नेपालको राजनीति र दलहरुको चरित्र – मणि शाह

२०७१ चैत्र ४ गते, बुधबार

यतिवेला हाम्रो देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको छ । देश अनिर्णयको बन्दी बनेको जस्तो देखिन्छ । मूल्य मान्यता पद्दतीहरुको बर्खिलाप भएको छ । भ्रष्टाचार र अनियमितताले पराकाष्ठ नाघेको छ । बजारमा लुटको साम्राज्य फैलिएको छ । यसकै बिचमा हाम्रा राजनीतिक दल तथा शक्तिहरुले आआफ्नो वर्गीय चरित्रको असली अनुहार प्रदर्शन गरिरहेका छन् । यी राजनीतिक दल तथा शक्तिहरुमा विशेष गरी तीन किसिमको चरित्र रहेको देखिन्छ । ती हुन् ः (१) पश्चगामी चरित्र (२) ढुलमुले चरित्र र (३) अग्रगामी चरित्र ।
पश्चगामी चरित्रको राजनीतिमा बिशेषगरी आफ्नो गुमेको विगतप्रति मोह रहेको हुन्छ । यसमा वर्तमान बजारमा घट्दै गएको आफ्नो मूल्यप्रति चिन्ता र ग्लानी मिसिएको हुन्छ । आफ्नो प्रभुत्व, आधिपत्य पुनः प्राप्त गर्ने लालसा हुन्छ । आफ्ना मूल्य मान्यताको अतिक्रमण मुटुमाथि ढुङ्गा राखे झैँ भएको हुन्छ । परिवर्तित मूल्य मान्यता स्वीकार गर्नु जिरे खुर्सानी चपाए सरह हुन्छ । यस प्रकारको राजनीतिक चरित्र विगतदेखि नेै नेपाली राजनीतिमा रहेको पाइन्छ । २००७ सालमा राणाहरुले, २०१७ सालमा राजावादीहरुले, २०४७ सालमा राजावादीहरुले र त्यसपछि राप्रपा जस्ता राजावादी दलहरुले यस प्रकारको चरित्रको प्रतिनिधित्व गरेका थिए । त्यसैगरी २०६२÷६३ ताका राजावादीहरुले यसको प्रतिनिधित्व गरेका भने हाल यस चरित्रको प्रतिनिधित्व एमाले र काँग्रेस लगायतका दलहरुले गरिरहेका छन् ।
ढुलमुले चरित्र अवसरवादी खालको हुन्छ । ताक परे तिवारी नत्र गोतामे जस्तो । सारमा यसले यथास्थितिलाई रुचाउँछ । यसले जोखिम मोल्ने प्रयत्न गर्दैन । यसले आफूलाई कहिले अग्रगामी स्वरुपकमा देखाउँछ त कहिले पश्चगामी स्वरुपमा । मूलतः आफूलाई जता जाँदा फाइदा हुन्छ त्यतैतिर लहसिन्छ । यति हुँदा हँुदै राजनीतिक परिवर्तनमा भने यसले प्रभावकारी भूमिका खेल्छ । यो चरित्रले जसको समर्थन गर्छ संभवत त्यसको जित हुन्छ । यस प्रकाको राजनीतिक चरित्र पनि विगतदेखि नेै नेपाली राजनीतिमा रहेको पाइन्छ । २००७ सालमा राजाले र त्यसपछि काँगेसले , २०१७ सालमा डा.केशरजंग रायमाझी नेतृत्वको कम्युनिष्ट र काँगेसका केही नेताहरुले, २०४७ सालमा पञ्चायतका केही शक्ति र बहुदल भनाउँदा केही शक्तिले र त्यसपछि संसदवादी दलहरुले यस प्रकारको चरित्रको प्रतिनिधित्व गरेका थिए । त्यसैगरी २०६२÷६३ ताका राप्रपा लगायतका केही दलहरुले यसको प्रतिनिधित्व गरेका भने हाल यस चरित्रको प्रतिनिधित्व एमाओवादी, मधेशी सम्मिलित केही दलहरुले गरिरहेका छन् ।
अग्रगामी चरित्रको राजनीति जोखिमपूर्ण हुने गर्दछ । यो सुन्दर आशावादको आदर्शले ओतप्रोत भएको हुन्छ । शुरु शुरुमा नयाँ र जोखिम देखिने भएकाले धेरै जसोले नैतिक समर्थन जनाए पनि भौतिक समर्थन जनाएका हुँदैनन् । जव सङ्घर्ष विजयको नजिक नजिक पुग्छ, त्यतिबेला भने भौतिक समर्थनको बाढी नै आउँछ । यस प्रकाको राजनीतिक चरित्र पनि विगतदेखि नेै नेपाली राजनीतिमा रहेको पाइन्छ । २००७ सालमा काँग्रेसले र त्यसपछि डा. के.आइ. सिंहले, २०१७ सालमा काँग्रेस, कम्युिनस्टको केही समूहले, २०४७ सालमा काँग्रेस र बामपन्थी शक्तिले र त्यसपछि माओवादी शक्तिले यस प्रकारको चरित्रको प्रतिनिधित्व गरेका थिए । त्यसैगरी २०६२÷६३ ताका संसदवादी दलहरु र माओवादीले यसको प्रतिनिधित्व गरेका थिए भने हाल यस चरित्रको राजनैतिक प्रतिनिधित्व नेकपा माओवादीले गरिरहेको छ ।
नेपालको राजनैतिक परिवर्तनलाई हेर्दा माथि उल्लेख गरिएका तीन चरित्रहरुको सधै टकराव पर्ने गरेको देखिन्छ तर निश्चित मोडमा आएर कुनै दुई चरित्र बीच समिकरण हुने र अर्को चरित्रलाई पाखा लगाउने गरेको भने पाइन्छ । जस्तो ः २००७ सालमा काँग्रेस र राजाका बीच भएको समिकरणले राणालाई पाखा लगायो । २०१७ सालमा राजा र केही राष्ट्रवादी भनाउदा शक्तिको समिकरणले काँग्रेस र कम्युनिस्टहरुलाई पाखा लगायो । २०४७ सालमा काँग्रेस, कम्युनिस्टहरु र पञ्चायतबाट रुष्टको शक्तिले राजालाई किनारमा प¥यायो । त्यसपछि भने राजा र संसदवादीको शक्तिले माओवादीलाई पेलिरह्यो । २०६२÷६३ मा माओवादी र संसदवादीको समिकरणले राजालाई मृत बनाएको पाइन्छ ।
हाल आएर यस प्रकारको राजनीतिक चरित्रका तीनवटा शक्तिका बीच सङ्घर्ष टकराएको देखिन्छ । पश्चगामी राजनैतिक चरित्रको नेतृत्व के.पी. ओली र सुशील कोइरालले गरिरहेका छन् । ढुलमुले राजनीतिक चरित्रको नेतृत्व प्रचण्ड र विजय गच्छदारले गरिरहेका छन् भने अग्रगामी राजनैतिक चरित्रको नेतृत्व विप्लव र किरणले गरिरहेका छन् । यहाँनेर अग्रगामी र पश्चगामी चरित्रको नेतृत्व स्पष्ट भइसकेकाले ढुलमुले चरित्र संकटमा पर्दै गएको देखिन्छ तर कुन शक्तिलाई संस्थागत गर्ने भन्ने सन्दर्भमा भने ढुलमुले चरित्रकोे विशेष हात रहने स्पष्ट नै छ । ढुलमुले चरित्र अचम्मको विशेषता सहितको हुने भएकाले यसले कसलाई साथ दिन्छ भन्न सकिने स्थिति बनिसकेको छैन । यदि प्रचण्ड र गच्छदारहरुले केपी र सुशीलहरुलाई साथ दिएको खण्डमा पश्चामी प्रकारको यथास्थितिमूलक रीति मुलकका बस्ने छ । विप्लव र किरणहरुलाई साथ दिएको खण्डमा मुलुमा थोरै अस्थिरता र जोखिम बढ्ने तर चाडै मुलुकले अग्रगामी प्रकारको रीतिथिती पाउँने निश्चित भइसकेको छ । यो समय प्रचण्डका लागि परीक्षाको घडिजस्तै बनेको छ । उनले अग्रगामी पक्षसँग समिकरण गरेको खण्डमा आफूमाथि लागेका सारा कलङ्क पखाल्ने ठूलो अवसर पाउने छन् भने पश्चगामी पक्षसँग लगन गाँठो कसेको खण्डमा अझ कलङ्कित बन्ने छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु