नेपाली मनोबिज्ञान दबाउने साम्राज्यवादी शिष्टाचार – भरत दाहाल

२०७६ बैशाख २१ गते, शनिबार

नेपाल कंगाल बनाउने लुटेराहरुको जयकार गर्नुहोस् र आफू उँट चराउन साउदी अरबतिर लाग्नुहोस् ! विदेशी योजनामा नेपालीहरुको रगत पिने आततायि शिकारीहरुलाई धुपबत्ति बाल्नुहोस् र आफूले १७ हजार कंकालका हड्डी हेरेर हाँस्नुहोस् ! वाईडबडी, निर्मला र बालुवाटारका धार्मिक कथा सुन्नुहोस् र कथाका रचनाकारहरुलाई कोटीकोटी प्रणाम गर्नुहोस् ! आफूले घरघडेरी बेचेर मलेसिया लाग्नुहोस् र उतैबाट अरबपति हात्तिछाप चप्पलेहरुको संघीयतावादको रसस्वादन गर्नुहोस् ! पराइले आमामाथि बलात्कार गर्दा थपडी बजाउने पराई मानसपुत्रहरुलाई जिन्दावाद भन्नुहोस् र मातृत्वभन्दा मालिक भक्ति श्रेष्ठ भएको उदाहरण देखाउनुहोस् !
साम्राज्यवादले लेखनदासहरु प्रयोग गरेर नेपालीहरुको मनोविज्ञानलाई दबाउन शिष्टाचार सिकाउन थालेको छ। अपराधवृत्तिमा परिणत भएको यथास्थितिका विरुद्धमा नबोल्न उपदेश सुनाउन थालेको छ। दलालहरुकोे आयू लम्ब्याउन साम्राज्यवादले प्रयोग गर्न थालेको शिष्टाचारको डण्डा नेपालीहरुको मष्तिष्कलाई निष्कृय बनाएर नेपाल मास्न तयार पारिएको डिजाईनको यौटा अंग हो। यसले भन्छ- नियमकानून सत्तामा बस्नेहरुका लागि होईन, सर्वसाधारणका लागि हो। यसले भन्छ- नैतिकता शासकहरुका लागि होईन, शासितहरुलाई मात्र हो। यसले भन्छ- शक्ति हुनेहरुका सबै अपराधहरु क्षम्य छन्। जो शक्तिहिन छ, त्यसको असन्तुष्टि सर्वथा अक्षम्य छ।
यो खरतानाक हतियार हो। यसले नेपालीहरुको चिन्तन प्रकृयालाई निष्कृय बनाउन खोजेको छ। यसले मानसिकतामा सून्यता खडा गर्न खोजेको छ। यसले नेपालीलाई भाग्यवादमा डुबाएर अपराधको साम्राज्य खडा गर्न खोजेको छ। नैतिकता, न्याय र कर्तव्यलाई एकपक्षिय रुपमा ब्याख्या गर्ने यो कुप्रवृति चरम प्रतिकृयावादी प्रवृति हो। प्रतिकृयावाद चरम रूपकाे स्वेच्छाचारीताको अवस्थामा रहेको यो समयमा हामीले बुझ्ने कुरा हो- अराजकतावादलाई अराजक कार्वाहीबाट मात्र अन्त्य गर्न सकिन्छ। जसले आक्रमणकारीको प्रतिकार गर्दैन, त्यो मारिन्छ। अपराधिहरुका विरुद्धमा आगो ओकल्नु पर्ने परिस्थिति हो यतिबेला। दुर्गन्धलाई जलाउन आगो नै बाल्नु पर्दछ।

प्रतिक्रियाहरु