न्यू जयलक्ष्मी गहनागृहलाई सुन तस्करीको आरोप

२०७२ माघ २३ गते, शनिबार

काठमाडौँ । काठमाडौँको न्यूरोडमा रहेको न्यू जयलक्ष्मी गहनागृहले सुनका गहना बन्धकी राखी मिटरवाला ब्याज असुली गरेको र सुन तस्करीमा समेत संलग्न भएको भन्दै हेलो सरकारमा उजुरी परेको स्रोतले बताएको छ । यस अघि पनि उक्त गहना गृहले नापतौल, गुणस्तर, ज्याला, जर्ती र सुन बन्धकी राखी ४० प्रतिशतसम्म ब्याज असुली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागलगायतको निकायमा उजुरी परेको थियो । यसरी आफ्नो गहनागृहले ठगी गरेको भन्दै विभिन्न सरकारी निकायमा उजुरी पर्न थालेपछि उक्त गहनागृहका मालिक विजयराज बराइली विभिन्न शक्तिकेन्द्रको ढोका ढकढक्याउन पुग्न थालेको स्रोतले बताएको छ । एक दशक अघिसम्म बराह ज्वलेरीमा सामान्य कामदारको रुपमा काम गर्ने बराइली अहिले करोडौँका मालिक बनेका छन् । उनको यो सबै सम्पत्ति राजस्व छलेर र मिटरवाला ब्याज, सुन तस्करीबाट जोडेको भन्दै छानबिन गरी कारवाही गर्न सम्बन्धित निकायहरुमा उजुरी परेपछि विजयराज बराइली आपूmविरुद्ध उजुरी गर्ने सबैलाई ठीक लगाइदिन्छु भनी बर्बराउने गरेको स्रोतले बताएको छ ।

यसै सम्बन्धमा नाम उल्लेख नगरिदिन भन्दै उक्त गहना गृहमा कारोबार गर्दै आएका एक ग्राहक भन्छन्– करिब १० वर्ष अगाडिसम्म बराहमा काम गर्ने विजयराज बराइलीलाई हामीले त्यहीदेखि चिनेका हौँ । पछि उनले सुन पसल खोले र आफ्नो पसलबाट कारोबार गर्न हामीलाई अनुरोध गरे, हामीले पनि पहिलेदेखि चिनेको विश्वासले कारोबार गर्न थाल्यौँ । तर, उसको नियत खोटो रहेछ । हामीलाई अप्ठ्यारो पर्दा सुनको गहना बन्धक राखी ऋण लिन्थ्यौँ । उसले चालिसदेखि पैतालिस प्रतिशतसम्म ब्याज लिन्थ्यो । छोटो समयको लागि हुँदा ब्याज पनि दिन्थ्यौँ । सुरुसुरुमा उनले ब्याज बढी लिए पनि इमानदारितापूर्वक गहना फिर्ता दिन्थ्यो । तर, पछिपछि हुँदै गएपछि सावाँभन्दा ब्याज बढी भयो भन्दै कैयौँ पटक गहना नै पचाइदिन्थ्यो । हामीले धेरै पटक सह्यौँ तर अब उनको ठगीले सीमा नाघेको हुनाले हामीले हामीजस्तै अरु नठगिउन् भनेर सम्बन्धित निकायमा उजुरी गरेका छौँ भन्दै भनी अगाडि भन्छन्– एक दशक अगाडिसम्म अर्काको पसलमा काम गरेर गुजारा चलाउने मान्छे आज अरबपति भएको छ । के यो सोझो काम गरेर सम्भव छ ? न्यूरोडको गहना पसल भएको घर उसले करिब दुई वर्ष अगाडि छ करोडमा खरिद ग¥यो । उसको गहनागृहको शाखा काठमाडौँको चावहिल र धरानमा पनि छ, त्यसबाट पनि व्यापक ठगी गरिरहेको छ । उसको यो ठगीले सीमा नाघेपछि हामी अख्तियार र राजस्व अनुसन्धान विभाग गुहार्न पुगेका हौँ । एउटै गहना, एउटै तौल र गुणस्तरमा पनि उसले मान्छेअनुसार भाउ गरेर ठग्ने गरेको छ । कानुनविपरीत सुन बन्धक राखेर ४० प्रतिशतभन्दा बढी ब्याज असुली गरिरहेको छ । के यो देशमा नियम, कानुन छैन, जसले जतिसक्यो, लुटे हुन्छ ? हो यही लुट रोकियोस् भनेर हामीले सम्बन्धित निकायमा निवेदन हालेका हौँ । यस विषयमा हामीले कुनै पूर्वाग्रह लिएर बोलेको होइन, सरकारी निकायलाई दुःख दिन निवेदन हालेका पनि होइन । सम्बन्धित निकायले उक्त गहनागृहमा छापा मारेर उसले हालसम्म बिक्री गरेका गहनाको बिलको प्रतिलिपिको गम्भीर ढङ्गले छानबिन, पसलमा भएका सुनका गहनाको गुणस्तर जाँच र उक्त गहनागृहले कानुनविपरीत बन्धकी राखेको सुनका गहनाको यथार्थता अध्ययन गरे सत्यतथ्य के हो ? आफैँ पुष्टि हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु