नेकपाद्वारा राहत वितरण : बिथोल्ने सत्ताधारी पार्टीका कार्यकर्तालाई जनताले लखेटे

२०७७ बैशाख ५ गते, शुक्रबार

काठमाडौँ , ५ बैशाख । नेपाल कम्युनिस्ट पार्टी बझाङले थलारा गापा १ र २ मा कोरोना भाइरसबाट त्रसित भएका र खाद्य सङ्कट झेलिरहेका जनतालाई राहत वितरण गर्ने क्रममा सरकारी नेकपाका केही लठैतहरूले नेकपाका कार्यकर्तामाथि आक्रमण गर्न खोज्दा जनताले प्रतिकार गरेको र पार्टीका पक्षमा नाराबाजीसमेत गरी उनीहरुस्लाई लखेटेर भगाएको जनाएको छ । जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले बिहीबार विज्ञप्ति जारी गर्दै अबआइन्दा भ्रष्ट तथा दलालहरूले आफ्नो पार्टीका विरुद्ध यस्ताखाले हर्कत दोहोर्याए ती व्यक्तिलाई पार्टीले सख्त कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

विराट र हरिलालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनको वुहान प्रान्तबाट महामारीका रूपमा विश्वभरि फैलिरहेको कोरोना भाइरसका कारण सम्पूर्ण मानवसमुदाय आतङ्कित बनिरहेको छ । उक्त महामारीका कारण एक लाख चौँतीस हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ भने २१ लाखभन्दा बढी मानिसमा सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल पनि उच्च जोखिममा रहेकोे जानकारी पहिले नै गराइसकेको छ । आज विश्व नै बन्दाबन्दीको अवस्थामा छ । नेपालमा केपी एन्ड पीके कम्पनी सरकार मानवीय सङ्कट उत्पन्न भैरहेको यस अवस्थामा पूर्वतयारीमा जुट्नुको सट्टा मेडिकल सामग्रीमा समेत करोडौँ रकम भ्रष्टाचार गरी जनताका सामु निर्लज्ज साबित भैसकेको छ । केपी सरकारको लाचारीका कारण यस सङ्कटपूर्ण अवस्थामा आफ्नो नागरिकको उद्धार गर्नुको सट्टा श्रमजीवी नेपाली दाजुभाइ, दिदीबहिनीहरू भारतलगायत विदेशी गल्लीमा अलपत्र भएर सरकारविहीनताको अवस्थामा नारकीय जीवन जिउन विवश भएका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बझाङ जिल्लामा हालसम्म स्वास्थ्य उपचार गर्ने उपयुक्त अस्पताल, पर्याप्त मेडिकल सामग्री र नियमित सेवन गर्ने औषधिको समेत अभाव हुनु विडम्बना हो । स्थानीय सरकारका जनप्रतिनिधि भनाउँदाहरू राहतका नाममा गुणस्तरहीन पेटिकोटे मास्क र अधिकांश ठाउँमा ३–५ केजी चामल वितरण गरेर एफएम रेडियोहरूबाट ढोङ पिटिरहेका छन् । जनताको बाँच्न पाउने अधिकारको हनन गरी विपन्न तथा गरिब परिवारको भावनामा गम्भीर ठेस पुर्याइरहेका छन् । भ्रष्ट केपी सरकारका जनप्रतिनिधिहरू स्वास्थ्य सामग्री, क्वारेन्टाइन, मास्क र खाद्य सामग्रीका नाममा नक्कली तथ्याङ्क सङ्कलन गरी भ्रष्टाचार गर्ने सुनौलो अवसर प्राप्त गरी सर्वसाधारण जनतामाथि आघात पुर्याई व्यक्तिगत धन कमाउने खेलो गरिरहेका छन् । साथै जिल्लाका विभिन्न क्षेत्रमा केही व्यवसायीहरूले दैनिक उपभोग्य सामग्रीलगायत खाद्य सङ्कट उत्पन्न गरी महँगीले जनताको ढाड सेकिरहेका छन् । नियमन र नियन्त्रण गर्ने निकाय बेखबर छ । केपी सरकारको योजनाविहीन लकडाउनका कारण दुर्गम भेग र दैनिक मजदुरी गरेर खाने जनता रोगका साथै भोक र शोकले मर्ने खतरा बढिरहेको छ ।’

विज्ञप्तिमा अझ अघि भनिएको छ, मानवीय सङ्कटको यस परिस्थितिमा यस्ता हर्कतहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अबउप्रान्त मानवताविरुद्धका हर्कतहरू नदोहोर्याउन चेतावनी दिन्छौँ । हाम्रो पार्टी यो विपत्को समयमा समेत जनताको सेवामा अग्रमोर्चामा रहेर अभियानका रूपमा जनताका बीचमा काम गरिरहेको छ । जिल्लाका विभिन्न वडाहरूमा ३५० भन्दा बढी विपन्न तथा गरिब परिवारलाई खाद्य सामग्री राहतका रूपमा वितरण गर्दा जनताले धन्यवादसमेत दिएर पार्टीलाई खुलेर जनताका बीचमा आउन आग्रह गरिरहेका छन् । पार्टीको उक्त कार्यबाट अत्तालिएर थलारा गा।पा। १ र २ मा सरकारी नेकपाका केही लठैतहरूले स्थानीय कार्यकर्तामाथि आक्रमण गर्न खोज्दा जनताले उल्टै प्रतिकार गरी हाम्र्रो पार्टीका पक्षमा नाराबाजीसमेत गरी लखेटेर भगाएका छन् । जिल्ला पार्टी उक्त वडाका क्रान्तिकारी जनतालाई धन्यवाद ज्ञापन गर्दछ । आइन्दा भ्रष्ट तथा दलालहरूले हाम्रो पार्टीका विरुद्ध यस्ताखाले हर्कत दोहोर्याए ती व्यक्तिलाई पार्टीले सख्त कारबाही गर्ने चेतावनी दिन चाहन्छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यो विपत्को समयमा हाम्रो पार्टी फेरि पनि सबैसँग योजनाबद्ध तरिकाले सहकार्य गर्न तयार रहेको जानकारी गराइन्छ । साथै सम्पूर्ण बझाङी जनसमुदायमा यो महामारीको बेला उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु