नेकपाद्वारा पर्सा जिल्ला इन्चार्ज आर्जनको सदस्यता खारेज

२०७६ भाद्र ३० गते, सोमबार

काठमाडौं , ३० भदौ । नेपाल कम्युनिस्ट पार्टीले पर्सा जिल्ला इन्चार्ज आर्जनलाई निलम्बन गरेको छ । सो पार्टीका नारायणी व्युरोले पार्टीको नीति विपरीत गतिविधि गरेकोले नारायणी व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज आर्जनलाई निलम्बन गरेको छ । नारायणी व्युरो इन्चार्ज मिलनले बिहीबार प्रेस विज्ञप्ति निकाली लामो समयदेखि पार्टी सम्पर्कमा नरहेका तथा पार्टी नीति, कार्यक्रम र अनुशासन विरोधी भूमिका खेलिरहेका आर्जनलाई सम्पूर्ण पार्टी जिम्मेवारी र पार्टी सदस्यसमेत नरहने गरी अनिश्चित कालकोलागि पार्टीबाट निलम्बन गरेका छन् ।
व्युरो इन्चार्ज मिलनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीको नेतृत्वमा एकीकृत जनाक्रान्ति कार्यदिशामार्फत वैज्ञानिक समाजवादी क्रान्ति शानदार ढंगले अगाडि बढिरहेको छ । क्रान्तिले स्वभाविक रुपमा शक्तिशाली प्रतिक्रान्ति तथा प्रतिविद्रोहको सामना गर्दै अगाडि बढ्दछ । दुस्मनको दमन र बलिदान सामना गर्नुपर्ने हुन्छ । क्रान्तिले बलिदान, सौर्य, स्वाभीमान, प्रतिरोध र महान् सपनाहरु उमारिरहन्छ । त्यसैगरी क्रान्तिले आत्मसुरक्षावादी कचरा पनि पैदा गर्दछ । यो पनि क्रान्तिको नियम हो । यही नियमानुसार लामो समयदेखि पार्टी सम्पर्कमा नरहेका तथा पार्टी नीति, कार्यक्रम र अनुशासन विरोधी भूमिका खेलिरहेका नारायणी व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज आर्जनलाई सम्पूर्ण पार्टी जिम्मेवारी र पार्टी सदस्यसमेत नरहने गरी अनिश्चित कालकोलागि निलम्बन गरिएको छ ।’

प्रतिक्रियाहरु