नेकपाद्वारा आर्थिक अभियान सुरु ,आमजनसमुदायलाई सहयोग गर्न अपिल

२०७६ श्रावण १९ गते, आईतवार

काठमाडौं , १९ साउन । नेपाल कम्युनिस्ट पार्टीले पाँच महिने अभियान सुरु गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल समेत गरेका छन । प्रवक्ता प्रकाण्डले आर्थिक सहयोग अभियानमा पार्टीबाट कारबाहीमा परेका र भगौडाहरुसँग सचेत रहन अपिल गरेका छन । उनले ने.क.पा.ले आगामि कार्तिकसम्म चल्ने अभियानलाई पार्टीले कारबाही गरेका र भगौडाहरू तथा अराजकतावादीहरूले दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन अपिल समेत गरेका छन ।
यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझैँ सहयोग गरिदिनुहुन अनुरोध छ ।
प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल यतिबेला जनक्रान्ति र प्रतिक्रान्तिको भीषण टक्करबाट गुज्रिरहेको छ । १० वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त जनअधिकार र उपलब्धिहरूलाई वली–बादल कम्पनीले ध्वस्त पार्दै गएको छ । राष्ट्रिय स्वाधीनतालाई उत्तरसाम्राज्यवादको गोटी बनेर धरापमा पारिरहेको छ । २००७ सालदेखिका सशस्त्र सङ्घर्ष, जनसङ्घर्ष र जनआन्दोलनका उपलब्धिहरूलाई तथाकथित कम्युनिस्ट आवरणमा हमला गरिरहेको छ । त्यसका विरुद्धको प्रतिरोधलाई सामाजिक दलाल फासिवादी हर्कतद्वारा निस्तेज पार्ने र कुल्चने भयानक जोखिम पैदा गर्दै गएको छ । जनताका राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरूलाई बन्दुकको बलमा दबाउन खोजेको छ । उनीहरूबाहेक अरू कोही राजनीतिक पार्टी र शक्ति होइनजस्तो गरी सबैको अस्तित्व नामेट पार्न खोजिएको छ । जसले संसारका सबै भ्रष्ट, तस्कर, कमिसनखोर तानाशाह र प्रतिक्रियावादी शासकहरूलाई उछिनेको छ । राजनीतिक असहमति राख्ने निशस्त्र र राजनीतिक कार्यकर्तालाई शान्ति र विकासविरोधी आरोपमा हत्या गरेको छ । हत्या, बलात्कार र लुटपाट गर्नेलाई मन्त्रीका नाता–गोता र वली सरकारको गृह प्रशासनले संरक्षण गरिरहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपति वर्ग, भ्रष्ट मन्त्री र नेताहरूको निशानामा परेर मरणासन्न अवस्थामा पुगेका छन् । सामाजिक असुरक्षा भयावह छ । मूल्यवृद्धि २ सय प्रतिशत नाघेको छ । बेरोजगारी समस्याले युवाहरू आक्रान्त छन् र बिदेसिन बाध्य भएका छन् जसको कारण देश र जनताको जीवन इतिहासमै सर्वाधिक जोखिममा परेको छ । यी सबै अपराधकर्म दुई तिहाइ बहुमतको बकबासमा गरिरहेको छ । यसले कम्युनिस्ट क्रान्तिकारी र देशभक्त शक्तिहरूलाई मात्र होइन, संसदीय लोकतन्त्रवादी शक्तिहरूलाईसमेत आजित बनाएको छ । प्रतिपक्षी दलहरूले सदनमा गरेको सङ्घर्ष र सामाजिक अभियन्ताहरूले चलाइरहेको सडक आन्दोलन त्यसैको अनिवार्य परिणाम हो ।’
विज्ञप्तिमा भनिएको छ, ‘२०६२–०६३ को आन्दोलनको प्रक्रियामा शान्ति वार्ताका नाममा साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप र षड्यन्त्र, संसदीय यथास्थितिवाद र प्रचण्डको आत्मसमर्पण, विचलन पलायन र गद्दारीका विरुद्ध हामीले जीवनमरणको सङ्घर्ष गर्दै आयौँ । राष्ट्रिय राजनीति र प्रचण्डमा देखापरेको प्रतिक्रान्ति र गद्दारीकाविरुद्ध २०६९ असारमा हामीले सङ्गठित विद्रोह ग¥यौँ । २०७१ मङ्सिर ८ गतेदेखि ५ वर्षयता हामीले एकीकृत जनक्रान्ति कार्यदिशामार्फत नयाँ क्रान्तिको नेतृत्व गरिरहेका छौँ ।’
त्यसैगरी अगाडि भनिएको छ, ‘सन् १९५० देखि वली प्रवृत्तिले गरेका असमान र अपमानजनक सन्धि–सम्झौता खारेज गर्ने, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने, गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य, यातायातमा राज्यको नियन्त्रण कायम गर्ने, सामाजिक न्याय, सुरक्षा र समानता कायम गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने, श्रम, पुँजी र प्रविधिलाई एकीकृत गरी गाउँ र सहरलाई समान अवसरसहित विकास गर्नु एकीकृत जनक्रान्तिको उद्देश्य हो । त्यसका निम्ति कुनै पनि जोखिम मोल्न र बलिदान गर्न पार्टी तयार छ । जनक्रान्तिबिना देश र जनताका पक्षमा आमूल परिवर्तन सम्भव छैन ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैकालागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझँै सहयोग गरिदिनुहुन अनुरोध छ ।’
पार्टी प्रवक्ताको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘देशमा भ्रष्टाचारी, तस्कर, सुराकी, कमिसनखोर, लुटेरा, ठग, गुन्डा, बलात्कारी, व्यभिचारीहरूको बिगबिगी भएको बेला दुस्मनको हातमा खेलिरहेका, पार्टीले कारबाही गरेका र भगौडाहरू तथा अराजकतावादीहरूले पार्टीको अभियानलाई दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन सम्बन्धित सबैमा अनुरोध पनि गर्दछ । यो अभियानमा केन्द्रीय समिति, ब्युरो, जिल्ला र जवस तथा मोर्चाहरूको संयुक्त र एकीकृत सहभागिता रहनेछ । यो अभियानमा सहयोग र समर्थन गरिदिन सबै व्यापारी, उद्यमी, मजदुर, किसान, बुद्धिजीवी, सङ्घसंस्था, सञ्चारकर्मी तथा देशभक्त जनसमुदायमा हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु