नेकपाविरुद्ध सुराकी गर्ने फन्दामा पर्ने

२०७६ भाद्र १ गते, आईतवार

काठमाडौं, १ भदौ । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु गिरफ्तार हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । राष्ट्र र जनहितलाई केन्द्रभागमा राखेर संघर्ष गर्दै आइरहेको उक्त पार्टीका नेता र कार्यकर्ता गिरफ्तार हुने क्रम बढ्न थालेपछि पार्टीले गम्भीर आत्मसमीक्षा गरेको बुझिएको छ । जसको उदाहरणस्वरुप पछिल्लो समय पार्टी केन्द्र र उसका विभिन्न जनवर्गीय संगठनहरुले जारी गरेको विज्ञप्तिमा पार्टीबाट निष्काशित, पलायन भएका र सुराकीहरुलाई समेट्ने गरिएको छ । यी सबै तत्थ्यबाट हेर्दा के देखिन्छ भने नेपाल कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन पार्टीबाट निष्काशित, पलायन भएका र सुराकीहरु कम्मर कसेर लागेका छन् । जनतामाझ रहेका नेता र कार्यकर्ता असुरक्षित हुन थालेपछि नेपाल कम्युनिस्ट पार्टीले पार्टीविरुद्ध गतिविधि गर्नेमाथि निगरानी बढाएको बुझिएको छ । यसै क्रममा अहिले नेपाल कम्युनिस्ट पार्टीका प्रायजसो जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले विज्ञप्ति नै जारी गरेर पार्टीविरुद्ध घात नगर्न र सुराकी तुरुन्त बन्द गर्न चेतावनी दिँदै विज्ञप्ति जारी गरिरहेका छन् । यसरी हेर्दा नेपाल कम्युनिस्ट पार्टी अहिले पार्टीविरुद्ध सुराकी गर्नेलाई त्यतिकै नछाड्ने मनस्थितिमा रहेको देखिन्छ । उसले पार्टीबाट निष्काशनमा परेन, भगौडा र सुराकी गर्नेले आर्थिक अभियानमा समेत घूसपैठ गर्न सक्ने भन्दै सचेत गराएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले अघिल्लो हप्ता जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख भएको थियो । यी सबै घटनाक्रम हेर्दा नेपाल कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन पार्टीबाट निष्काशनमा परेका, भगौडा र सुराकीहरु सक्रिय भएको पुष्टि हुन्छ । जसलाई रोक्न पार्टी केन्द्रदेखि सबै तह सक्रिय भएर लागिपरेको देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु