नेपाली कागज उद्योग स्थापना

२०७५ कार्तिक १९ गते, सोमबार

काठमाडौं, १९ कात्तिक । सामुदायिक वन उपभोक्ता समूह र स्थानीय अगुवाको पहलमा म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा नेपाली कागज उद्योग स्थापना भएको छ । वनजंगलमा खेर गइरहेको अर्गेलीको लोता संकलन गरी नेपाली कागज उत्पादन, आयआर्जनको अवसर र रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो । २०६६ सालमा अदिभारामा स्थापना भएको सोले हब्स प्रालि बन्द भएपछि त्यहाँबाट कागज उत्पादन हुन सकेको थिएन भने अर्गेलीको लोतासमेत खेर गइरहेको थियो । बन्द भएको उद्योगको संरचनालाई नयाँ तरीकाले ब्यवस्थित गरेर अर्को उद्योग सञ्चालन गरिएको सञ्चालक मोतीराज गौतमले जानकारी दिए ।
यसअघि आठ लाख रुपैयाँ लगानी भएको उद्योगमा यसपटक थप चार लाख रुपैयाँ लगानी गरिएको छ । यहाँ उत्पादित कागज तनहुँको शुक्लागण्डकी हाते कागज उद्योगले खरिद गर्ने सम्झौता भएको छ । वन समूहका सदस्यहरुले जंगलमा संकलन गरेको लोता प्रतिकिलो एक सय रुपैयाँका दरले खरिद गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु