नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौं, ९ भदौ । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ । मुद्दा चलाइएको थाहा पाएपछि सुस्ताबासी त्रसित भएका छन् । नेपालीहरूलाई डर, त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्ताबासीको छ । सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेलापरेको थियो ।
सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएको छ । विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो । मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयबासीले बताएका छन् ।
सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याकाबारेमा उनले विहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई भुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ । गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेहरूविरुद्ध मुद्दा चलाइएको सुस्तेलीले बताएका छन् । १९ जनामध्ये समाजमा अगुवा देखिने युवा नै बढी रहेका छन् । क–कसलाई मुद्दा लगाइएको हो, त्योबारे भने स्थानीयबासीले बताउन चाहेनन् । रासस

प्रतिक्रियाहरु