नेकपाद्वारा एनसेलको टावर हटाउन घरधनीलाई पत्र

२०७६ पुष ८ गते, मंगलवार

काठमाडौँ , ८ पुष । नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति कैलालीले बर्दगोरिया वडा नं. २ का मधु रिजाललाई पत्र काट्दै देशको अर्बाै राजस्व लुट्ने एनसेलको टावर हटाउन अनुरोध गरेको छ । जिल्ला पार्टीका तर्फबाट लेखिएको पत्रमा भनिएको छ, ‘यहाँलाई अवगत नै छ, जनताको श्रम र पसिनामाथि ब्रह्मलुट मच्चाउने भ्रष्ट तथा दलाल सङ्घसंस्था, पात्रहरू र यसका संरक्षकहरूविरुद्ध हाम्रो पार्टी निरन्तर सङ्घर्षरत छ । सङ्घर्षकै क्रममा एक दर्जनको हाराहारीमा उच्च बलिदानसमेत भइसकेको छ । यस्तै भ्रष्ट, ठग र राष्ट्र नै लुट्ने दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यो देशका भ्रष्ट नेता, कर्मचारी र न्यायाधीशसमेतलाई घूस दिएर अर्बौं रुपैयाँ करछली गरी नाङ्गो रूपमा लुटपाट मच्चाइरहेको कुराप्रति पनि तपाईं जानकार हुनुपर्छ ।’ पत्रमा अगाडि भनिएको छ, ‘हाम्रो स्पष्ट बुझाइ के छ भने नेपालमा विद्यमान दलाल संसदीय व्यवस्था तथा यसैको संरक्षणमा भ्रष्ट, दलाल तथा देश लुटेराहरूको राज्यसत्ता कायम रहँदासम्म र यसलाई वैज्ञानिक समाजवादी व्यवस्थाले विस्थापन नगर्दासम्म शान्ति, स्थिरता र जनताको समृद्धिको कल्पना किमार्थ गर्न सकिँदैन । अतः तत्काललाई तपाईंको भवनमा जडान गरिएको एनसेल टावर यथाशीघ्र हटाउन लगाएर हाम्रो अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु