नेपाल-भारत प्रबुद्ध समूहको बैठक सुरु

२०७४ फाल्गुन १२ गते, शनिबार

काठमाडौं, फागुन १२ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को सातौं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । हरेक तीन महिनामा बस्ने समूहको बैठक आज र भोलि दुई दिनसम्म चल्नेछ । नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धी पुनरावलोकन, दुई देशबीचको खुला सिमानाका समस्या तथा समाधान, दुई देशबीचको व्यापार, सांस्कृतिक विकासलगायतका विषयमा दुवै देशका सरकारलाई प्रतिवेदन बुझाउने गरी गठन भएको दुवै देशका विज्ञ सम्मिलित समूहको बैठकले यसअघिसम्मको छलफलबाट आएको निष्कर्षलाई प्रारम्भिक मस्यौदा बनाउने काम सुरु गर्ने छन् । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको बैठकमा दुवै देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत लगायत समग्र हितका विषयमा छलफल भइरहेको छ ।
यसअघि दुई देशबीच भएको पारवहन सन्धि र सन् १९५० को मैत्री सन्धीका विषयलाई समयानुकूल परिमार्जन गर्न दुवै देशका विज्ञ समूह तयार भएका थिए । समूहले छलफल गरी तयार गर्ने प्रतिवेदनलाई दुवै देशको सरकारले कार्यान्वयनमा लाने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा दुवै देशबीच विवादित विषयको समाधान गर्ने गरी विज्ञहरू सम्मिलित प्रबुद्ध समूह गठन गरिएको थियो । समूहको कार्यावधि दुई वर्ष तोकिएको छ । सन् २०१६ को जुलाईमा काठमाडौंमा आयोजित विदेशमन्त्रीस्तरीय संयुक्त बैठकबाट प्रबुद्ध समूह गठन गर्ने निर्णय भएको थियो । समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, परराष्ट्रविद् डा. राजन भट्टराई, संविधानविद् नीलाम्बर आचार्य र कानुनविद् सूर्यनाथ उपाध्याय सदस्य रहेका छन् । त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पी. लामा र भुवनचन्द्र उप्रेती सदस्य रहेका छन् । बैठकको निष्कर्षबारे भोलि पत्रकार सम्मेलन मार्फत जानकारी गराइने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु