नेपालमा कृषि क्षेत्रको प्रमुख समस्या,युग प्रविधिको : शैली परम्परागत – रुपा कोइराला

२०७२ श्रावण ७ गते, बिहीबार

आजको युग प्रविधिको युग हो । संसारले प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको छ । कस्ता कस्ता असम्भव काम पनि प्रविधिका अगाडि सहज रुपमा सम्पन्न भएका छन् । तर, कृषिको क्षेत्रमा उही परम्परागत शैली नै चलिरहेको छ । मानिसहरु उही कुटो र कोदालो बोकेर खेतबारीमा धाइरहेका छन् । पहिलेजस्तै खेतको आलीमा आकाशतिर मुन्टो फर्काएर बर्षात्को आशमा बसिरहेका छन् । न त प्रविधिले समयमा पानी पारिदिन सकेको छ न त हलो र कोदालोको काममा मद्धत गर्न सकेको छ ।
विशेषतः कृषिप्रधान देश मानिएको नेपालमा कृषकहरुले प्रविधिको अनुभव गर्न पाएका छैनन् । भौगोलिक हिसाबले हेर्दा हिमाल र पहाडको बाहुल्यता रहेको नेपालमा ७० प्रतिशत जनता कृषिमा निर्भर छन् । तर परम्परागत कृषि प्रणालीका कारण कृषिको अवस्था उकालो लाग्न सकेको छैन । तराई क्षेत्रका यदाकदा स्थानमा खनजोतका लागि ट्याक्टर र सिँचाइका लागि जेनेरेटरको प्रयोग गरिने भएतापनि पर्याप्त भएको छैन । नेपालको लागि तराई अन्न भण्डार हो । तर तराईमा उब्जिएका सिमित खाद्यान्नले नेपालीहरुलाई पाल्न सकेको छैन । नेपालीहरु आयातित खाद्यान्नबाट नै पेट भरिरहेका छन् ।
नेपाली कृषकका लागि प्रविधिको मात्र हैन नियम र कानुनको पनि अपर्याप्तता छ । सरकारी तवरबाट नै कषिका नाममा सिमित सहयोग प्राप्त हुने गरेको छ । अरु त अरु कृषि क्षेत्रमा लगानी गर्नका लागि बैँकहरुबाट ऋण प्राप्त गर्नु समेत कठिन छ । किनकि ऋणदाताहरु कृषकलाई पत्याउँदैनन् । कृषिलाई व्यवसायिक रुपमा हेर्ने परिपार्टीको विकास नेपालमा हुन सकिरहेको छैन ।
यीनै समस्याका कारण युवाहरुको विदेश पलायनले बढावा पाइरहेको छ । उब्जाउ नै नहुने भूमीमा नंग्रा खियाउनुभन्दा त्यही खेत बेचेर विदेशी भूमीमा पसिना बगाउनुलाई भाग्य सम्झिन थालेका छन् नेपाली युवाहरु । किनकि नेपालमा कृषिलाई व्यवसाय मानिन्दैन । कृषिबाट आम्दानी हुने कुरा कसैले पत्याउँदैन । कृषकका लागि यहाँ कानून बन्दैनन् । कृषिमा लगानी गर्नुलाई पैसा खेर गएको ठानिन्छ । कृषि व्यवसायमा लागेको मानिसलाई बेरोजगारसरह मानिन्छ ।
केही सुधारका पक्ष
आजकाल केही सुधार भने आउन थालेको छ । जस्तो कि, पहाडी क्षेत्रमा पनि सम्भव हुने ठाउँहरुमा ट्याक्टरको प्रयोग गर्न थालिएको छ । विदेशबाट कृषिसम्बन्धि बटुलेको अनुभव संगालेर केही युवाहरु नेपालमा नै कृषि फार्म खोलेर आम्दानी गरिरहेको छन् । कुनै क्षेत्रहरुमा समूहगत रुपमा भाडामा जग्गा लिएर भएपनि माटोअनूकुलका फलफूल तरकारी तथा अन्नपातहरु उब्जाइरहेका छन् । सीटीभिटी अन्तर्गत कृषिलाई पनि एउटा विषयको रुपमा अध्यापन सुरु गरिएको छ । आफ्नो अधिकारका क्षेत्रमा कृषकहरु पनि एकजुट हुन थालेका छन् ।
यस वर्षको बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रको रुपान्तरण र आधुनिकिकरणका विभिन्न नयाँ कार्यक्रमहरु सार्वजनिक गरिएका छन् । सरकारले कृषि क्षेत्रका लागि २६ अर्ब ६४ करोड ३१ लाख ९३ हजार रकम विनियोजन गरेको छ । कृषि क्षेत्रलाई माथि उठाउन पुराना कार्यक्रमलाई निरनतरता दिँदै विभिन्न नयाँ र आकर्षक कार्यक्रमहरु सार्वजनिक गरेको छ । सबै कार्यक्रमहरु कार्यान्वयनमा आउन सके भने पक्कै पनि कृषि क्षेत्रमा नेपालको ठूलो फड्को हुने छ ।
त्यस्तै, कृषि विकास मन्त्रालयको मातहतमा रहेको कृषि सूचना व्यवस्थापन प्रणालीले हाम्रो कृषि नामक एप सञ्चालनमा ल्याउने तयारी गरिरहेको जसमार्फत किसानले मौसमको जानकारी, कृषि र प्रविधि, कृषि कार्यालय सम्पर्क नं., सफलताका कथा लगायतका जानकारी पाउनेछन् । यो एउटा खुसीको कुरा हो । कुन क्षेत्रमा कुन बाली लगाउँदा उत्तम हुन्छ, बालीमा कुन मात्रामा मल छर्ने, किराको संक्रमणबाट बालीलाई कसरी बचाउने लगायतका सन्देश उपलब्ध गराउने उद्देशयले यस एपको सञ्चालन गरिँदैछ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा कृषि व्यवसाय
भारत ः प्रविधिको क्षेत्रमा भारतले पनि ठूलो फड्को मारिसकेको छ । तर पनि कृषिको क्षेत्रमा भने पर्याप्त गति हासिल गर्न सकिरहेको छैन । केही विकासशील क्षेत्रबाहेक अरु क्षेत्रमा कृषिको अवस्था एकदमै नाजुक रहेको छ । कृषकहरु पीडित छन् । चालू आर्थि वर्षको जनवरीदेखि जूनसम्मको ६ मसहनाको अवधिमा महाराष्ट्रका १ हजार ३ सय कृषकले आत्महत्या गर्नुले यो कुरालाई थप पुष्टि गर्दछ । कृषकहरु ऋण नपाएर, बजार नपाएर र सरकारी सहयोग नपाएर यसरी आफ्नो ज्यान नै आहुती गर्न बाधय भएको अवस्था भारतमा छ ।
कृषकको आत्महत्याको तथ्यांक बढ्दै जान थालेपछि भारतीय सरकार बल्ल गम्भीर बनेको छ । आत्महत्याको बढ्दो अवस्थाबारे सोधिएको प्रश्नमा राज्यमन्त्री एकनाथ खाडसेले कृषकलाई राहत दिनका लागि प्रशस्त संख्यामा योजनाको कार्यान्वयन भइरहेको बताएका छन् । त्यउस्तै, डेरी र पोल्ट्री जस्ता क्षेत्रलाई रोजगारीको सिर्जनाको वैकल्पिक क्षेत्रमा जोड सरकारको इच्छा रहेको उनले बताए ।
चिन ः १० प्रतिशत भूभाग मात्र खेतीयोग्य भएको चिनले संसारका २० प्रतिशत जनसंख्याको लागि खाद्यान्न उतपादन गर्दछ । ३ सय मिलियन कृषकहरुलाई चिनको कृषि व्यवसायले रोजगारी प्रदान गरेको छ । विभिन्न किसिमका प्राविधिक औजारहरुको प्रयोगका कारण चिनको कृषि वयवसाय एकदमै सहज छ । यतिको उत्पादन क्षमता हुँदा हुँदै पनि चिनका किसानहरु बजारको अभावका कारण पिडित हुने गरेका छन् । बजारको स्थ्तिीको ज्ञान नहुनाले यहाँका किसानहरुले आफ्नो उतपादनका लागि ग्राहक नपाइरहेको अवस्था छ । चिनको बजारहरुलाई अन्तर्राष्ट्रिय पहुँचमा विस्तार गरि चिनिँया सरकारले कृषि क्षेत्रका लागि सराहनिय सहयोग गरेको छ जसले गर्दा कृषहरुलाई थप उर्जासहित काम गर्न प्रोत्साहन मिलेको छ ।
यद्यपि सबै मुलुकहरुमा यहि अवस्था भने छैन । कुनै मुलुकहरु कृषि उत्पादन, बजार र प्रविधिको क्षेत्रमा निकै अगाडि बढिसकेका छन् ।
इजरायल ः भू बनावटले साथ नदिए पनि आज इजरायल कृषि उतपादनको क्षेत्रमा संसारकै सर्वोत्कृष्ट स्थान ओगट्न सफल भएको छ । संसारभर कृषि प्रविधिको विकास गराउन सफल इजरायलको २० प्रतिशत भूभाग मात्रै कृषियोग्य रहेको छ । आधा भन्दा मरुभूमि बढी भूभाग रहेको इजरायललाई मौसम र पानीको अभावले सताइरहन्छ । इजरायलको कुल गार्हस्थ उत्पादनमा कृषिको २.५ प्रतिशत योगदान रहेको छ । ३.५ प्रतिशत जनसंखया मात्र लागेको कृषि क्षेत्रले इजरायलको ९५ प्रतिशत खाद्यान्न मागलाई पूरा गरेको छ । इजरायली सरकारले पनि कृषकहरुलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहन गरी उत्पादनलाई पर्याप्त बजार उपलब्ध गराएर सहयोग पुर्याइरहेको छ । इजरायलमा कृषि मन्त्रालयले खेतीपाती र पशुपालन क्षेत्रको गुणस्तरीयतामा राम्रो ध्यान दिँदै कृषि सम्बन्धि कार्यक्रमहरु बनाई कार्यान्वयन गर्ने, विभिन्न अध्ययन तथा अनुसन्धान गरि कमीकमजोरीलाई पूरा गर्ने जस्ता उल्लेखनीय काम गर्दै आएको छ ।
जापान ः जापानको ४५ प्रतिशत जनता कृषिमा निर्भर छन् । जापानमा विशेष गरि धान खेतीलाई बढी प्राथमिकता दिइन्छ । जापानको कृषिमा नेपाली युवाहरुले पनि रोजगारी पाएका छन् । जापानका कृषकहरु सिँचाईँको लागि आकाशे पानीको भर परेर बस्दैनन् । सिँचाईँ, बीउविजन, औषधी लगायतको राम्रो सुविधा भएका कारण जापानमा कृषि व्यवसाय आम्दानीको राम्रो स्रोतको रुपमा विकसित भइरहेको छ ।
यी सबै देशको अवस्थालाई हेर्दा कृषिलाई व्यवसायिक बनाउनको लागि सरकारको तर्फबाट कृषकलाई प्रोत्साहन गर्ने किसिमको कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ । त्यस्तै, कृषिको परम्परागत शैलीलाई त्यागेर प्राविधिक शैली अपनाउन सक्यो भने कयौँ बेरोजगारले रोजगारी पाउने कुरामा दुइमत नहोला । त्यस्तै, अरु पेशा तथा व्यवसाय जस्तै कृषिलाई पनि एक सम्माननीय व्यवसायको रुपमा स्वीकार गर्ने हो भने नेपालमा कृषि व्यवसायको राम्रो सम्भावना रहेको छ । त्यस्तै, सरकारले कृषकका लागि सहुलियत ऋण प्रदान गर्ने, कृषि क्षेत्रमा लगानी बढाउनको लागि विभिन्न कार्यक्रमहरु बनाउने जस्ता केही कदम चाल्नु जरुरी देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु