नेपाली महिला बन्धक बनाउने पक्राउ

२०७५ श्रावण ९ गते, बुधबार

काठमाण्डौ, ९ साउन । भारतको बनारसमा नेपाली महिला बन्धक बनाउने ५ जना भारतीय पक्राउ परेका छन् । बनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले बनारसस्थित नटकनिया दाइका जयसिंहको घरमा छापा मार्ने क्रममा दुई महिला र तीन पुरुष सहित पॉच जनालाई पक्राउ गरेको हो । प्रहरीले छापा मार्ने सूचना पाएपछि जयसिंहको घरमा राखिएका नेपाली महिलालाई भने दलालले दिल्ली पुर्‍याएको एसएसपी कुलकर्णीले बताए । सो घरमा १ सय ५० महिला रहेको भनिएपनि घरका मालिकले भने ८० जना मात्र नेपाली महिला रहेको प्रहरीलाई बयान दिएका थिए । सो स्थानबाट प्रहरीले ल्यापटप र मोबाइल लगायतका सामान बरामत गरेको छ ।
प्रहरीले अन्यत्र पठाइएका नेपाली महिलाको खोजीकार्य जारी राखेको बताएको बर्दियाबाट सहकर्मी कमल पन्थीले जनाएका छन् । करीब सय जना सुरक्षाकर्मीले राति एघार बजे देखि बिहान २ बजे सम्म खोजतलास गरेको थियो । प्रहरीले केही महत्वपुर्ण सूचना पाएका कारण ती महिलाको उद्दारका लागि सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ । उनीहरुका् कारबाहीका लागि दबाब दिन भारतस्थित नेपाली दूतावास दिल्लीका काउन्सलर एसएसपी पुरुषोत्तम क‘डेल, बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्का, प्रशासकीय अधिकृत अर्जुन सुवेदी, मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसी र बन्धक बनाई घर फर्केकी मधुवन नपाका दम्पत्ती पुगेका थिए । स्थानीय अधिकारकर्मी राजिव सिंह सहितको टोलीले एसएसपी कुलकर्णीलाई नेपाली महिलाको उद्दारका लागि पहल गर्न आग्रह गरेका थिए । शिवपुरका प्रहरी निरीक्षक विजय कुमारले महिला अन्यत्र स्थान्तरण भएको सूचना पाइसकेकाले उनीहरुलाई छिट्टै पक्राउ गरिने बताए ।
यसैबीच , अमेरिकाको ओक्लाहोमा रहेको एटोका शहरस्थित बड्डी ह्यान्डी मार्ट नामक पेट्रोल पम्प नजिकै गोरखाकी रचना श्रेष्ठमाथि स्थानीय समयअनुसार दिउँसो सवा १२ बजे अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ परेका छन्। श्रेष्ठमाथि अन्धाधुन्ध गोली प्रहार गर्ने १८ वर्षीय जिमुन टेज हिल नामक युवकलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले ती युवकलाई घटनामा प्रयोग भएको हतियारसहित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो। उनले के कारणले युवतीमाथि गोली प्रहार गरे भन्ने बारे खुलेको छैन्। उनी भर्खरै अपराधिक क्रियाकलापमा संलग्न हुन खोजेको प्रहरीले अनुमान गरेको छ। यसअघि उनका नाममा कुनै अपराधको रेकर्ड नभेटिएको प्रहरीले जनाएको छ। शरीरका विभिन्न भागमा ८ वटा गोली लागेकी श्रेष्ठको अवस्था गम्भिर रहेको पारिवारीक स्रोतले जनाएको छ। गम्भिर घाइते श्रेष्ठको अहिले स्थानीय सेन्ट फ्रान्सिस हस्पिटलमा उपचार भइरहेको छ। गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेकी उनको स्थानीय सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको अमेरिकाबाट पत्रकार गुणराज लुईटेलले जानकारी दिए । ८ मध्ये ४ गोली शरिरबाट निकालिएको र रचनाको अवस्था अत्यत्नै चिन्ताजनक रहेको श्रीमान् कपिल श्रेष्ठले बताए । डीभी परेर डेढ एक वर्ष अघि अमेरिका गएकी उनका साढे २ वर्षका छोरा छन् । ३ साताअघि पनि लुटेराले भर्जिनियामा रेशम बजगाईंको हत्या गरेको थियो ।

प्रतिक्रियाहरु