नेकपाद्वारा लघु वित्त संस्थाहरूलाई जनविरोधी काम नगर्न चेतावनी

२०७७ असार २४ गते, बुधबार

काठमाडौं , २४ असार । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले विभिन्न नामका लघु वित्त संस्थाहरूलाई जनतासँग चर्को ब्याज असुल्ने, विपन्न जनताको घरजग्गा कब्जा गर्नेलगायत जनविरोधी काम नगर्न चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी प्रसिद्धले प्रेस विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् ।

प्रसिद्धको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएयता आमश्रमिक जनता र न्यायप्रेमी जनसमुदायहरूका पक्षमा रही दलाल, भ्रष्टाचारी, सूदखोरी, कालोबजारी, कमिसनखोर, चर्को मिटरब्याजीलगायत सम्पूर्ण जनविरोधी तत्वहरूका विरुद्धमा कडा सङ्घर्ष र आवश्यक कारबाही गर्दै आएको सर्वविदितै छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मुलुक कोरोना भाइरस महामारीको चरम सङ्कटमा रहेको अवस्थामा पनि सिन्धुली जिल्लामा विभिन्न लघुवित्त संस्थाहरूद्वारा जनतालाई चर्को मिटरब्याजी शैलीमा ब्याज असुल्ने, दिन नसक्नेको घरजग्गा कब्जा गर्ने, भएको धनमाल जफत गर्ने र अनावश्यक कारबाहीको धम्की दिने गरेको पाइएको छ । नेपाल कम्युनिस्ट पार्टी यस्ता जनविरोधी लघुवित्त संस्थाहरूलाई अविलम्ब आफ्ना सम्पूर्ण गैरन्यायिक क्रियाकलापहरू बन्द गर्न चेतावनी दिन चाहन्छ । अन्यथा फेरि पनि यस्ता हर्कतहरू गरेको पाइएमा हाम्रो पार्टी कडा कारबाही गर्न बाध्य हुनेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु