नेतृ बन्धु चन्दलाई मातृशाेक, विप्लवद्वारा श्रद्वाञ्जली व्यक्त

२०७६ जेष्ठ १ गते, बुधबार

काठमाडौँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई मातृशोक परेको छ । चन्दकी आमा मनकुमारी शाहको यही वैशाख २७ गते उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो । उनी लामो समयदेखि खुट्टा भाँचिएर उपचाररत थिइन् । ने.क.पा. नेतृ चन्द भने प्रहरी हिरासतमै छिन् । उनीमाथि आगजनी र विष्फोटको कसुरमा अनुसन्धानका भन्दै रिहाईपछि पनि पटपकटक गिरफ्तार गरी विभिन्न जिल्ला घुमाइरहेका छन् । फागुन ११ गते गिरफ्तार उनी अछामबाट जिल्ला अदालतको आदेशमा फागुन २९ मा धरौटीमा रिहा भएलगत्तै पुनः गिरफ्तार भई बाँकेको कोहलपुर पुर्याइएकी थिइन् । त्यहाँ अगजनीको कसुरमा मुद्दा चलाइएको थियो । त्यहाँबाट उनलाई साधारण तारेखमा रिहा गरियो तर पुनः गिरफ्तार गरी बर्दिया पुर्याइयो ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मङ्गलबार पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका छन् । रोल्पाको सहिद स्मृति गाउँपालिका घोडागाउँ निवासी शाहको निधनले आफ्नो पार्टी मर्माहत भएको भन्दै महासचिव विप्लवले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु