नेपालन्यूजको आन्दोलनप्रति क्रान्तिकारी पत्रकार संगठनको ऐक्यवद्धता

२०७१ माघ २ गते, शुक्रबार

काठमाडौं । पत्रकारहरुका समस्याबाट भाग्दै एकाएक बन्द गरिएको नेपालन्यूज डटकममा श्रमजीवीहरुले गरेको आन्दोलनप्रति क्रान्तिकारी पत्रकार संगठनले समर्थन जनाएको छ । अनलाईनको कार्यालय दरवारमार्गमा विहीबार संगठनका संयोजक प्रभात चलाउनेको नेतृत्वमा गएको संगठनको टोलीले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो ।
मर्कन्टाइल कम्युनिकेशनले संचालन गरेको उक्त अनलाईन व्यवस्थापन पक्षले केही दिन अघि मात्र एकाएक बन्द गरेको थियो । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका अनलाइनका संचालक सञ्जिव राजभण्डारीले कार्यरत पत्रकारहरुसँग जानकारी नै नगराइ अनलाइन बन्द गरेपछि त्यसका विरुद्ध पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् ।
विगत १७ वर्षदेखि सोही अनलाइनमा कार्यरत पत्रकारहरुले व्यवस्थापनले गरेको यो निर्णयले आफूहरुमाथि ठूलो अन्याय भएको बताएका छन् । उनीहरुले सबै पत्रकारहरुलाई उचित क्षतिपूर्ती दिनुपर्ने, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने र यदि चलाउनै नसक्ने गरी अनलाइन घाटामा गएको भए संचालनको जिम्मा आफूहरुलाई दिनुपर्ने माग गरेका छन् ।
१७ वर्षसम्म अनलाइनमा आफ्नो सारा जीवन लगाएका पत्रकारहरुलाई एकाएक बन्द गरेर हटाउने निर्णय कदापी मान्य नहुने उनीहरुको भनाई छ ।
उक्त अनलाइनमा हाल १८ जना पत्रकारहरु कार्यरत रहेका छन् । सन् १९९८ देखि सुरु भएको यो अनलाईन नेपालको पुराना अनलाइन मध्ये एक हो । तर, अहिले व्यवस्थापनले डोमेन नै बेच्नतर्फ लागेको बताइन्छ ।

उक्त अनलाइनको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै संयोजक चलाउनेले पत्रकारिता क्षेत्रलाई निकै कमजोर बनाउनतिर व्यवस्थापकहरु नै लागिपरेको बताए ।
मिडिया संचालकहरु सधै मोटाइरहने तर मिडियाकर्मीहरु भने पारिश्रमिक नै नपाउने अवस्था अन्त्य गर्नुपर्ने धारणा पनि उनले राखे । उनले पारिश्रमिक नै नदिएर मिडिया चलाउने कुरा नसोच्न आग्रह गर्दै मिडिया क्षेत्रमा कार्यरत जनशक्तिको उच्च पारिश्रमिक रहने अवस्था बनाएर यो पेशालाई उचो बनाउन मिडिया संचालकलाई उनले आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु