‘ नेपालसँगको सम्बन्ध मोदीले बिगारे ‘

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाडौं, १३ साउन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हतास भएकै कारण धेरै गम्भीर विषयमा जथाभावी निर्णय गर्दै आएको आरोप लगाएका छन् । केजरीवालले बुधबार आफ्नो फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै मोदीमाथि गम्भीर आरोपसमेत लगाएका छन् । करिब १० मिनेट लामो भिडियो सन्देश केजरीवालले मोदी र उनको नेतृत्वमा रहेको केन्द्र सरकारको आलोचनामा केन्द्रीत गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘सदिऔंदेखि नेपालसँग भारतको सम्बन्ध सुमधुर रहँदै आएको थियो । तर अहिले नेपाल र भारतबीचको सम्बन्ध त्यति राम्रो हुन सकेको छैन ।’ नेपालसँग सम्बन्ध बिग्रनुमा पनि मोदीको हतास मानसिकता मुख्य कारण रहेको केजरीवालको ठहर छ । उनले आफ्नो नेतृत्वमा रहेको ‘आम आदमी पार्टी’को बढ्दो लोकप्रियताबाट मोदी अझ बढी हतास हुन थालेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘हामीविरुद्ध मोदीले दमनचक्र नै चलाएका छन् ।’
मोदीको यस्तो कार्यशैली भारतकै लागि खतरनाक हुँदै गएको उनको ठहर छ । उनले आम आदमी पार्टीका नेता–कार्यकर्ता असुरक्षित हुँदै गएको भन्दै आफ्नो हत्या हुन सक्ने आशंकासमेत सन्देशमार्फत व्यक्त गरेका छन् ।
सन्देशमा उनले भनेका छन्, ‘विगत केही दिनदेखि तपाईहरु देखिरहनु भएको छ, आम आदमी पार्टीविरुद्ध कसरी दमनचक्र चलाइएको छ, पार्टीलाई कुल्चिने प्रयास भइरहेको छ, हाम्रा करिब १० विधायकलाई गिरफ्तार गरिएको छ, २१ विधायकमाथि झुठा आरोप लगाएर उनीहरुको सदस्यता खोस्ने कोशिस भइरहेको छ ।’
मोदी निकै क्रोधमा रहेको जिकिर गर्दै उनले सन्देशमा भनेका छन्, ‘तार्किक कुरा उनी बुझ्दैनन्, दैनिक एक विधायकलाई गिरफ्तार गर्छन् ।’ – एजेन्सी

प्रतिक्रियाहरु