लाभलाई केन्द्रमा राख्ने मिडिया वास्तवमा मिडिया हुन सक्दैनन् । किनकि प्रेसको पहिलो स्वतन्त्रता व्यापार होइन । पत्रकारिताको व्यावसायिक उद्यमभन्दा छुट्टै छ । यदि मिडिया व्यापारिक कमाउधन्दा भयो भने त्यसमा हुने श्रम अभ्यास नै निकै कमजो बन्छ । पत्रकारितामा एउटा प्रचलित भनाइ छ, ‘सरकारबिनाको राज्यको कल्पना गर्न सकिन्छ तर पत्रकारिताबिनाको राज्यको कल्पना गर्न सकिन्न ।’ कुनै पनि समाज र मुलुकमा पत्रकारिता कति अपरिहार्य छ भन्ने दर्साउन यति एउटा भनाइ काफी छ । सूचना, सञ्चार र प्रविधिको विकासले उच्चकोटीका महलदेखि साँझ–बिहान छाक टार्न मुस्किल पर्ने कुटीसम्म टेलिभिजन र मोबाइलको प्रयोग बढ्दै गएका छन् । २०६२÷६३ सालमा लोकतन्त्र प्राप्तिसँगै सामाजिक, आर्थिक, प्राविधिकलगायतका क्षेत्रमा परिवर्तनका ठूला अपेक्षा रहे । अपेक्षाअनुसार नै सूचना, सञ्चार र प्रविधिका क्षेत्रमा छोटो समयमा धेरै उपलब्धि हासिल भएको देखिन्छ ।
ब्यापारीकरणले समस्या ल्याउदै छ मिडियामा
विश्वव्यापी बजारीकरणले उपभोग्य बस्तुहरुको विज्ञापन फष्टाएको छ मिडियामा । एकजना विश्लेषकले विज्ञापनले सत्यलाई टाढा पु¥याउने र भ्रमलाई नजिक ल्याउँछ भनेका छन् । आज सुत्दा, उठ्दा, बस्दा हिँड्दा सबैतिर हामी विज्ञापनले घेरिएका छौं । बहुराष्ट्रिय बस्तुहरुको विज्ञापनको मुख्य लक्ष्य भनेको आफ्नो उत्पादन आम उपभोक्तासम्म सर्वोच्च रुपले स्थापित हुने भन्ने हो । यसले समाजमा कति हानी पु¥याइरहेको छ यो मिडियाले अब हेर्न छाड्यो, उसलाई यति मतलव छ कि कुन कम्पनीको विज्ञापन र समाचार राम्रो बनाउँदा कति कमाउन सकिन्छ भन्ने । यसले जनताको वा पछि पारिएका नागरिकको आवाजभन्दा बढी पैसावालाहरुको पछि मिडिया कुद्न थालेको देखिन्छ । यसले भविष्यमा आवाज बिहीनको आवाज हैन मिडिया पैसाको आवाज बन्दै जाने त होइन भन्ने प्रश्न उब्जेको छ । अर्कोतिर समाचार पनि किनबेच शुरु भएको छ । कुनै पनि कम्पनीको विज्ञप्ति जस्ताको तस्तै मोटो रकम लिएर छाप्ने, कुनै पनि कम्पनीको समाचार विज्ञापनकै रुपमा छाप्ने र असुल गर्ने संस्कार जो शुरु भएको छ यसले मिडियाको सन्तुलन, विश्वसनीयता र तथ्यगत रहनु पर्छ भन्ने मान्यता कुल्चदै गरेको भान हुन्छ । यसले बलात्कृत भन्दा बढी अर्धनग्न सुन्दरीको प्रचारमा बढी जोड गर्नेछ, तल्लो स्तरका नागरिकको आवाजभन्दा बढी ब्यापारी र सेलिब्रेटीको नाममा पैसावालाहरुको पक्षमा प्रचारमा रमाउने प्रवृति मौलाउने खतरा छ । ईराकमा अमेरीकाले आक्रमण गर्दा सन् २००३ मा अन्तराष्ट्रिय न्युज कर्पोरेसनका अध्यक्ष रुपर्ट मारडाकले अब अरबौ डलर कमाउने समय आएको भनेका थिए । त्यसै बर्ष अमेरिकी सेनासगै ईराक पुगेका सयौ पत्रकारहरुलाई सेनाको कमाण्डरले न्युज सम्पादन गरे पछि मात्रै प्रशारण वा प्रकाशन गराउन बाध्य पारिएको थियो भने अर्कोतिर अफ्गानिस्तानदेखि इराकसम्म युद्धमा सामेल सैनिक जवानलाई अस्लीलता बढी देखिने पत्रिका प्ले ब्वाई ठूलो संख्यामा वितरण गरिएको विवरण सार्वजनिक भएको थियो ।
आजको मिडिया शक्ति, पैसा र व्यापारको मात्रै पछि लागे भविष्यको मानव समाजको गतिशील रुपान्तरण र विकासमा निकै नकारात्मक असर पुग्न सक्छ । बेलैमा सचेत बनौं र मिडियालाई जनमैत्री बनाउनेतर्फ जोड गरौं ।
– लेखकः जनपत्रकार संगठन नेपालकी सचिव हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु