अखिल क्रान्तिकारीद्वारा स्ववियु निर्वाचन खारेज गर्ने चेतावनी

२०७६ माघ १६ गते, बिहीबार

काठमाडौं , १६ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कैलाली जिल्ला समितिले राष्ट्रघाती अमेरिकी “मिलेनियम च्यालेन्ज कर्पोरेसन” (एमसीसी) सम्झौता गरी देशलाई अमेरिकी प्रयोगशाला बनाउने होडबाजीमा दलालहरु तम्सिरहेको परिस्थितिमा हुने स्ववियु निर्वाचन विद्यार्थीहरुका अधिकारको ग्यारेन्टी नगर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा पनि गर्न नसक्ने र संगठनमाथि अघोषितरुपमा प्रतिबन्ध लगाएर गरिने स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको कुनै औचित्य नभएको भन्दै खारेज गर्न आह्वान गरेको छ । संगठनका कैलाली जिल्ला अध्यक्ष सुबास जोशीले बिहीबार विज्ञप्ति निकाली संगठनमाथि लगाइएको प्रतिबन्ध र विद्यार्थी नेताहरुमाथि थुपारिएका झुट्टा मुद्दा खारेजको माग गर्दै बन्दी नेताहरुलाई स–सम्मान रिहाई गरी समानुपातिक र समाबेसी सहितको नयाँ स्ववियु निर्माणकालागि संगठनलाई निर्वाध रुपमा स्ववियु निर्वाचनमा भाग लिने वातावरण बनाउन जिल्लाका सम्पुर्ण क्याम्पस प्रशासनलाई आवश्यक पहल गरदिन जोडदार माग गरेका छन् ।

जिल्ला अध्यक्ष सुबास जोशीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) स्थापनाकाल देखिनै राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजिविका र नेपालको समाजवादी शिक्षा प्रणालीका पक्षमा निरन्तर संघर्षमा छ । क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेता संगठनलाई बाइपास गरी केही बर्ष यता त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्दै सत्ता पक्षका वरिपरी घुम्ने र विद्यार्थी आन्दोलनलाई बिक्री गरी आफ्नो जीवन निर्वाह गर्ने विद्यार्थी संगठनलाई टीका लगाउदै नेता घोषणा गर्दै आएको छ । यश बर्ष पनि स्ववियु निर्वाचन घोषणा गरेको छ । यसै सन्दर्भमा हाम्रो संगठनले आफ्नो धारणा बिगतदेखि नै सम्बन्धित निकायसँग राख्दै आइरहेको छ । तर त्यसको वास्ता नगरी फेरी पनि विद्यार्थी आन्दोलन कमजोर बनाउने र परम्परावादी ढंगले निर्वाचन गर्ने चलखेल बढेको छ भने अर्को तर्फ नेपालको क्रान्तिकारी विद्यार्थीमाथि प्रतिबन्ध लगाउदै झुट्टा मुद्दा लगाउने, धरपकड गर्ने, अनावश्यक दुःख दिने र जेलहाल्ने षड्यन्त्र व्यापक रुपले बढिरहेको छ ।’

अध्यक्ष जोशीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘परिस्थितिको विस्लेसण गर्दा पञ्चायतले जसरी पार्टीहरुलाई प्रतिबन्ध लगाई बोल्न पाउने अधिकार समेत हनन गरी एकतन्त्रिय शासन संचालन गरेका थिए ठिक त्यतिबेला नै स्वतन्त्र विद्यार्थी युनियनको आवश्यकता महसुस भयो र क्रान्तिकारी विद्यार्थीहरुको भीषण संघर्ष र उच्च बलिदानबाट स्ववियु स्थापना भयो । यो गौरवपुर्ण इतिहास बोकेको संस्थाको फेरी आज पनि त्यतिनै आवश्यकता बढेर गएको छ । विद्यार्थीका अधिकार कुण्ठित हुँदै गएकाछन्, राष्ट्रियता थप संकटमा पर्दै गएको छ, भ्रष्टाचार, अनियमितताले सिमा नाघेको छ । युवाहरूलाई बिदेशमा बेची दलालहरु मोजमस्ती गरिरहेका छन् । हुँदा हुँदा त राष्ट्रघाती अमेरिकी “मिलेनियम च्यालेन्ज कर्पोरेसन” (एमसीसी) सम्झौता गर्दै देशलाई अमेरिकी प्रयोगशाला बनाउने होडबाजीमा दलालहरु तम्सिएका छन् । यस परिस्थितिमा हुने निर्वाचन न त विद्यार्थीका अधिकारको ग्यारेन्टी गर्न सक्छ न त राष्ट्रिय स्वाधीनताको रक्षा नै गर्न सक्छ । सक्छ त केबल दलालहरुले गरेका राष्ट्रघाती निर्णयको बचाउ गर्दै बालुवाटार वरिपरी घुम्ने र बुर्जुवा स्ववियु निर्वाचनलाई निरन्तरता दिई विद्यार्थी आन्दोलनलाई बालुवाटारमा विश्राम गर्न ।’

कैलाली जिल्ला अध्यक्ष जोशीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यसै क्रममा यस कैलाली जिल्लाका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा हाम्रो संगठनले स्ववियु सम्बन्धि संगठनको धारणा सहितको ज्ञापनपत्र यस अघिनै बुझाई सकेको छ । सो बारेमा आवश्यक पहल गरी हाम्रो संगठनमाथि लगाइएको प्रतिबन्ध र विद्यार्थी नेताहरुमाथि थुपारिएका झुट्टा मुद्दा खारेज गर्दै बन्दी नेताहरुलाई स–सम्मान रिहाई गरी समानुपातिक र समाबेसी सहितको नयाँ स्ववियु निर्माणकालागि आवश्यक पहल गरी हाम्रो संगठनलाई निर्वाध रुपमा स्ववियु निर्वाचनमा भाग लिने वातावरण बनाउन जिल्लाका सम्पुर्ण क्याम्पस प्रशासनलाई जोडदार माग गर्दछौं । अन्यथा यथास्थितिमा गरिने स्ववियु निर्वाचनलाई ससक्त खारेज गर्न हाम्रो संगठन सम्पुर्ण क्रान्तिकारी विद्यार्थीहरुलाई यसै प्रेस बिज्ञपतिमार्फत हार्दिक आह्वान गर्दछ ।’

प्रतिक्रियाहरु