नेकपाद्वारा भारतीय ‘जासुस’ कार्यालय तत्काल हटाउन चेतावनी

२०७५ बैशाख ५ गते, बुधबार

काठमाडौं, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डले विराटनगरमा रहेको बाढी नियन्त्रण कार्यालय हटाउन चेतावनी दिएको छ । नेकपाका पूर्वी कमाणड इन्चार्ज विरहीले विज्ञप्ति निकालेर बाढी नियन्त्रणको नाममा जासुसी गर्न भारतले उक्त कार्यालय स्थापना गरेको भन्दै तत्काल हटाउन भनेका छन् ।
“२०६५ सालमा कोशी नदीको बाढी नियन्त्रण गर्न बनाएको विराटनगर–१३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन र त्यसले नेपाल देश र क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेको छ । उक्त भारतीय जासुस कार्यालय हटाउन र हाम्रा नेता कार्यकर्ता रिहा गर्न माग गर्दछौं । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारविरुद्ध थप संघर्षमा उत्रन बाध्य हुनेछौं” विरहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस बिषयमा नेकपाका पूर्वी कमाणड इन्चार्ज विरहीले जारे गरेको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :
“ओली–दाहाल नेतृत्वको सामाजिक दलाल पुँजीवादी प्रवृत्ति तथा उनीहरुको राष्ट्रघाती, जनघाती र फासिस्ट चरित्रका विरुद्ध हाम्रो पार्टीले निरन्तर सङ्घर्ष गर्दै आएको छ । हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित उदयपुर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापालगायत स्थानबाट ५० औँ कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाइएको छ । त्यसका विरुद्ध चैत २९ देखि सुरु भएको सङ्घर्षको कार्यक्रम वैशाख ४ गते पूर्वी कमान्ड बन्दसहित सम्पन्न भएको छ । उक्त कार्यक्रम सफल पार्न अहोरात्र खट्ने नेता–कार्यकर्ता सहयोगी जनसमुदाय, यातायत व्यवसायी, व्यापारी, उद्यमी, सञ्चारकर्मीसहित सबैप्रति हार्दिक धन्यवादसहित अभार प्रकट गर्दछ ।
२०६५ सालमा कोसी नदीको बाढी नियन्त्रण गर्न बनाइएको विराटनगर १३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन र त्यसले नेपाल देश र क्रान्तिकारी आन्दोलनको विरुद्ध जासुसी गरिरहेको छ । उक्त भारतीय जासुसी कार्यालय हटाउन र हाम्रा नेताकार्यकर्ता रिहा गर्न माग गर्दछौँ । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारका विरुद्ध थप सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु