नेकपा गण्डक ब्यूरोका आर्थिक विभाग प्रमुखसहित दुई जना पक्राउ

२०७४ मंसिर १ गते, शुक्रबार

काठमाडौं, ३० कार्तिक । कास्की प्रहरीले नेकपा गण्डक ब्यूरो सदस्य एवं आर्थिक बिभाग प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । हिरासतमा राखिएका नेकपा गण्डक ब्यूरो सदस्य एवं आर्थिक बिभाग प्रमुख गोरखा जिल्ला भिमसेन गाउँपालिका वडा नं. १ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं.८ जाल्पारोड डेरा गरि बस्ने वर्ष ३६ को कपिल भट्ट रहेका छन् । उनीसँगै नेकपा.कास्की सदस्य रुपन्देही जिल्ला घर भई हाल पोखरा लेखनाथ महानगरपालिका ८ बस्ने बुलेट भन्ने सन्जिब काकीलाई पनि प्रहरीले पक्राउ गरेको प्रदेश नं. ४ को कार्यालय पोखरास्थित समाचारकक्षले जनाएको छ । उनीहरुलाई पोखराको जाल्पारोडस्थित डेराकोठाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यसभनदा अघि कास्की प्रहरीले नेकपा कास्कीका पाँचजना जिल्ला सदस्यसहित करीब डेढदर्जन नेता तथा कार्यकर्ताहरुलाई पोखराका विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ । पक्राउ गरिएका नेकपा कास्कीका सदस्यहरुमा बिजय अधिकारी, सन्तोष परियार, राजु भुजेल, रामकाजी गुरुङ र काजी गुरुङ रहेका छन् । काजी गुरुङ अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पनि हुन् भने राजु भुजेल अखिल नेपाल क्रान्तिकारी भूमिहीन सुकुम्बासी संघका केन्द्रीय सचिव हुन् । त्यस्तै नेकपा कास्कीका साधारण सदस्यहरु सुनिल कुमाल, दिपक गुरुङ, सन्तोष लिम्बु, लेख गुरुङ, रविन्द्र थापा, रामबहादुर राई, सोबित मगर, सागर परियार, सोमनाथ अधिकारीलाई पनि कास्की प्रहरीले पक्राउ गरी हिरासतमा लिएको नेकपा गण्डक ब्यूरोले जानकारी दिएको छ ।
यसैबीच आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएकोमा आक्रोशित हुँदै नेकपा गण्डक ब्यूरोले आपत्ति प्रकट गरेको छ । नेकपाकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूरा “आस्था”ले एक प्रेस विज्ञप्ति प्रकाशित गरी आफ्नो नेता कार्यकर्ताहरु पक्राउ गरिएकोमा आपत्ति प्रकट गर्दै तत्काल रिहाइको माग गरेकी छिन् ।
नेपाल कम्यूनिष्ट पार्टी गण्डककी व्युरो प्रमुख सावित्रा दुरा आस्था द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा वर्तमान राज्यको गृह प्रशासनले कथित चुनाव सफल पार्ने नाउमा गण्डक ब्युरो अन्तरगतका कास्की,गोर्खा र लमजुङवाट पार्टीका नेता कार्यकर्तालाई विना कारण गिरफ्तार गरेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । उनले शान्तिपुर्ण विचार अभिव्यक्ति माथि नै रोक लगाउने गरि फासीवादि शैलीमा आफ्ना नेता तथा कार्यकर्तारुलाई पक्राउ गरिएको आरोप लगाएकी छिन् ।
“कथित लोकतन्त्रको नाममा संसदवादी दलालहरुले करौडोको पैसा खर्च गरेर ,गुण्डा प्रयोग गरेर जनताको धन र बलको आडमा त्रास देखाएर चुनाव प्रचार प्रसार गर्ने तर हाम्रो पार्टीले देश र जनताको हितमा आफ्नो विचार अभिव्यक्त गर्न समेत नपाउनु निन्दनिय कार्य हो।” उक्त विज्ञप्तिमा अघि भनिएको छ, ”हामी दलाल राज्यलाई यस प्रकारको फासिवादी दमन कार्य रोक्न र हाम्रा निर्दोश नेता कार्यकर्ताको तत्काल रिहा गर्न माग गर्दछौ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु