नेकपा सरकारी आतंकबिरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रने

२०७५ बैशाख १२ गते, बुधबार

काठमाण्डौ, १२ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले सरकारी आतंकबिरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रने उदघोष गरेको छ । पार्टीले पूर्वी नेपालमा आफना राजनैतिक कार्यक्रमहरुमा हस्तक्षेप गरि सरकारले श्वेतआतङ्क सिर्जना गरेपछि उक्त उदघोष गरेको हो । उक्त पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीको पूर्वी कमान्ड अन्तर्गतका मेची, कोसी, सगरमाथा र जनकपुरमा सरकारले ज्यादती गरेको, सिन्धुली र विराटनगरमा प्रहरी अप्रेसन चलाई श्वेतआतङ्क सिर्जना गरेको बताएकाछन् । सरकारले श्वेतआतङ्क बन्द नगरे नेपाल बन्दसहित प्रतिरोध सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् । त्यसैगरी नेकपाका बरिष्ठ पोलीटब्यूरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज विरहीले पार्टीको देशभक्ति र जनतन्त्रको आन्दोलनबाट त्रसित भएर साम्राज्यवादको निर्देशनमा नागरिक र क्रान्तिकारी आन्दोलनका विरुद्ध सरकारले ज्यादती गरिरहेको बताएका छन् । प्रहरीले मेची अञ्चलमा मात्र १२ जनालाई गिरफ्तार गरेको छ भने २ जनालाई बेपत्ता पारेको नेता विरहीले बताए । चैत पाँच गते पाँचथर सदरमुकाम फिदिमबाट गिरफ्तार गरिएका विजय लिम्बू, पेक्बा शेर्पा, एलिया सुब्बा, भूपेन्द्र लिम्बू र कविराज लिम्बूलाई वैशाख १० गते रिहा गरेलगत्तै प्रहरीले पुन पक्राउ गरेको थियो । त्यसैगरी ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट वैशाख ४ गते गिरफ्तार गरिएका अभिषेक तामाङ र निमा शेर्पालाई सार्वजनिक मुद्दा लगाएर प्रहरीले हिरासतमा राखेको छ । त्यसैगरी चैत १५ गते इलाम सदरमुकामबाट गिरफ्तार गरिएका विशाल राई र लिम्बू राईलाई वैशाख १० गते रिहा हुनासाथ पुनः पक्राउ गरी बेपत्ता पारेको पारिवारिक स्रोतले जनाएको छ । यसैगरी लिम्बुवान जनप्रतिनिधिसभा अध्यक्ष दीपक लकान्द्री र कार्यकर्ता दीपक कुरुङवाङलाई चैत १५ गते गिरफ्तार गरी झापा सदरमुकाम चन्द्रगढीमा राखिएको नेकपा झापाका नेता तारा थापाले बताएका छन् ।
अहिलेसम्नेकपाको कोसी ब्युरोमा १९ जनाभन्दा बढी नेता÷कार्यकर्तालाई हिरासतमा राखेको कोसी ब्युरोले जनाएको छ जस अनुसार चैत ५ गते धनकुटा हिलेबजारबाट केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राई, धनकुटा इन्चार्ज माधव गौतम, सचिव नवराज भट्टराई, सङ्खुवासभा इन्चार्ज राजकुमार दमाल र पार्टीसचिव दिव्यराज बराल, तेह्रथुम सचिव कमला लिम्बू, लिम्बुवान स्वायत्त परिषद् अध्यक्ष दिपसन लिम्बूलाई चैत २९ गते रिहा गर्नासाथ पुनः पक्राउ गरी उदयपुर गाईघाट प्रहरी हिरासतमा बन्दी बनाएको छ । त्यसैगरी चैत ९ गते घरबाटै युवाहरू सुरज राई सुरेश राई, लक्ष्मण कार्की, मोहन कार्की, रोशन ढकाल र नन्दु थापालाई गिरफ्तार गरिएको र सुनसरी इनरुवा जिल्ला अदालतको आदेशमा रिहा भएपछि अदालतपरिसरबाटै पक्राउ गरी बेपत्ता गरिएको राष्ट्रिय मानवअधिकार आयोगको आपत्ति र नागरिक समाजको दबाबपछि ७ दिनपछि सार्वजनिक गरियो । उनीहरूलाई झापा चन्द्रगढी प्रहरी हिरासतमा राखिएको छ । त्यसैगरी पूर्वसभासद् तथा नेकपाका नेता बाबुलाल पासवानलाई एक महिनाको बीचमा ४ पटक गिरफ्तार गरिएको छ । चैत २९ गते पक्राउ गरिएका धर्मेन्द्र दासलाई झूट्टा मुद्दा तथा गैरराजनीतिक मुद्दामा फसाउन खोजिएको आरोप नेकपा मोरङले लगाएको छ । त्यसैगरी भगत माझी र मोरङको प्राइम केबल कारखानाका मजदुरहरू दीपचन हजारी, श्याम राजवंशी र शरण भगतलाई वैशाख २ गते गिरफ्तार गरिएको छ । उता वैशाख ९ गते विराटनगरबाट मोरङ सेक्रेटरी उदय राई (युगेन) र भीम लिम्बूलाई गिरफ्तार गरेको घटनाप्रति आपत्ति जनाउँदै अन्यथा कडा प्रतिवाद गर्ने चेतावनी इन्चार्ज पुष्करले दिएका छन् ।
सिन्धुली जिल्लाको मरिन इलाकामा प्रहरी अप्रेसन जारी रहेको छ । सिन्धुली इन्चार्ज प्रभातले विज्ञप्तिमार्फत प्रहरी ज्याददीको विरोध गरेका छन् । हरिहरपुरगढी नगरपालिका १ बाट कपिल लामा, वडा नम्बर ७ बाट चन्द्रबहादुर विक र बाबुलाल, वडा ६ बाट रहमान बमजनलाई सोमबार गिरफ्तार गरिएको छ । त्यसैगरी धनुषा निवासी नेकपा सर्लाही सेक्रेटरी राजन बस्नेत र अखिल क्रान्तिकारी सिन्धुली अध्यक्ष पूर्णबहादुर भुजेललाई वैशाख ७ गते गिरफ्तार गरेको छ । वैशाख ११ गते सर्लाही बागमती नगरपालिकाबाट मानबहादुर वाइबा, मोहन सहनी, हरिहरपुरगढी नगरपालिका ७ का ज्ञानबहादुर घिसिङलाई गिरफ्तार गरिएको छ । सिन्धुलीमा प्रहरीहरू सादा पोसाकमा घरघरमा गएर जनयुद्धकालको शैलीमा प्रतिरोध गर्नुप¥यो, सामान दिनुस्, बाँकी सामान अन्यत्र सार्नुप¥यो भन्दै घरघरमा पसेको खबर छ । हरिहरपुरगढी ७ कालीलेकमा मङ्गलबार प्रहरीले बुद्धिमान तामाङको घरबाट माक्र्सवादी साहित्यका पुस्तक लुटेर लगेको छ । सिन्धुलीमा वैशाख ८ गतेदेखि सशस्त्र र जनपद प्रहरीको संयुक्त अप्रेसन जारी छ । कोसी धरानस्थित सामुदायिक बन पाहुना विश्राम घरबाट शिक्षक सङ्गठनका नेताहरूलाई १० जनालाई पक्राउ गरी अझसम्म रिहा गरिएको छैन ।
सगरमाथामा पनि प्रहरी दमन तीव्र पारिएको छ । वैशाख ८ गते नेकपा सगरमाथा ब्युरोका इन्चार्ज दीपेशले विज्ञप्ति जारी गर्दै राज्यआतङ्कको विरोध गर्दै दमन र गिरफ्तारी नरोके प्रतिवाद गर्ने बताएका छन् । प्रदेशसभा निर्वाचनको समयमा गिरफ्तार गरिएका उदयपुर सेक्रेटरी हालसम्म उदयपुर कारागारमा पुर्पक्षका लागि थुनामा छन् । त्यसैगरी जनक श्रेष्ठ, पूर्ण तामाङ, कुमार मोते, शिक्षक युवराज कार्कीलाई विभिन्न समयमा गिरफ्तार गरी उदयपुर गार्इृघाटस्थित प्रहरी हिरासतमा राखिएको छ । त्यसैगरी सोलुखुम्बु इन्चार्ज मट्ठीकुमार राई र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विवेक राईलाई वैशाख ७ गते गिरफ्तार गरी सल्लेरीस्थित प्रहरी हिरासतमा राखिएको छ । त्यसैगरी नेकपा माकेका बलबहादुर मगरलाई चुनाव खारेजको मुद्दामा फसाएर उदयपुर जेलमा राखिएको छ । त्यसैगरी वैशाख ४ गते सुनसरी धरानबाट शिक्षक जीवन राईलाई पक्राउ गरी थुनामा राखिएको छ । सगरमाथा ब्युरोमा मात्रै ९ जनालाई प्रहरी हिरासतमा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु