नेकपाकी पूर्वकेन्द्रीय सदस्य सविता सिंहको अल्पायुमै निधन, विप्लव र प्रकाण्डद्वारा हार्दिक श्रद्धाञ्जली व्यक्त

२०७७ जेष्ठ १३ गते, मंगलवार

काठमाडौं , १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीको पूर्व केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीकाे पूर्वकेन्द्रीय अध्यक्ष सबिता सिंह ‘बन्दना’को निधन भएको छ । लामो समयदेखि बाथ रोगबाट पीडित बन्दनाको सोमबार साँझ भारतकी दिल्लीमा निधन भएको हो ।
यसैबीच , सो पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की पूर्वकेन्द्रीय अध्यक्ष सविता सिंह ‘बन्दना’ को अल्पायुमै भएको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सिंहका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
पार्टी केन्द्रीय समितिका तर्फबाट मङ्गलबार शोक वक्तव्य प्रकाशित गर्दै महासचिव विप्लवले सिंहका छोरा १४ वर्षीय आजाद विक–सिंहको शिक्षा, स्वास्थ्य र पालनपोषणको सम्पूर्ण जिम्मा पार्टीले लिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
महासचिव विप्लवले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीकी पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की पूर्वकेन्द्रीय अध्यक्ष कमरेड सविता सिंह ‘बन्दना’ को सोमबार उपचारका क्रममा भारतको नयाँदिल्लीमा ४० वर्षको अल्पायुमा भएको दुःखद् निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड बन्दनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’
महासचिव विप्लवको शोक वक्तव्यमा भनिएको छ, ‘जाजरकोट घर भएकी कमरेड बन्दना लामो समयदेखि बाथ रोगबाट ग्रस्त भएकाले उपचारमा हुनुहुन्थ्यो । कमरेड बन्दना महान् जनयुद्ध तथा एकीकृत जनक्रान्तिकी कुशल योद्धा हुनुहुन्थ्यो । उहाँले जनयुद्धकै क्रममा कमरेड रामलाल विश्वकर्मासँग अन्तरजातीय–जनवादी विवाह गर्नुभएको थियो । कमरेड बन्दना जनयुद्धका महान् सहिद जयबहादुर सिंह र आमा मानकुमारी सिंहकी छोरी हुनुहुन्थ्यो । हाम्रो गौरवशाली पार्टी कमरेड बन्दनाका छोरा १४ वर्षीय आजाद विक–सिंहको शिक्षा, स्वास्थ्य र पालनपोषणको सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्दछ ।’
यसैगरी, प्रवक्ता प्रकाण्डले आफ्नो फेसबुकमार्फत दिएको श्रद्धाञ्जलीमा जीवनसाथीको निधनले शोकमा पर्नु भएका ब्युरो सदस्य कमरेड अर्जुन (रामलाल बिश्वकर्मा )सहित उहाका सम्पूर्ण आफ़न्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्न र कमरेड बन्दनाका बाकि सपनालाई पुरा गर्न सम्पूर्ण परिवारजनहरुलाई पार्टीको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिमा अविचलित रुपमा अगाढी बढि रहन बिशेष अपिल समेत गरेका छन ।
प्रवक्ता प्रकाण्डले फेसबुकमार्फत दिएको श्रद्धाञ्जली यस प्रकार रहेको छ – “हाम्रो पार्टीकी पुर्व केन्द्रिय सदस्य , महिला नेत्री र किसान संगठनको पुर्वअध्यक्ष कमरेड बन्दना (सबिता सिंह )बिगत झन्डै २ बर्षदेखि बाथ रोगसंग संघर्ष गरिरहनु भएको थियो । दिल्लीमा उपचारको क्रममा हिजो उहाको असामयिक निधनले हुन पुगेको अपुरणीय क्षतिको घटनाले हाम्रो पार्टीलाई मर्माहित र स्तब्ध तुल्याएको छ । जाजरकोटमा जन्मिएकी क्रान्तिकारी योद्धा कमरेड बन्दनाप्रति क्रान्तिकारी अभिवादनसहित भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । जीवनसाथीको निधनले शोकमा पर्नु भएका हाम्रो पार्टीका ब्युरो सदस्य कमरेड अर्जुन (रामलाल बिश्वकर्मा )सहित उहाका सम्पूर्ण आफ़न्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु । शोकलाई शक्तिमा बदल्न र कमरेड बन्दनाका बाकि सपनालाई पुरा गर्न सम्पूर्ण परिवारजनहरुलाई पार्टीको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिमा अविचलित रुपमा अगाढी बढि रहन बिशेष अपिल गर्दछु ।”

प्रतिक्रियाहरु