‘नेपाल बन्द ऐतिहासिक रुपमा सफल ‘

२०७३ श्रावण १० गते, सोमबार

काठमाडाैँ, १० साउन । सर्लाहीकाे सागरनाथमा लामाे समयदेखि बासाेबास गरिरहेका सुकुम्बासीमाथि सरकारले गरेकाे दमन र उठिबासविरुद्ध नेकपा माअाेवादीले अाज नेपाल बन्दकाे अायाेजना गरेकाे थियो । राज्यद्धारा देशभरका विभिन्न ठाउँहरुमा गरिएको सुकुम्बासी बस्तीमाथीको हस्तक्षेप र दमनको विरुद्धमा संघर्ष गर्दै आईरहेको माओवादीले आज नेपाल बन्द गर्नु परेको बताएको छ । माअाेवादीले अायाेजना गरेकाे नेपाल बन्दकाे प्रभाव देशभर परेकाे थियो । बन्दका कारण बजार,उद्याेग, कलकारखाना, शैक्षिक संस्था लगायत सबै क्षेत्र ठप्प भएको थियो । देशैभरी लामाे तथा छाेटाे दुरीका सवारी साधन चल्न सकेका थिएनन । यसरी आफ्नो पार्टीले आव्हान गरेको बन्द अभुतपुर्व रुपमा सम्पन्न भएको माओबादीका प्रवक्ता प्रकाण्डले बताएका छन । उनले नेपाल बन्द देशव्यापीरुपमा सुकुमबासी जनताको सहभागिता सहित आम नेपाली जनताको समर्थन, सहयोग र सहभागितामा भव्य एवं ऐतिहासिक रुपमा सफल भएको भन्दै पार्टीको अपिलमा नेपाल बन्द कार्यक्रमलाई स्तरबाट सफल पार्ने महान नेपाली जनता एवं सुकुमबासी जनतालाई आफ्नो पार्टीले सगौरब क्रान्तिकारी अभिवादन सहित हार्दिक धन्यवाद ज्ञापन गरेको बताएका छन । साथै उनले नेपाल बन्दका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्तालाई आजै बेलुकी रिहाई गर्न जोडदार माग गरेका छन । अन्यथा त्यसबाट निस्किने स्थितिको जिम्मेवार राज्यको गृह–प्रशासन हुनु पर्ने चेतावनी समेत उनले दिएका छन ।
यस बिषयमा माओबादीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “हाम्रो पार्टीले गत असाढ २१ गते सर्लाहीको सागरनाथ सुकुमबासी बस्ती माथि ओली सरकारको गृह–प्रशासनले गरेको बर्बर दमन लगायत देशैभरी सुकुमबासी बस्तीमाथि गरेको हस्तक्षेपका विरुद्ध असाढ ३१ गते पत्रकार सम्मेलन गरी चरणवद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको कुरा सर्वविदितै छ । घोषित कार्यक्रमहरुको उच्च स्तरको कार्यक्रमको रुपमा आज श्रावण १० गते नेपाल बन्दको आयोजना गरिएको थियो । बन्द कार्यक्रम देशव्यापी सुकुमबासी जनताको सहभागिता सहित आम नेपाली जनताको समर्थन, सहयोग र सहभागितामा भव्य एवं ऐतिहासिक रुपमा सफल भयो । पार्टीको अपिलमा नेपाल बन्द कार्यक्रमलाई यो स्तरबाट सफल पार्ने महान नेपाली जनता एवं सुकुमबासी जनतालाई हाम्रो पार्टी सगौरब क्रान्तिकारी अभिवादन सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछ । बन्दमा पहलकदमी लिएर क्रियाशिल रहने पार्टीका नेता र कार्यक्रता पंतिलाई पार्टी केन्द्रीय कार्यालय बधाई ज्ञापन गर्दछ ।
झण्डै ५० लाख सुकुमबासी जनताको समस्यालाई राज्यले गंभिरताकासाथ लेओस र तिनको उचित व्यवस्थापन गरोस भन्ने पार्टीको धारणा रहेको छ । सुकुमबासी बस्ती माथिको राज्यको दमन आजका मितिबाट राज्यले तुरुन्त बन्द गरोस । दमनबाट सुकुमबासी जनताको भएको क्षितिको राज्यले तुरुन्तै क्षितिपूतिको व्यवस्था गरोस, अन्यथा पार्टी यो भन्दा उच्च कार्यक्रम सहित संघर्षमा जान बाध्य हुने कुरा समेत अवगत गराउन चाहान्छौं । पार्टी सुकुमबासी जनतालाई आफ्नो पूर्ण व्यवस्था नहुदा सम्म संगठित रुपमा आन्दोलनको निम्ति तयारी अवस्थामा रहन विशेष अपिल गर्दछ ।
नेपाल बन्दको तयारीको क्रममा काठमाण्डौंको शान्तिपूर्ण जुलुसमा प्रहरी हस्तक्षेप गरी ९ गते बेलुकी गिरप्तार गरिनु भएका हाम्रो पार्टी पोलिटब्यूरो सदस्यहरु क.असारे, क.ओम पुन, सम्पर्कमञ्चका सचिव क.राजु लगायत २५ जना, ललितपुर जिल्लामा बन्दको प्रचार गरिराखेका ३ जना कार्यक्रता र आज बन्दको क्रममा काठमाण्डौं जिल्लाबाट मजदुर नेता योगेन्द्र कुमाल सहित १४ जना, कालिकोटमा क.बिराट सहित ११ जना, बैतडीमा जिल्ला सेक्रेटरी क.बासुदेव सहित १० जना, बर्दियामा जिल्ला सेक्रेटरी क.देवकला सहित ११ जना, मोरङमा ११ जना, दाङ्गमा १२ जना, नवलपरासीमा १० जना, बुटवलमा ६ जना, तनहुँमा ७ जना, पोखरामा २ जना, स्याङजामा १ जना, चितवनमा १ जना गरी देशैभरी झण्डै डेढ सय नेता कार्यक्रता गिरप्तारीमा परेका छन । पार्टी यो गिरप्तारीको घोर भ्रत्सना गर्दछ । उहाँहरुको आजै बेलुकी रिहाको जोडदार माग गर्दछ, अन्यथा त्यसबाट निस्किने स्थितिको जिम्मेवार राज्यको गृह–प्रशासन हुनु पर्ने चेतावनी समेत दिन चाहान्छ । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु