नेपाल प्रवेशअगावै विदेशीको पूरा विवरण प्राप्त हुने प्रविधि भित्र्याइँदै

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौं, ९ भदौ । नेपालमा आउने यात्रु नेपाल प्रवेश गर्नुअघि नै उनीहरुको पृष्ठभूमिसहितको विवरण आउने ‘बृहत् यात्रु सूचना प्रणाली’ लागू गर्ने तयारी अध्यागमन विभागले गरेको छ । यो प्रणाली लागू भएसँगै यात्रुले हवाई टिकट बुकिङ हुनासाथ उसको विवरण अध्यागमनमा प्राप्त हुनेछ । यात्रुको पृष्ठभूमि, कालोसूचीमा रहे/नरहेकोजस्ता जानकारी अग्रिम प्राप्त हुँदा आपराधिक पृष्ठभूमिका व्यक्तिको आवागमनमा कडाइ हुने विभागका महानिर्देशक केदार न्यौपानले बताए । यो प्रणाली सफ्टवयेर प्रणालीमार्फत् सन्चालन हुने भएको र एकैपटक खरिद गर्नसमेत नपर्ने भएकाले राज्यलाई थप आर्थिक भारसमेत नपर्ने उनको भनाइ छ । न्यौपानेले भने–‘अहिले तत्काल यो सफ्टवयेर ल्याएर जडान गर्ने र सोबापत लाग्ने रकम निश्चित समयसम्म यात्रुको टिकटमा समावेश गरेर तिर्न सकिने भएकाले राज्यलाई थप आर्थिक भारसमेत नपर्ने गरी लागू गर्न प्रस्ताव गरेका छौं ।’ यो प्रणाली लागू भएसँगै आपराधिक पृष्ठभूमि र कालोसूचीमा रहेका व्यक्तिको विवरण सहजै प्राप्त हुने र उनीहरुलाई नेपाल आउने प्रवेशाज्ञा नदिने वा प्रवेश गरिसकेपछि पक्राउ गर्न सकिने विश्वास लिइएको छ । अहिले यात्रुको आवतजावतको विवरण कागजी प्रक्रियामा कार्डमार्फत् रहेकाले नयाँ प्रविधिको प्रयोगसँगै सबै यात्रुको विवरण अनलाइन सफ्टवेयरमा रहनेछ ।
आपराधिक पृष्ठभूमिका व्यक्ति नेपालमा पटक–पटक प्रवेश गर्ने तर सोसम्बन्धी जानकारी नेपाल सरकारलाई नहुँदा उनीहरु यहाँ आएर विभिन्न अवाञ्छित गतिविधिमा संलग्न हुने गरेका धेरै उदाहरण छन् ।
त्यसो त विभागले गत आर्थिक वर्ष अध्यागमन कानुन उल्लंघन गरी नेपालबाट निष्कासन गरिएका, सम्बन्धित मुलुक फर्काइएका र अरु निकायको अनुरोधमा आवागमन नियन्त्रणका लागि प्राप्त विवरण अध्यावधिक गर्ने र ट्रयाकिङ गर्ने कालोसूची प्रणालीसमेत जडान गर्ने काम गरिसकेको छ ।
विभागले आफ्ना सबै कार्यालयमा यात्रुको आवामगन र प्रस्थानको प्रत्यक्ष तस्वीर लिएर मौजुदा सफ्टवेयरमा राख्ने प्रणालीको पनि सुरुआत गर्ने तयारी गरेको छ । अहिले प्रवेशाज्ञा दिँदा विदेशीको विवरण र तस्वीर लिइएपनि नेपाली र निःशुल्क प्रवेशाज्ञामा आउने विदेशीको तस्वीर लिने गरिएको छैन । विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट जारी हुने प्रवेशाज्ञाका लागि अनलाइन माध्यमबाट दरखास्त दिन सकिने व्यवस्थाको अन्तिम तयारी गरिएको छ । विभागले अनलाइनमार्फत् प्रवेशाज्ञाका लागि आवेदन लिने गरेपनि नेपाली नियोगले भने अहिलेपनि पुरानै कागजी प्रक्रियाबाट आवेदन लिने गरेका छन् ।
दूतावासको यस्तो हालत देखेर आवेदन दिने विदेशी पर्यटकले खिसीटिउरीसमेत गर्ने गरेका छन् । धेरै रकमको आवश्यकता नपर्ने र तत्कालै लागू गर्न सकिने भएकाले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा यो काम छिट्टै गर्न सकिन्छ । यो प्रावधानका कारण विदेशस्थित नेपाली नियोगबाट जारी हुने प्रवेशाज्ञा छिटो, छरितो र अन्तर्राष्ट्रियस्तरको हुनेमात्र हैन, प्रवेशाज्ञा र राजस्वको विवरण दुरुस्त हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, नेपालको प्रवेशाज्ञालाई मेसिनले पढ्नसक्ने ‘एमआरपी’मा जारी गर्ने प्रणालीको विकास गर्ने कार्यक्रमलाईसमेत विभागले चालु आवको कार्यक्रममा समावेश गरेको छ । यो प्रणालीका लागि आवश्यक सबै प्रक्रिया र प्राविधिक तयारी पूरा भइसकेकाले सरकारले स्वीकृति दिनासाथ लागू गर्न सकिने महानिर्देशक न्यौपानेले जानकारी दिए । विभागले गत आव यात्रुको राहदानीमा रहेको विवरण सफ्टवयेरको माध्यमबाट नियन्त्रण गरेर भन्डारण गर्ने प्रविधि, सबै किसिमका प्रवेशाज्ञाका लागि अनलाइन प्रवेशाज्ञा प्रणाली, आगमन र प्रस्थान स्टिकर हटाइ छापको प्रयोगजस्ता सुधारात्मक कदम चालेको जनाएको छ । – किरण भट्टराई (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार