बेपत्ता पार्ने अपराधिहरुलाई सरकारले कारवाही नगरे जनकारवाही !

२०७७ जेष्ठ ७ गते, बुधबार

काठमाडाैँ, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीले बेपत्ता योद्धाहरुको स्थिति शिघ्रातिशिघ्र सार्वजनिक गर्न र बेपत्ता पार्ने अपराधिहरुलाई हदै दर्जाको कारवाही गर्न सरकारसंग जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा बेपत्ता पार्ने अपराधिहरुलाई सरकारले कारवाही नगरे नेपाल कम्युनिस्ट पार्टीले जनकारवाही गर्ने प्रष्ट पार्दै पार्टीले संचालन गर्ने जनकारवाहीमा साथ दिन र सहभागी हुन् सम्पूर्ण बेपत्ता परिवारजनलाई पार्टी बिशेष अपिल समेत गरिएको छ । यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “आज जेठ ७ गते महान् बेपत्ता योद्धा दिवस हो । यो १० औ बेपत्ता दिवसको सन्दर्भमा १० बर्षे महान नेपाली जनयुद्धका सयौ बेपत्ता योद्धाहरु , जहानिया राणाशासन र ३० बर्षे पंचायती तानाशाही व्यवस्थाकाबिरुद्धको राजनीतिक आन्दोलनमा राज्य संचालकहरुद्वारा बेपत्ता पारिनु भएका नेपाली आमाका सपुत सम्पूर्ण बीर बेपत्ता योद्धाहरुमा हाम्रो पार्टी क्रान्तिकारी अभिवादन टक्र्याउछ । उहाहरुप्रति गहिरो स्मरण र उच्च सम्मान व्यक्त गर्दछ साथै उहाहरुको परिवार र आफन्तजनहरुमा आत्मीयभाबसहित उच्च सम्मान व्यक्त गर्दछ । खराबभन्दा खराबस्थितिमा पनि वर्तमान नेपाली समाजमा पार्टीले संचालन गरेको एकीकृत जनक्रान्तिलाई पुरा गरेर बेपत्ता योद्धाहरुको बलिदानको राष्ट्रिय मूल्यबोध र सपनाको साकार रुप दिई छाड्ने हाम्रो पार्टी दृढ प्रतिज्ञा पनि गर्दछ ।
नेपालको राजनीतिक आन्दोलनको ईतिहासमा नेपाली श्रमजीवी जनताले जनविरोधी राज्य व्यवस्थाकाबिरुद्ध पटक पटक संचालन गरेका क्रान्तिकारी राजनीतिक आन्दोलनको उच्चता र श्रेष्ठताको प्रतिनिधित्व गर्ने १० बर्षको महान् जनयुद्ध र १९ दिनको ऎतिहासिक जनान्दोलन पश्चात स्थापना भएको कथित लोकतान्त्रिक गणतन्त्र र त्यसका नया एबम् पुराना शासकहरुले बेपत्ता योद्धाहरुको बिषय प्राथमिकतामा नराख्नु र हालसम्म स्थित सार्वजनिक नगर्नु अपराधजन्य कार्य बन्न पुगेको छ । यसवाट स्पस्ट हुन्छ कि वर्तमान राज्यव्यवस्था र शासकवर्गहरु जनयुद्ध र नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनका बेपत्ता योद्धाहरुको बलिदान र सपनाको बिरुद्धमा छन ।
नेपाल कम्युनिस्ट पार्टी के पी ओली सरकारसंग के जोडदार माग गर्दछ भने बेपत्ता योद्धाहरुको स्थिति शिघ्रातिशिघ्र सार्वजनिक गरियोस र बेपत्ता पार्ने राष्ट्रिय अपराधिहरुलाई हदै दर्जाको कारवाही गरियोस । अन्यथा नेपाल कम्युनिस्ट पार्टी अपराधीहरुलाई जनकारवाही गर्न बाध्य हुने कुरा समेत प्रष्ट पार्न चाहन्छौ । पार्टीले संचालन गर्ने जनकारवाहीमा साथ दिन र सहभागी हुन् सम्पूर्ण बेपत्ता परिवारजनलाई पार्टी बिशेष अपिल समेत गर्दछ । ”

प्रतिक्रियाहरु