नेविसङ्घको महाधिवेशन असार पहिलो साता

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौँ, १९ वैशाख । नेपाली काँग्रेसको महत्वपूर्ण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवासँग आज नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले देउवा निवास बुढानीलकण्ठमा भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको बताए । सभासद पनि रहेका कर्णलाई बोलाएर सङ्घको महाधिवेशनको तयारीका बारेमा नेता देउवाले जानकारी लिएका हुन् । नेता देउवाले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले सङ्घको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिनुभएको भेटमा सहभागी सङ्घका नेता ऋषिकेशजङ्ग शाहले बताए ।
यसअघि पार्टीको पहिलो बैठकले महाधिवेशन हुन बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन छ महिनाभित्र गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् । अबको १० दिनभित्र सङ्घको केन्द्रीय समितिको बैठक गरी महाधिवेशनको मितिका बारेमा निश्चित गरिने कर्णले बताए । सभापति देउवाले आजै सङ्घ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी डा प्रकाशशरण महतलाई दिएका छन । यसअघि सो जिम्मेवारी तत्कालीन महामन्त्री प्रकाशमान सिंहले सम्हालेका थिए । पार्टीको महत्वपूर्ण भ्रातृ संस्था नेविसङ्घको महाधिवेशन नौ वर्षदेखि हुन नसक्दा पार्टीको युवा वर्गमा ठूलो असन्तोष बढेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु