पञ्चासेमा स्वदेशी तथा विदेशी पर्यटक लोभिँदै

२०७३ बैशाख १६ गते, बिहीबार

काठमाडौ, १६ बैशाख । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको पञ्चासेले धेरै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कास्की, स्याङ्जा र पर्वतको त्रिवेणी पञ्चासे जैविक विविधताको थलो, विश्वकै लोपोन्मुख पशुपक्षीको बासस्थान आदि भएका कारण यसको आकर्षण दिनप्रतिदिन बढेको हो । पोखराकै पहिचान जोडिएको फेवातालको मुहान पनि पञ्चासे नै हो । समुद्री सतहबाट ८०० देखि दुई हजार ५१७ मिटरसम्म उचाइको यो लेक अनुपम पदयात्राको गन्तव्य पनि हो । फेवातालको मुहान हर्पन, रति, जरे, आँधी र सेती खोलाको उद्गमस्थल पञ्चासेबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश हिमाललगायतका हिमशृङ्खला देख्न सकिन्छ । पञ्चासे संरक्षित वन मूल परिषद्का अध्यक्ष गोपाल गुरुङका अनुसार पञ्चासेमा धार्मिक तथा पदयात्रा पर्यटनको आकर्षण बढेको छ । पछिल्लो समय युवापुस्ता यहाँ बढी घुम्न आउँछन् । पोखराबाट २८ किलोमिटरमा पर्ने पञ्चासे पदयात्रालाई उत्तम मानिन्छ । बाटोमा सञ्चालित समुदायमा आधारित होमस्टे, झञ्ज्याङ्देखि माथि डाँडासम्मको घनाजङ्गलले प्रकृतिप्रेमीलाई बढी आनन्दित तुल्याउँछ । यहाँ देशकै सर्वाधिक प्रकारका सुनाखरी (११३ थरी) पाइन्छ । संसारमा अन्यत्र नपाइने दुई प्रजातिका सुनाखरी पाइने यहाँ लालीगुराँस, खस्रु, चाँप, चन्दन जस्ता ६०० भन्दा बढी प्रजातिका वनस्पति र जडीबुटी पाइन्छन् । बाघ, भालु, मृगलगायत विभिन्न वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान र जीवजन्तुको क्रिडास्थल पनि हो यो । सिद्ध ऋषिमुनि तथा च्यवन ऋषिको तपोभूमि मानिने पञ्चासे मातापिता भक्त श्रवणकुमारको समाधिस्थल पनि हो ।
सूर्योदय र सूर्योस्तको मनमोहक दृश्य देखिने, सदियाँैदेखि बालाचतुर्दशी, माघेसङ्क्रान्ति, शिवरात्रि, फागू पूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने यो पर्यटकीयस्थल पोखरादेखि नजिकको आकर्षक पदयात्राको गन्तव्य मानिन्छ । यसको बृहत्तर र योजनाबद्ध विकासका लागि पञ्चासे ग्रामीण गुरुयोजना बनेको छ । वन विभागबाट यहाँ संरक्षित वन कार्यक्रम पनि लागू गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार