नेपाल–भारत मेडिकल एशोसियसनवीच ७ बुँदे सहमति

२०७२ जेष्ठ १३ गते, बुधबार

काठमाडौं, १३ जेठ । नेपाल मेडिकल एशोसियसन र ईण्डियन मेडिकल एशोसियसनले छिट्टै संयुक्त घुम्ती स्वास्थ्य शिविर (मोवाईल हेल्थ क्याम्प) सञ्चालन गर्ने घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै देशका मेडिकल एशोसियसनले भुकम्पका कारण अस्थायी बसोबासमा बसेका नेपालीहरु महामारीको जोखिममा पर्ने संभावना रहेको भन्दै चाँडोभन्दा चाँडो घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएको हो ।
भ्ुकम्प पीडितहरुको लागि औषधोपचारका लागि ईण्डियन मेडिकल एशोसियसनले करिव रु ४० लाखको सहयोग गरिसकेको समेत एशोसियसनका अध्यक्ष डा. मारथान्डा पिलाईले जानकारी दिए ।
उनले नेपालमा परेको विपत्तमा आफुहरु टुलुटुलु हेरेर मात्रै बस्न नसक्ने भएकाले जतिसक्दो चाँडो नेपाललाई चाहिएको सहयोग गर्न मेडिकल टिम समेत उक्त विपत्तकालिन समयमा यहाँ आएको बताए ।
आगामी दिनमा नेपालमा हुन सक्ने महामारी लगायतका रोगलाई मध्येनजर गर्दै विशेष स्वास्थ्य शिविरको बारेमा अहिले नै व्यवस्था गर्नुपर्ने उनको सुझाव रहेको छ । उनले भुकम्प पीडितहरुको लागि उद्देश्यले हार्ट केयर फाउण्डेशन अफ ईण्डिया, उद्योग डेभलपमेन्ट फाउण्डेशन न्यू दिल्ली र ईण्डियन मेडिकल एशोसियसनको संयुक्त पहलमा निःशुल्क स्वास्थ्य सेवा समेत प्रदान गरेको बताए ।
नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. अञ्जनी कुमार झाले भुकम्प पीडितहरुका लागि आफूहरुले यथाशिघ्र स्वास्थ्य सेवाको पहुँच पु¥याएको दाबी गरेका छन् । अध्यक्ष झाले भने,‘हामीले भुकम्प आउने बित्तिकै पीडितहरुका लागि तत्काल सेवा पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका थियौं, सँधै हामीमाथि हुने अविश्वास यसपटक विश्वासमा परिणत भएको छ ।’
झाले नेपालमा आएको महाभुकम्पबाट प्रभावित नेपालीहरुको उद्धारका लागि ईण्डियन मेडिकल एशोसियसनले औषधोपचारका लागि गरेको सहयोगको खुलेरै प्रशंसा गरेका छन् ।
उनले भुकम्पबाट नेपालीहरुमा परेको मानसिक समस्यालाई समाधान गर्न जापानको आम्दाले रु २५ लाख बराबरको मनो–सामाजिक परामर्श (साईको सोसियो ट्रिटमेन्ट) को लागि रकम सहयोग गरेको समेत जानकारी दिए ।
अध्यक्ष झाले नेपाल सरकारका जिम्मेवार पदाधिकारीहरुले प्राकृतिक प्रकोप तथा विपत्त व्यवस्थापनका नाममा विभिन्न गोष्ठी, सेमिनारमा भाग लिने गरेको र त्यसैको नाममा ठूलो धनराशिमा खर्च भएको उल्लेख गर्दै तर त्यसबाट शुन्य उपलब्धि भएको आरोप लगाए ।
उनले भुकम्पबाट प्रधानमन्त्री कार्यालयका साथै महत्वपूर्ण सरकारी कार्यालयहरुमा ठूलो क्षति भएको भन्दै अहिलेसम्मका योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव तथा विपत्त व्यवस्थापनको जिम्मेवारी लिएका पदाधिकारीहरुलाई तत्काल कारबाही गर्नुपर्ने माग गरे ।
कार्यक्रममा दुवै देशका मेडिकल एशोसियसनवीच भएको विभिन्न सात बुँदे सहमति समेत सार्वजनिक गरिएको छ । उक्त सहमतिमा रिलिफ क्याम्पमा बसेकाहरुका लागि औषधी तथा स्वास्थ्य विज्ञहरु उपलब्ध गराउने, मनशुनलाई ध्यानमा राखेर हुने सक्ने महामारीबाट बच्नका लागि विशेष रणनीति बनाउने र यदि महामारी उत्पन्न भए त्यसको लागि आई.एम.ए ले सबै खाले मेडिकल सहयोग गर्ने, बाढी–पहिरो उत्पन्न भए ्त्यसमा पनि सहयोग गर्ने लगायत छन् ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल मेडिकल एशोसियनका महासचिव मुक्तिराम श्रेष्ठ, ईण्डियन मेडिकल एशोसियसनका महासचिव डा. के.के. अग्रवाल र आई.एच.क्यू. अन्र्तगत विपत्त व्यवस्थापन केन्द्रका डा. चेतन पटेल लगायतले मनशुनपछि हुन सक्ने महामारीका बारेमा विशेष तयारीमा रहनुपर्नेवारे सुझाव दिएका थिए ।
आई.एच.क्यू का विपत्त व्यवस्थापन सेलका डा.पटेलले आफूले नेपालका भुकम्प पीडितहरुका लागि गरेको सहयोग खासगरी मोवाई मेडिकल ट्रिटमेन्टका बारेमा आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा दुवै मेडिकल एशोसियनले संयुक्त रुपमा नेपालस्थित् भारतीय राजदुत रञ्जित रेलाई समेत भेट गरेको र आगामी दिनमा दुतावाससँगको सहकार्यमा स्वास्थ्यसेवा सम्ब्न्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नेवारे जानकारी दिईएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु