नेपाली सर्वे टोलीद्वारा पहिलो पटक सगरमाथाको उचाइ नाप

२०७६ जेष्ठ ८ गते, बुधबार

काठमाडौं, ८ जेठ । नेपालको सर्वे टोलीले पहिलो पटक विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाइ नापेको छ । आज बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको बताएको छ । नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए । नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली आजै फर्कने भएको छ । सगरमाथाको उचाइ कति भन्ने ५ महिनापछि मात्रै थाहा हुने ति अधिकारीले जानकारी दिए ।
सगरमाथाको उचाइ नाप्न नापी टोली गत चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो । यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो । उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो ।
अहिले विश्वभर भारतीय मापन नै आधिकारीक मानिएको छ । दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले आफैँ उचाइ नापोको हो । गएको महा–भुकम्पका बेला सगरमाथाको उचाई कम भएको भारतले पटकपटक दावा गर्दै आएको छ । सरकारी टोली सगरमाथा शिखरमा पुगेर उपकरण फिट गर्दैमा तत्कालै उचाइ पत्ता लाग्ने भने होइन । सबै प्रक्रिया टुंग्याएर डाटा प्रोसेसिङ गरि उचाइ निकाल्न अझै कम्तीमा ६ महिना लाग्ने महानिर्देशक जोशीले बताए । जमिनमा गर्ने सर्बेको काम अझै एक दुई महिना लाग्ने उनले बताए । तर सिजनकै बेला सगरमाथा आरोहण गर्नुपर्ने भएकाले शिखरको मापनको काम सकिएको हो ।
कतिपय ठाउँमा हेलिकोप्टरबाट सर्बे गर्नुपर्ने हुन्छ । अहिले विभिन्न ठाउँमा नापी विभागको टोलीले ग्राभिटी सर्बे र त्रिकोणमितीय प्रविधिको सर्बे पनि गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु