नेवानि दिल्ली उडान सुरु गर्दै

२०७१ फाल्गुन ९ गते, शनिबार

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले यही फागुन १३ गतेदेखि नयाँ एयरबसबाट दिल्लीमा नियमित उडान सुरु गर्दै छ । गतमाघ ८ गते धुमधामसँग भित्राइएको एयरबस ‘ए३२०–२००’ जहाजको दिल्ली व्यवसायिक उडान गर्न लागेको हो । नेपाली यात्रुलाई ७ हजार ८४ रूपैयाँमा भारतको राजधानी नयाँदिल्ली उडाउने भएको छ । यो करसहित एकतर्फी प्रवद्र्धनात्मक भाडा दर हो । दुईतर्फी भाडदर भने करसहित १५ हजार १ सय ७७ रूपैयाँ तोकिएको छ ।
विदेशी यात्रुहरूका लागि भने निगमले प्रतियात्रु ८ हजार २ सय ३० रूपैयाँ तोकेको छ । निगमको दिल्ली उडानले यात्रुहरूलाई निकै राहत पुग्ने अपेक्षा गरेको गरिएको छ । निगमका अनुसार विहान ८ः०० बजे काठमाडौंबाट दिल्लीका लागि र १०ः४० बजे दिल्लीबाट काठमाडौंका लागि उडान हुनेछ ।
जहाज अभावका कारण निगमले दिल्ली उडान गर्न नसक्दा भारतीय एयरलाइन्सहरूले बजार कब्जा गरिरहेका थिए । निगमको उडानसँगै यात्रुहरूले चर्काे भाडा तिरेर काठमाडौं–दिल्ली उडान गर्नुपर्ने बाध्यताबाट मुक्त हुने भएका छन् ।
निगमले दिल्लीमा प्रत्येक सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने बताएको छ । १५८ सिट क्षमता भएको एयरबसमा १५० वटा इकोनोमी र ८ वटा बिजनेस सिट रहेका छन् । निगमले दिल्लीमा दैनिक उडान गर्ने तयारी गरेको छ । अहिले एयरबसबाट आएका प्रशिक्षक पाइलटबाट सातामा पाँच उडान मात्र गर्न पाइने हुँदा निगमले दिल्लीमा सातामा चार उडान मात्र गर्न थालेको हो । अर्काे एयरबस आएपछि निगमले दिल्लीमा दैनिक दुई उडान गर्ने तयारीमा छ । हाल दुईवटा बोइङबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निगममा दुईवटा एयरबस थप भएसँगै चारवटा जहाज पुग्नेछन् ।
यसैवीच, निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखी काठमाडौं–क्वालालम्पुर उडानको एकतर्फी नयाँ भाडा (कर वाहेक) १४ हजार रूपैयाँ कायम गरेको जनाएको छ । बैंकक र हङकङगमा पनि एयरबसबाट सेवा सुरू गर्ने जानकारी दिँदै निगमले यसबाट उडानको नियमितता हुनुका साथै विश्वसनीयतासमेत बढ्ने अपेक्षा गरेको छ । अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको संख्या ४ पुगेपछि निगमले ९ वटा गन्तव्यमा सातामा ५० वटा उडान गर्ने बताएको छ । एयरबसको अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने प्रकृया सुरु भएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार